साताको शट
एमी धौबन्जार, वर्ष १०। स्थायी घर भक्तपुर। हिजोआज यस क्षेत्रमा आयोजना हुने कुनै पनि जात्रा तथा पर्व उनको उपस्थितिबिना अपुरो हुने गर्छ। दुई वर्षअघिसम्म बाँसुरीको धुन के हो भन्ने उनलाई थाहा पनि थिएन। तर, बुवा राजकिरणको प्रेरणाले ८ वर्षकै उमेरदेखि बाँसुरी बजाउने तालिम सुरु गरिन्।
२०८० सालमा आफ्नी छोरीलाई बोकेर भक्तपुरको श्री नाःस है: मा बाजं खलः पुग्दा सबैले भनेका थिए– छोरी सानी छे। सिक्ने बेला भएको छैन।
तर, बुवाले नै कर गरे। आफ्नो कलासंस्कृति सानैमा छोराछोरीलाई सिकाउनुपर्छ भनेर उल्टै बाजं खलःका सदस्यहरूलाई बुझाए। अहिले एमी बाँसुरीबाट धुन निकाल्न परिपक्व भइसकेकी छिन्। भक्तपुरमा कुनै कार्यक्रम भयो कि, बाँसुरी बजाउन उनी नै जिद्दी गर्छिन्। पछिल्लो समय काठमाडौँ उपत्यकामा कलासंस्कृति लोप हुँदै गएको अवस्थामा एमी एउटा यस्तो उदाहरण बन्न थालेकी छिन्, जसबाट भविष्यमा हाम्रो कलासंस्कृतिको पुनरुत्थान हुने आशा गर्न सकिन्छ।
हुन त एमी धिमे बाजाबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेकी हुन्। त्यसबाहेक, धा बाजा पनि मज्जाले बजाउन सक्छिन्। तर, उनको रुचिको बाजा भने बासुरी नै हो।
एमी पनि आधुनिक शिक्षासँगै आफ्नो कलासंस्कृतिमा डुब्न चाहन्छिन्। भन्छिन्– बासुरी बजाउँदा मजा लाग्छ। पछिसम्म बजाउने हो।
नेवाः संस्कृतिअनुसार गाईजात्रा सम्पन्न भएपछि काठमाडौँ उपत्यकामा चाडपर्व र जात्राहरूको आगमन हुन्छ। यो तस्बिर गाईजात्राको मौका पारेर भक्तपुर दरबार स्क्वायरमा खिचिएको हो।