व्यक्तिवृत्त
उनको बैठक कोठा माझिएको कुनै कलाकारको भन्दा फरक छैन। कोठामा अनगिन्ती कलाकृति सजाएर राखिएका छन्। ती संकलनहरू लिच्छविकालदेखिका छन्।
२०१७ सालमा बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट न्यायशास्त्रमा स्नातक गरेपछि सागरशमशेर राणा देशको न्यायक्षेत्रमा नयाँ मानक स्थापनाको लक्ष्यसहित स्वदेश फर्किएका थिए।
तर भइदियो उल्टो– त्यही वर्ष १ पुसमा राजा महेन्द्रले १७ महिनाअघि मात्र दुई तिहाइ बहुमत ल्याएर बनेको नेपाली कांग्रेसका नेता बीपी कोइरालाको नेतृत्वको पहिलो जननिर्वाचित सरकार अपदस्थ गरे। राजा महेन्द्रको ‘कु’ लगत्तै विघटित संसद्मा प्रमुख विपक्षी नेपाल राष्ट्रवादी गोर्खा परिषद्का नेता भरतशमशेर राणा पनि पक्राउ परे।
पञ्चायतको हरण र दाजु पक्राउपछि सागरशमशेरको वकालत गर्ने जोस सेलायो। बरु बुवा मृगेन्द्रशमशेर राणाको काममा दौडिन थाले। मृगेन्द्र उबेला राजनीतिभन्दा कलामा सक्रिय थिए। १६ फागुन २०१९ मा कमलादीमा नेपाल प्रज्ञा–प्रतिष्ठानको भवन शिलान्यासमा मृगेन्द्रकै भूमिका महत्त्वपूर्ण रह्यो। राजा महेन्द्रले लैनसिंह वाङ्देललाई नेपाल भित्र्याएपछि स्थापना भएको नेपाल कला परिषद्मा मृगेन्द्र संस्थापक कोषाध्यक्ष चुनिए।
सागरलाई धेरैले राजनीतिकर्मी र कूटनीतिकर्मीका रूपमा चिन्ने गर्छन्। पछिल्लो समय सिंहदरबार र किङ्डम लस्ट पुस्तक लेखेका उनी अहिले लेखकका रूपमा बढी चिनिएका छन्। तर, बुवाकै कारण नेपाली कलाको संगतमा परेका सागर २२ वर्षमै कला परिषद्को सदस्य नियुक्त भएका थिए। कालान्तरमा उनी कलाका पारखी मात्र बनेनन्, देशको परम्परागत कलालाई विश्वबजारमा पुर्याउने साधकका रूपमा समेत स्थापित भए।
यो कम्पनी स्थापनामा पनि गजबको संयोग जोडिएको थियो।

२०१७ सालपछिका केही वर्ष नेपालमै बसे पनि सागर वकालत गर्न भारतर्फ लागे। भारतमा उनको वकालती व्यवसाय राम्रै चलिरहेको थियो। तर, नेपालमा फेरि अर्को काण्ड भयो। राजाको शासनविरुद्ध आवाज उठाएको भन्दै ऋषिकेश शाहलाई २६ असार २०२६ सालमा कैदको सजाय सुनाइयो। सागरशमशेर र शाह नातेदार। उनको मुद्दा लड्न राणा फेरि नेपाल फर्किए।
पञ्चायती व्यवस्थामा दरबारको इसाराबेगर राजकाजसम्बन्धी मुद्दामा छिटै फैसला सुनाउने तागत न्यायालयसँग थिएन। मुद्दा लम्बियो। यसपछि सागरलाई नेपालमै बस्न कर लाग्यो।
ठीक यति नै बेला उनले बुवासँग हिँडडुल गर्दा कलाकारसँग पाएको संर्सगलाई व्यापक बनाउने ठाने। फलस्वरूप बबरमहलस्थित पुर्ख्यौली घरमा ‘नेपाल ट्रेडिसनल क्राफ्ट’ स्थापना गरे। यो नेपाली कलालाई विदेश निर्यात गर्ने पहिलो नेपाली निजी कम्पनी हो। अहिले यो पेसालाई छोरा उपेन्द्रले कुपन्डोल हाइटस्थित घरैबाट फैलाउने काम गरिरहेका छन्।
“पढेर आएँ एउटा विषय। काम थाल्नुपर्यो अर्को विषय,” गत साता कुपन्डोल हाइटस्थित घरमा भेटिएका ८७ वर्षीय सागरले हाँस्दै भने।
सागरले सानैमा केशरमहलमा विदेशी कलाकारहरूका थुप्रै बहुमूल्य कलाकृति देखेका थिए। नाताले काका–हजुरबुवा पर्ने केशरशमशेर राणा कलाका साधक थिए। उनले विश्वचर्चित कलाकारको पेन्टिङ विदेशबाट आयात गरेर आफ्नो महलमा सजाएका थिए। केशरमहल जाँदा उनलाई त्यो पेन्टिङले आकर्षित नगरेको होइन, तर त्यसको महत्त्व थाहा थिएन।
बुवाको सक्रियतामा २०१९ सालमा आफ्नै घर बबरमहलमा नेपाल कला परिषद् स्थापना हुँदा त्यहाँ पनि केही पेन्टिङ झुन्डिएका थिए। तर, ती परम्परागत थिए। नेपाली कलाकारलाई आधुनिक कलाबाट साक्षात्कार गराउने उद्देश्यले १० पुस २०२२ मा प्रथम राष्ट्रिय चित्रकला प्रदर्शनीको आयोजना भयो। यसमा लैनसिंह वाङ्देल खुब खटिए। बेलायत र फ्रान्समा अध्ययन गरेका वाङ्देलको विदेशी कलाकारसँग राम्रो हिमचिम थियो। त्यसैले उनीहरूको पेन्टिङ मगाएर प्रदर्शनीमा राखियो।
ती संकलनको विषयमा कुरा उप्काउँदा महाकवि लक्ष्मीप्रसाद देवकोटाले २००९ सालमा तारानाथ शर्मालाई दिएको उत्तरजस्तै सागरले भने, “नसम्झाउनु, मुटु चिरिन्छ।”
“त्यतिबेला काम खासै थिएन। बुवालाई सघाउन उहाँसँगै हिँड्थेँ। बेलायतमा पनि पढेको, कानुनी कुरा पनि जान्ने, त्यही भएर सदस्य बनाए,” कला परिषद्मा आफ्नो पहिलो प्रवेशको कुरा उप्काए सागरले।
भारतमा वकालत गर्ने क्रममा उनलाई नौलो कुरा थाहा भयो– नेपालका केही कलाकृति भारत हुँदै तेस्रो मुलुक पुगेका रहेछन्। उनले २०२९ सालमा नेपाल ट्रेडिसनल क्राफ्ट स्थापना गरेपछि त्यसमा केही लगाम लाग्यो। यतिबेला उनले बबरमहलमा ९० जना कालिगडलाई रोजगारी दिएर मूर्ति तथा फिलिगिरीको काम लगाए। काम गर्ने प्रायः सबै पाटनका थिए। यसको प्रभाव यस्तो पर्यो, पाटनको घर–घरमा कालिगड जन्मिए। घरमै बसेर काम गर्न पनि सकिने हुँदा मूर्तिकलामा पाटनका कलाकारहरू स्वावलम्बी बने।
यसअघि सीमित व्यक्तिबाहेक धेरैलाई थाहा थिएन– कला पनि रोजगारीको ठूलो माध्यम बन्न सक्छ। सागरको सोचले रोजगारीको नयाँ आयाम थपियो। यसपछि हस्तकलाका मूर्धन्य कलाकारहरू उनको घरमा एउटा प्रस्ताव लिएर आए– लु बाबुसाहेब! हस्तकला संघ खोल्नुपर्यो।
त्यतिबेला पाटनका कलाकारमाझ एउटा छाप बसिसकेको थियो– नेपाली हस्तकलालाई कसैले माथि उठाउन सक्छ भने ती सागर शमशेर नै हुन्। उनीहरू भन्थे, ‘हामीलाई कामको अर्डर सागरले मात्र दिन सक्छन्।’ बेलायतमा पढेको हुनाले सागरको अंग्रेजी राम्रो थियो। यसले विदेशबाट अर्डर ल्याउन उनलाई सजिलो भयो। विदेशबाट सोझै अर्डर आउने कारण नेपाली कलाकारलाई राम्रै पैसा दिन्थे सागर पनि।
त्यसैले नेपाली हस्तकलाका मूर्धन्य कलाकार मूर्तिमान शाक्यका छोरा रत्नमान र बेखारत्न शाक्यजस्ता हस्तीहरू घरमै आएर संघ खोल्न अनुरोध गरे। २०२९ सालमै नेपाल हस्तकला संघको स्थापना पनि भयो।
सागर संघ स्थापना हुँदाको घटना सम्झेर अहिले पनि हाँस्ने गर्छन्, “कार्यसमितिमा नन–नेवार म मात्र, त्यो पनि अध्यक्ष। मैले कागजी काम गर्न एउटा व्यक्ति चाहिन्छ भनेपछि सहसचिवमा अर्को नन–नेवार थपिए। पहिलो समितिमा सबै शाक्य हुनुहुन्थ्यो। एक जना मात्र श्रेष्ठ पर्नुभयो।”

संघ स्थापनापछि कामको चाप बढाउन सागरलाई ठूलै परिश्रम गर्नुपर्यो। उनी ‘क्याटलग’ बोकेर विदेश धाउँथे। उनले विदेशीबाट पाएको पहिलो सम्झौता एउटा जर्मनी जोडीसँग थियो– चिना लाडेन। यिनीहरू पहिला चीनबाट बढी कलाकृति निर्यात गर्थे। नेपाल घुम्न आउँदा कसले सागरको नाम सुझाएछ? उनीहरू बबरमहलस्थित घरमा टुप्लुक्कै आइपुगे।
“डर्टमुन्डको जोडी रहेछ। सबैभन्दा पहिलो र ठूलो सम्झौता नै तीनचार लाख रुपैयाँ हाराहारीमा भएको थियो,” सागरले विगत सुनाए।
यो सम्झौतापछि उनको आत्मबल चुलियो। अहिले निजी लगानीमा खुलेका हस्तकलाका दर्जनौँ संस्थाहरूले नेपाली कलालाई विश्वबजारमा फैलाउन मद्दत गरेको देखेर दंग छन्। संघ स्थापना नहुँदा चाँदीबाट बन्ने हस्तकलाका सामानहरूको निर्यातमा राज्यले प्रतिबन्ध लगाएको थियो। उनले ‘लबिइङ’ गरेर खुलाए।
वास्तवमा त्यतिबेला राज्यलाई नै थाहा थिएन, हस्तकलाको महत्त्व। त्यसैले संघ चलाउन बजेट उपलब्ध गराउने कुरै भएन। एकपल्ट हस्तकलाको सामान निर्यात गर्ने क्रममा सरकारलाई हम्मेहम्मे पर्यो। सामानको मूल्यांकन कति गर्ने, सरकारी कर्मचारीलाई थाहा भएन। यसपछि संघको अध्यक्षको नाताले सागरसँग सोधनी भएछ। यति नै बेला उनले प्रस्ताव राखेछन्– यस्ता वस्तुहरूको प्रमाणीकरण हस्तकला संघले गरिदिन्छ। तर, यसबाट उठ्ने राजस्वको केही अंश हामीलाई पनि बाँड्नुपर्छ। धेरै ठूलो माथापच्चीपछि सागरको प्रस्तावलाई सरकारले मन्जुरी दियो। अहिले संघको मुख्य आयस्रोत भनेकै यही हो।
“त्यतिबेला गठन भएको ट्रेड प्रमोसन सेन्टरले हामीलाई ठूलो सहयोग गर्यो। अहिले नेपालमा हस्तकलाको महत्त्व बुझ्ने सरकार गठन नै हुन सकेको छैन। सरकारले अभिभावकत्व ग्रहण गरेर काम गर्ने वातावरण दियो भने रोजगारीको ठूलो समस्या समाधान हुन्छ,” उनी गुनासो गर्छन्।
“हाम्रोमा सरकारले फेसनदेखि अन्य कुरा बुझिदिए मात्र पुग्छ। यहाँ निर्माण भएका सामान किनिदिने हो भने मात्र यस क्षेत्रमा ठूलो परिवर्तन आउन सक्छ। नीतिनियम नै झन्झटिलो बनाइएको छ,”
छिमेकी भारतले कला क्षेत्रमा ठूलो लगानी गरेको छ। त्यसैले त्यहाँको फेसनदेखि अन्य उद्योगहरूले ‘दिन दुईगुना र रात चौगुना’ विकास गरेका छन्। भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरूले देश स्वतन्त्र भएलगत्तै कला क्षेत्रको विकास र संवर्द्धनका लागि स्पष्ट नीति बनाए। जसका कारण भारतीय कलाकारले गत वर्ष आफ्नो कला विश्वबजारमा निर्यात गरेर ३०१ करोड भारतीय रुपैयाँ आम्दानी गरे। यसमा टेक्सटाइललगायत अन्य क्षेत्रको आम्दानी छुट्टै छ।
“हाम्रोमा सरकारले फेसनदेखि अन्य कुरा बुझिदिए मात्र पुग्छ। यहाँ निर्माण भएका सामान किनिदिने हो भने मात्र यस क्षेत्रमा ठूलो परिवर्तन आउन सक्छ। नीतिनियम नै झन्झटिलो बनाइएको छ,” उनको धारणा छ।
कलामा देशपिच्छे आ–आफ्नै विशेषता हुन्छ। जस्तो कि आधुनिक कलामा युरोप, विशेष गरेर फ्रान्सको छुट्टै विशेषता छ, इजिप्टको आफ्नै। चीन र भारत विश्वबजारमा माझिएका खेलाडी हुन्। तर, नेपालको मूर्तिकला पनि कम छैन, अरू देशको तुलना गर्दा। नेपालमा ‘फ्रक्स प्रक्स प्रोसेस’ बाट बन्ने मूर्तिहरू विश्वचर्चित छन्। सुरुमा मैनमा बनाएर मेटलमा ढाल्नुपर्ने यो कला खर्चिलो मात्र होइन, कम पनि बन्छ। त्यसैले विश्वबजारमा यसको राम्रो मूल्य छ। चीन र भारतले नेपालका कालिगडहरूलाई आफ्नो देशमा बोलाएर यो शैलीबाट मूर्ति बनाउन उत्प्रेरित गरिरहेका छन्। तर, सरकारले यसतर्फ खासै चासो राखेको देखिँदैन।
“हाम्रोमा हरेक क्षेत्रमा आवश्यकताभन्दा बढी राजनीति भयो। कलाजस्तो क्षेत्रलाई पनि राजनीतिको अखडा बनाए,” उनी दुखेसो पोख्छन्। २०३३ सालमा बीपी कोइराला मेलमिलापको नीति लिएर देश फर्किएपछि सागर पनि राजनीतिमा हाम फाले। जनमत संग्रहताका उनी राजनीतिमा निकै सक्रिय भए। उनको सोच थियो– देशमा प्रजातन्त्र स्थापना भएपछि आफूले व्यावसायिक रूपमा अँगालेको कला क्षेत्रले ठूलो फड्को मार्नेछ।
नभन्दै, २०४६ सालमा प्रजातन्त्र स्थापना त भयो। तर, अहिले आइपुग्दा उनी केही निराश देखिन्छन्। “२०४६ सालपछि राजाले स्थापना गरेको सबै ठाउँ कब्जा गर्ने लहर चल्यो। त्रिभुवन विश्वविद्यालय, वीर अस्पताल मात्र नभएर यहाँ पनि चरम राजनीतीकरण भयो। म स्वयम् कांग्रेसमा आबद्ध मान्छे। मलाई कालोमोसो दल्न आए,” उनी अतीतमा फर्किए।
पञ्चायतकालमा बबरमहलको राष्ट्रियकरण भयो। त्यतिबेलै सरकारले नेपाल कला परिषद्का लागि भनेर बबरमहलस्थित हालको कार्यालयमा रहेको ६–७ रोपनी जग्गा अधिग्रहण गर्यो। अहिले यही ठाउँमा विभिन्न वर्कसप र कलासम्बन्धी कार्यक्रम हुने गरेको छ।

२०१९ सालमा नेपाल कला परिषद् गठन हुँदा यसको मुख्य स्रोत नेपाल सरकारको पटके र नियमित आम्दानीबाट हुने लेखिएको थियो। तर, २०४६ सालपछि सरकार आफैँले कबुल गरेको अनुदान कटौती गर्यो। प्रजातन्त्र स्थापनापछि राज्यले कला तथा संस्कृति जगेर्नाका लागि नयाँ–नौलो विचार अगाडि सार्छ भन्ने सागरलाई लागेको थियो। तर, यसको उल्टो नेताहरूको चाकडीका लागि बीपी, गणेशमान, मनमोहन, मदन भण्डारी फाउन्डेसन पो खुले।
“निजी क्षेत्रले कम्मर नकसेको भए नेपाली कला क्षेत्रको के हालत हुन्थ्यो होला? कल्पना गर्नुस् त,” उल्टै उनले प्रतिप्रश्न गरे। यति नै बेला घरको भित्तामा टाँगिएको एउटा फ्रेम देखाए। र, भन्न थाले, “उ मैले त आफ्नो योगदानको कदर पाइसकेको छु।” त्यो फ्रेममा ५१ वर्षअघि उनले गरेको योगदानको कदरस्वरूप नेपाल हस्तकला संघले ‘लाइफटाइम अचिभमेन्ट’ को अवार्डबाट पुरस्कृत गरेको रहेछ।
उनको बैठक कोठा अहिले पनि माझिएको कुनै कलाकारको भन्दा फरक छैन। कोठामा अनगिन्ती कलाकृति सजाएर राखिएका छन्। ती संकलनहरू लिच्छविकालदेखिका छन्।
ती संकलनको विषयमा कुरा उप्काउँदा महाकवि लक्ष्मीप्रसाद देवकोटाले २००९ सालमा तारानाथ शर्मालाई दिएको उत्तरजस्तै सागरले भने, “नसम्झाउनु, मुटु चिरिन्छ।”