काठमाडौँ
००:००:००
२७ पुष २०८२, आईतवार

१८ आश्विन २०८२
अ+
अ-

काठमाडौं, मधेश र देशको पूर्वी भेगमा वर्षाको जोखिम कायमै रहेको मौसमविद्हरूले बताएका छन्। पानी पर्ने प्रणाली पूर्वतर्फ सरे पनि वर्षाको सम्भावना कम नभएको उनीहरूको भनाइ छ।

मौसमविद्हरूका अनुसार शुक्रबार रातिदेखि निरन्तर भइरहेको वर्षाको तीव्रता शनिबार राति थप बढ्ने अनुमान छ। बङ्गालको खाडीमा विकसित न्यूनचापीय रेखाका कारण शनिबार दिउँसो मधेश प्रदेशको बारा, पर्सा र रौतहटमा अति भारी वर्षा भएको छ भने काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा मध्यम वर्षा भएको थियो।

जल तथा मौसम विज्ञान विभागका मौसमविद् मिनकुमार अर्यालले काठमाडौं उपत्यकामा शनिबार राति वर्षाको तीव्रता बढे पनि मध्यमस्तरको वर्षा हुने अनुमान गरेका छन्। “शनिबार राति काठमाडौं उपत्यकामा मध्यम वर्षा हुने देखिन्छ, तर दिउँसोको तुलनामा वर्षाको तीव्रता बढी हुनेछ,” अर्यालले नेपालन्युजसँग भने, “निरन्तर वर्षाले डुबान, बाढी, पहिरो र भूक्षयको जोखिम बढाउँछ।”

दिउँसोको तुलनामा राति मौसम चिसो हुने भएकाले वर्षाको तीव्रता सामान्यतः बढ्छ। दिउँसो पानी वाफ बनेर उड्ने भएकाले वर्षा कम हुन्छ, तर राति उही प्रणालीले बढी पानी पर्ने गर्छ।

शनिबार साँझ सर्लाही र मकवानपुरमा भारी वर्षा भएको छ। सर्लाहीको मलंगवामा पनि भारी वर्षा मापन गरिएको छ। काठमाडौं उपत्यकामा भने मध्यम वर्षा भएको छ। मौसम विभागका अनुसार २४ घण्टामा २०० मिलिमिटरभन्दा बढी वर्षालाई भारी वर्षा मानिन्छ।

अर्यालका अनुसार एकैचोटि भारी वर्षा र रातभर निरन्तर पर्ने वर्षाले समान रूपमा जोखिम निम्त्याउँछ। “निकास प्रणालीको अवस्थाले जोखिम निर्धारण गर्छ। निकास राम्रो नभएमा पानी जमेर डुबान हुन्छ,” उनले भने, “लामो समयसम्म वर्षा हुँदा जमिनको सोस्ने क्षमता कम हुँदा क्षति बढ्छ।”

शनिबार दिउँसो ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आयोजित छलफलमा मौसम विभागका महानिर्देशक कमलराम जोशीले शनिबार राति १० बजेदेखि २ बजेसम्म अति भारी वर्षाको सम्भावना रहेको बताए। “मौसम प्रणालीले शनिबार राति ८ बजेदेखि बिहान ८ बजेसम्म थप वर्षा गराउनेछ, विशेषगरी राति १० देखि २ बजेसम्म अति भारी वर्षा हुने सम्भावना छ,” उनले भने।

जोशीले मधेश, बागमती र लुम्बिनी प्रदेशमा विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्। नदी किनारका बासिन्दालाई सचेत रहन र बाढी-पहिरोको जोखिममा रहेका व्यक्तिहरूलाई सुरक्षित स्थानमा तत्काल सार्न उनले सुझाएका छन्।

शनिबार दिउँसो काठमाडौं उपत्यकामा प्रति घण्टा १०-१५ मिलिमिटर र मधेशमा ३०-८० मिलिमिटर वर्षा मापन गरिएको थियो। त्रिभुवन विश्वविद्यालयको मौसम विज्ञान विभागका सहप्राध्यापक बिनोद पोखरेलले वर्षा प्रणाली पूर्वतर्फ सरेकोले काठमाडौं उपत्यकामा ३-४ घण्टापछि वर्षा कम हुने बताए। तर, पूर्वी नेपालमा आइतबारसम्म वर्षाको प्रभाव रहने उनको भनाइ छ।

राति ९ बजेसम्मको तथ्याङ्कअनुसार रौतहटको महेशपुरमा २४ घण्टामा ३५४ मिलिमिटर, गौरमा ३३७ मिलिमिटर र गरुडामा ३०५ मिलिमिटर वर्षा भएको छ। पछिल्लो तीन घण्टामा हरिहरपुर गढीमा १०८ मिलिमिटर र सर्लाहीको मलंगवामा २१७ मिलिमिटर वर्षा मापन भएको छ। नेपालको वार्षिक औसत वर्षा १,४०० मिलिमिटर हो।