काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

शैली

पहिले चिया व्यवसाय गर्ने कुरा गर्दा सबैले नाक खुम्च्याउँथे। तर, अहिले राजधानीमा यो व्यवसाय यसरी फैलिएको छ कि पुरै काठमाडौँ नै चियाको चुस्कीमा लठ्ठिएको भान हुन्छ।

१८ आश्विन २०८२
तस्बिर : बिक्रम राई/नेपालन्युज।
अ+
अ-

तिमी चिया जसरी माया त गर

बिस्कुट जसरी म डुबिनछु भने

अनि मलाई भन…

चियामायाको टिकटकबाट

चिया पिउनेहरू चिया मात्र पिउँदैनन्, चियाको चुस्कीमा डुबेर प्रियसँग यस्तो संवाद पनि गर्छन्। घरीघरी आफैँसँग मनोवाद पनि गर्छन्—

चियाको अन्तिम चुस्कीजस्तो तिम्रो माया

न सिध्याउन मन लाग्छ

न यत्तिकै छोड्न मन लाग्छ।

काठमाडौँ, बुद्धनगरस्थित ‘टिसेवा’ को सूचना पाटीमा लेखिएको संवाद हो यो।

तपाईं चियाप्रेमी हुनुहुन्छ र नयाँ स्वाद चाख्न चियाघर चहार्नुहुन्छ भने यस्ता दृश्य र संवाद देख्नु–सुन्नुभएको होला। यस्ता संवाद–मनोवाद–मन्थनले चियाघरहरू अचेल पसलमा मात्र सीमित छैनन्, नयाँ पुस्ताको सोच, शैली र उनीहरूका निजी–सार्वजनिक भावना पोख्ने थलोसमेत बन्दै गएको छ।

यही विशेषताले सहरका चोक तथा गल्लीमा धमाधम नयाँ चियाघरहरू थपिइरहेका छन्। ग्राहकहरू नयाँ नयाँ स्वादका चिया थपी थपी पिइरहेका छन्। पुराना त स्थापित भइहाले, नयाँ खुलेका चियाघरले पनि पहिलो दिनदेखि ग्राहक आकर्षित गर्न सफल हुनु चाखलाग्दो कुरा हो। सहरका चियाघर चियाको व्यापारमा मात्र सीमित छैनन्, ती संवादका थलो भएका छन्।

चिया माया, गैरीधारा। तस्बिर : बिक्रम राई/नेपालन्युज।

विगतका साना चिया पसलमा पसले र ग्राहकबीच प्रत्यक्ष संवाद हुन्थ्यो, अचेल यस्तो संवाद सामाजिक सञ्जालमार्फत बेग्लै तरिकाले भइरहेको छ। ग्राहकले चिया–खाजाको फोटो खिच्नु, ती फोटो सामाजिक सञ्जालमा पोस्ट गर्दा ट्याग गर्नु, आम अभ्यास बनिसकेको छ। ग्राहकजस्तै ग्राहकका गतिविधि फोटोमा कैद गरी चियाघरले आफ्नो सामाजिक सञ्जालमा साझा गरिरहेका हुन्छन्। दुवै पक्षबाट सामाजिक सञ्जालमा फोटो राख्ने, ट्याग गर्ने, लाइक, सेयर र कमेन्ट गर्ने क्रमले ‘भर्चुअल स्पेस’ मार्फत पनि सम्बन्ध घनीभूत बनाइरहेको छ।

नेपाल : नखुलेका पाटाहरू पुस्तकमा तीर्थबहादुर श्रेष्ठको लेख नै छ, ‘चिया पिउने बानी बसालौँ!’ ‘नेपालमा चिया खेती डेढ सय वर्ष (वि.सं.१९२०) अघि सुरु भए पनि काठमाडौँको जनजिब्रोमा यसको स्वाद पस्कने श्रेय २००० सालतिर सुनधारामा खुलेको धरहरा माइलाको पसललाई जान्छ,’ श्रेष्ठ लेख्छन्, ‘हुन त त्यसअघि नै ह्लासाबाट फर्केका केही नेपाली साहूका घरमा नुन र घिउ हालेको भोटेचियाको प्रवेश भइसकेको हो, तर माइलादाइकहाँ दूध र चिनी हालेको चिया पाइन्थ्यो।’

मार्टिन चौतारीद्वारा प्रकाशित नेपाल इन द लङ नाइन्टिन फिफ्टिज पुस्तकमा प्रवास गौतमको तिलौरी माइलाको चिया पसलबारे अनुसन्धानात्मक लेख समावेश छ। जसअनुसार धरहरानजिकै तिलौरी माइलाको पसल सन् १९३० को दशकमा सुरु भएको थियो। त्यहाँ चिया-खाजा पाइने यो पसल १९४०–५० को दशकमा राजनीतिक कार्यकर्ता, फुटबल खेलाडी, विद्यार्थीदेखि सैनिकसम्मले भेटघाट गर्ने लोकप्रिय अड्डा बन्यो।

बदलिएका चियाघर

ललितपुरको टौखेल चोकबाट दायाँ मोडिएर ३०० मिटर बढ्दा यस्तै एउटा चियाघर भेटिन्छ, जसले पहिलो क्षणदेखि नै ग्राहकको माया पाएको छ। नयाँ वर्षको पूर्वसन्ध्यामा खुलेको यो ‘टि-स्टप’ मा काठमाडौँ, भक्तपुरदेखि पनौतीसम्मका ग्राहक चिया पिउन आउँछन्। ‘टि-स्टप’ गोदावरीका स्थानीय तीन युवाले सानोतिनो ऋण जोहो गरेर खोलेका हुन्। सुरु भएको दुई महिना नपुग्दै यसका सञ्चालकमा ‘टि-स्टप’ को नयाँ शाखा खोल्ने आत्मविश्वास बढिसकेको छ।

चिया स्टप, गोदावरी। तस्बिर : बिक्रम राई/नेपालन्युज।

एकातिर नयाँ चियाघर थपिँदै छन्, अर्कातिर स्थापित भइसकेका चियाघर धमाधम शाखा विस्तारमा व्यस्त छन्। २ जेठमा ‘चिया माया’ ले काठमाडौँ गैह्रीधारामा तेस्रो शाखा खोल्यो। अहिले नयाँ शाखामा पनि ग्राहकको भिड बढिरहेको छ। अंग्रेजी नयाँ वर्षदेखि झम्सिखेलमा सुरु भएको ‘चिया माया’ ग्राहकको मागकै कारण उपत्यकाका अरू ठाउँमा फैलिनसक्ने सम्भावना पनि बलियो देखिन्छ।

‘चियावाला’ र ‘चिया माया’ मा कविता वाचनसमेत हुन्छ। केही चियाघरमा खानेकुराबाहेक खेल्ने सामग्रीदेखि पुस्तकसमेत राखिएका छन्। केही चियाघरमा युवा पुस्ताका ग्राहकलाई रमाइलो गराउन र व्यस्त राख्न लुडो, चेस, उनो आदि खेल सामग्रीको व्यवस्था गरिएको छ। गफ चुट्दै, पढ्दै वा खेल्दै थाहै नपाई उनीहरूले ‘अर्को एक कप चिया,’ ‘अर्को एक खिल्ली चुरोट’ वा ‘अर्को एक सिसा हुक्का’ थपिसकेका हुन्छन्।

यी दुई चिया पसलभन्दा धेरै पहिले, ७० वर्ष पुरानो बिरासत बोकेर बुटवलबाट काठमाडौँ भित्रिएको ‘चियावाला’ ले सात वर्षभित्रै थापाथली, चाबहिल, बुद्धनगर र बखुन्डोल गरी चार ठाउँमा शाखा विस्तार गरिसकेको छ। पाँच वर्षअघि पोखराबाट सुरु भएको ‘चियादानी’ ले पनि काठमाडौँमा एउटा र चितवनमा दुई वटा शाखा खोलेको थियो।

काठमाडौँका चारै कुनाका हरेक टोलमा अचेल यस्ता चियाघर खुल्ने क्रम जारी छ। यी सबै कुराले पछिल्लो समय सहरमा बढिरहेका चियाघरको माग र विस्तारलाई प्रतिनिधित्व गर्छन्। चियाघरको आकर्षण हिजोआज राजधानीमा मात्र सीमित छैन, पोखरा, चितवन, बुटवल, धरान, विराटनगरलगायत सहरमा पनि फैलिरहेको छ। यसमा पनि केही चियाघर काठमाडौँमा स्थापित भएपछि देशका अन्य सहरमा फैलिएका छन् भने केही काठमाडौँबाहिर पहिल्यै ‘ब्रान्ड’ बनाएर राजधानी भित्रिएका छन्।

कतिपय ‘ब्रान्ड’ को लोकप्रियताले नेपालबाहिर समेत ‘फ्रेन्चाइज’ खोल्ने माग आएको चिया पसलका सञ्चालकहरू बताउँछन्। अनामनगरस्थित राजेश शर्माले सञ्चालन गरेको ‘पोखरेल मट्का चिया गल्ली’ को ‘फ्रेन्चाइज’ यही वर्ष कतारमा खुल्न लागेको छ। उनको पसलमा १९ थरी चियाको स्वाद लिन सकिन्छ।

गाउँ गाउँ, सहर सहर बिस्तारै चिया पसल खुल्न थालेपछि यसमा आम पहुँच बढेको हो। मानवशास्त्री सुरेश ढकालको शब्दमा चियाघर अन्तरक्रियात्मक थलोका रूपमा विकास भइरहेको छ। उनी बाल्यकाल सम्झन्छन्, “म सानो छँदा केटाकेटीले चिया खानु हुँदैन भन्ने थियो। चिया पिउन अलि पर चाबहिलसम्म जानुपर्थ्यो, त्यहाँ जम्मा तीनचार वटा चियाघर थिए। चिया पाउरोटी खान पाउनु सन्तुष्टिको हिसाबले ठूलो उपलब्धिजस्तै हुन्थ्यो।”

तस्बिर : बिक्रम राई/नेपालन्युज।

‘चिया पिउने’ भन्ने पुरानो अर्थ बिस्तारै गफ गर्ने, सूचना आदानप्रदान गर्ने थलोमा परिणत हुँदै गयो। मानवशास्त्री ढकाल पछिल्लो समय विस्तार भइरहेका चियाघरले चियाको लत मेट्ने थलोभन्दा सार्वजनिक वृत्तका रूपमा ‘स्पेस प्रोभाइड’ गरिरहेको मत राख्छन्। “युवा वर्ग, विद्यार्थीसमेतको क्रयशक्तिभित्र पर्ने चियाघर भेटघाट र अन्तरक्रियात्मक थलो बनेका छन्। गाउँका चिया पसलमा सूचना आदानप्रदान हुन्थ्यो, सहरका चिया पसलमा ग्राहकहरू विभिन्न नयाँ नयाँ प्रोजेक्ट, स्टार्ट–अप र अन्य बिजनेस आइडियाबारे गफिन्छन्,” उनी भन्छन्।

स्थानीय बजारदेखि विदेशसम्म चियाको ब्रान्ड र स्वादप्रतिको फैलावटले चिया व्यवसायको आकर्षण र माग पुष्टि हुन्छ। चिया औपचारिक-अनौपचारिक सबैखालका जमघटमा पिउने लोकप्रिय पेय हो। सम्भवतः मान्छेले पानीपछि सबैभन्दा धेरै पिउने चिया नै हो। सबैले सधैँ पिउने भएकाले यसलाई सदाबहार व्यवसायभन्दा फरक पर्दैन। तुलनात्मक रूपमा लगानी र जोखिम दुवै कम भएको व्यवसाय पनि हो यो। यही कारण धेरै युवाका लागि आकर्षक ‘स्टार्ट–अप’ व्यवसाय बनेको छ। यो व्यवसायमा दुई वा दुईभन्दा बढीको सहकार्य र लगानी देखिन्छ।

सहरी भेगमा ‘क्याफे कल्चर’ बढ्दै जाँदा बजेटसुहाउँदो चिया–खाजा खाने ठाउँको खाँचो भएपछि चियाघर खुल्ने क्रम बढेको देखिन्छ। चियाघर चलाउने व्यवसायी र चिया पसल धाउने ग्राहक दुवै पक्षका लागि बजेटमैत्री हुनु नै नयाँ शैलीका चियाघरको लोकप्रियताको मुख्य कारण हो।

चियाघरको लोकप्रियतामा अग्रणी भूमिका खेल्ने ‘चियावाला’ का सञ्चालक गणेशदेव पाण्डे भन्छन्, “सहरमा क्याफे कल्चर बढ्यो, क्याफेहरू महँगा भए अनि समाजले त्यसको विकल्प खोजिरहेको थियो होला। त्यसैले नयाँ खालका चियाघर बढे।”

तस्बिर : बिक्रम राई/नेपालन्युज।

‘चिया स्टप’ बबिन सिलवाल, समीर विष्ट र अर्का एक साथी मिलेर सुरु गरेका हुन्। बबिन भन्छन्, “सधैँ हल्लेर हिँडिराख्थ्यौँ। केही काम गरौँ भन्ने सल्लाह हुँदा लगानी र जोखिम दुवै कम भएको व्यवसाय यही हो जस्तो लाग्यो। साथीभाइ मिलेर चलाउन सकिने भएपछि घाटामै गए पनि एकोहोरो मार पर्दैन भनेर आँट गर्‍यौँ।”

‘चिया स्टप’ खोल्न कुल २५ लाख खर्च भएको बबिनको भनाइ छ। ‘चिया माया’ का सञ्चालक शुभम घिमिरे बुटवल छँदा हरेक दिन क्याफेमा पिउँदा धेरै पैसा खर्च भएकामा चिन्तित थिए। उनलाई हरेक दिन बाहिर खान मिल्ने सस्तो र स्वस्थकर ठाउँको अभाव खड्किन्थ्यो। “कामका लागि होस् वा फुर्सदको भेटघाट, महँगो क्याफेमै जानुपर्थ्यो। खर्च धान्न धौ–धौ भएको थियो। मजस्तै थियो, मेरो साथीहरूको अनुभव पनि,” उनी भन्छन्, “यही भोगाइले हरेक दिन जान र खान मिल्ने बजेटसुहाउँदो ठाउँ बनाए पक्कै चल्छ भन्नेमा ढुक्क थिएँ। आफूलाई जे अभाव महसुस भएको थियो, मैले त्यस्तै चिया–खाजा खाने ठाउँ खोलेँ।” बुटवलबाट सुरु भएको ‘चियाहोलिक’ कै ‘थिम’ मा उनले काठमाडौँमा नाम मात्र फेरेर ‘चिया माया’ राखे।

युवाको क्रयशक्तिभित्र पर्ने यस्ता चियाघर कैयौँ युवाका लागि रोजगारीको विकल्प पनि बनेको छ। बुटवलको सुख्खानगरमा ‘चियाहोलिक’ स्थापना गर्ने बेला शुभम २१ वर्षका थिए। ‘चिया स्टप’ का तीनै जना सञ्चालकको उमेर २५ नाघेको छैन।

पोखरेल मट्का चिया गल्ली। तस्बिर : बिक्रम राई/नेपालन्युज।

चिया व्यवसायमा लगानी गर्नेमा फिल्म क्षेत्रदेखि खेल क्षेत्रका ‘सेलिब्रेटी’ सम्म पर्छन्। चियावालाका गणेशदेव पाण्डे ‘गाजाबाजा’, ‘मञ्जरी’, ‘जुलेबी’ आदि फिल्मका निर्देशक हुन्। काठमाडौँका मुख्य स्थानमा विस्तार भइसकेको ‘चिया अड्डा’ का संस्थापक सञ्जोग कोइराला पनि फिल्म निर्माण र अभिनयमा सक्रिय छन्।

फुटबल खेलेर चर्चा कमाइसकेका किरण चेम्जोङ र मानसाजन राजभण्डारीलाई पनि चिया पसलले आकर्षित गरेको छ। उनीहरूले पनि मध्यबानेश्वरमा ‘चिया टाइम’ सञ्चालन गरेका छन्। चेम्जोङ राष्ट्रिय फुटबल टोलीका कप्तान र गोलकिपर हुन्। उनीहरूले गत वर्षको कार्तिकदेखि यो व्यवसाय सुरु गरेका हुन्।

धेरै युवा विदेश पलायन भइरहेको परिप्रेक्ष्यमा केही युवाका लागि चियाघरको व्यवसाय आय–आर्जनको गतिलो विकल्प देखिएको छ। युवाले विदेश जानुको साटो देशमै बसेर काम गर्ने वातावरण बन्नु र त्यसबाट नाफा पनि हुँदा समाजमै सकारात्मक सन्देश प्रवाह भइरहेको छ।

देशभित्र रोजगारी सिर्जना गर्नु खुसीको कुरा भएको बताउँछन्, शुभम। अहिलेको समय चिया व्यवसायको उत्कर्ष भएको उनको दाबी छ। “कुनै पनि व्यवसायको उच्चविन्दु आउँछ। म यसलाई सकारात्मक लिइरहेको छु। काठमाडौँमा जस्तै ६–७ महिनादेखि बुटवलमा पनि नयाँ चिया पसल खोल्ने बढेका छन्। मसँग सल्लाह पनि लिइरहेका छन्,” उनी भन्छन्, “बजारमा चियाको माग पनि बढेको छ। अबको दुई–अढाइ वर्ष धान्छ।”

पहिले चिया व्यवसाय गर्ने कुरा गर्दा सबैले नाक खुम्च्याउँथे। तर, अहिले सबैले सम्मान गर्न थालेको ‘पोखरेल मट्का चिया गल्ली’ का सञ्चालक राजेशको बुझाइ छ। “हिजो ससुराली जाँदा ज्वाइँसाब के गर्नुहुन्छ भन्दा, नाक खुम्च्याउँदै ए चिया पसल भन्नुहुन्थ्यो,” उनी भन्छन्, “आज छातीमै पोखरेल मट्का चिया लेखेको टिसर्ट लाएर जन्ती जान सक्छु, त्यति गर्वलायक चाहिँ भयो।”

स्वाद र सेवाको प्रतिस्पर्धा

गाउँका परम्परागत चिया पसलमा मानिसहरू माटाको चुलोमा पाकेको चिया पिउँथे। बस्नलाई ढुंगा, मुढा वा काठ जे भेट्यो, त्यसैलाई मेच बनाउँथे। सहर अलि व्यवस्थित थियो। एक वा दुईकोठे पसलमा मानिसहरू चिया, दुनोट, अन्डा र चना खान्थे। दूध र कालोभन्दा अर्को स्वादको चिया बन्दैनथ्यो। ग्राहकहरू एकाध घन्टा चिया पसलमा बिताएर आफ्नो बाटो लाग्थे। अचेलका चियाघर पहिलेभन्दा फराकिला छन्, जहाँ ग्राहकहरू घन्टौँ गफिने गर्छन्।

चियावाला, थापाथली। तस्बिर : बिक्रम राई/नेपालन्युज।

थरीथरीका चिया पाइने यी पसलमा अहिले विविधता थपिएको छ। तर, युवा व्यवसायीहरूले परम्परागत चिया पसलको मर्मलाई पनि मर्न दिएका छैनन्। वास्तवमा नयाँ र परम्पराको सम्मिश्रण नै आधुनिक चियाघरको विशेषता हो। जहाँ विविध स्वाद र फराकिलो वातावरण महसुस गर्न सकिन्छ। नयाँ र परम्परालाई संयोजन गर्ने क्रममा विभिन्न नाममा खुलेका चियाघरले पनि यसलाई पुष्टि गरेका छन्। जस्तो कि, ‘चियावाला’, ‘मट्का चिया बानेश्वर’, ‘पोखरेल मट्का चिया गल्ली’, ‘चिया माया’, ‘कित्ली चिया’, ‘तन्दुरी चियाहोलिक’, ‘चिया अड्डा’, ‘टि टेल्स’, ‘अरबी चिया’, ‘इरानी चिया’, ‘चिया वाटिका’, ‘चिया मण्डला’, ‘चिया चौतारी’, ‘चिया संसार’, ‘चिया दैलो’ आदि।

विदेशी नामका स्कुल–कलेजको बिगबिगी भएको सहरमा चियाघरले भने नेपाली शब्द र नाममा विशेष जोड दिएका छन्। यसले नजानिँदो गरी मौलिकताको प्रतिस्पर्धा बढाएको छ। तर, केही सञ्चालकले चियाको अगाडि वा पछाडि फुर्को जोड्न करबल गरेजस्तो पनि देखिन्छ।

यसमा केही चियाघरका नाम अर्थपूर्ण छन्। केही भावनाले ओतप्रोत। ‘चिया माया’ को नाम सञ्चालक शुभमले आफ्नै आमा मायाको नामबाट जुराएका हुन्। पछि उनले चियाकै मेनुमा ‘माया चिया’ पनि समावेश गरे। बुटवलमा ‘चियावाला’ सुरु गरेका गणेशका बुवाको नाम घनश्याम हो। यो नाम अहिले बुटवलदेखि काठमाडौँसम्म स्थापित भइसकेको छ। उनले पनि आफ्नो मेनुमा बुवाको नाम समावेश गरेका छन्। उनको चियाघरमा आउने ग्राहकले सर्वाधिक माग गर्ने चिया नै यही हो। उनले आफ्नै थरको चियालाई स्थापित गरे, ‘पोखरेल लोकल चिया’ नामबाट।

चिया पसलको नामसँगै नारा प्रयोग गर्नेहरू पनि धेरै छन्। जस्तै, शंखमूलस्थित ‘चियादानी’ को गेटमा लेखिएको छ, ‘चिया कडा, माया गाढा।’ यस्तै, ‘चिया माया’ को भित्तामा पनि देखिन्छ, ‘चिया त माया हो।’ भीमसेनगोला चोकमा रहेको ‘चियाघर’ को मेनु पढ्नुअघि ग्राहकको आँखा पहिला यी अक्षरमा ठोकिन्छ, ‘चिया, साथी र गफ।’

युवा समूह उमेरका हिसाबले सिर्जनशील, सोचका हिसाबले नवीन र प्रस्तुतिका हिसाबले पृथक् हुन्छ, हुनु पनि पर्छ। नयाँ समयमा खुलेका चियाघरमा यस्तो सिर्जनशीलता, नवीनता र पृथक्ता महसुस हुन्छ। अहिलेका चियाघर चल्नुको प्रमुख कारण फराकिलो ठाउँ र ठाउँमा सजाइएका विविध कुराहरू पनि हुन्। अधिकांश चियाघरभित्र गमला, बोटबिरुवा, प्रप्सको प्रयोग साझा देखिन्छ। कतै सिंगो रूखमुनि बसेर चिया पिउनसमेत पाइन्छ।

‘चियावाला’ यस्तै ठाउँ हो। ‘चियावाला’ ले चियाघरको मौलिक डिजाइन र ‘एम्बियन्स क्रिएट’ गर्नेमा अग्रणी भूमिका खेलेको छ। उदाहरणका लागि, झम्सिखेल होस् वा थापाथली– ‘चियावाला’ का ग्राहकहरूले चौतारीमुनि नै बसेर चिया पिएको अनुभव गर्न पाउँछन्। सहरको मध्यभागमा बसेर गाउँघरकै चिया पसलमा चियाको चुस्की लिएसरह महसुस गर्न पाउँदा को हर्षित नहोला?

“मलाई प्राकृतिक र वातावरणमैत्री चिज मन पर्छ। जस्तो ठाउँमा आफूलाई बस्न मन लाग्छ, त्यस्तै पसलको एम्बियन्स बनाएँ,” ‘चियावाला’ का सञ्चालक गणेश भन्छन्, “ठाउँसँग ग्राहकहरूको एकखाले कनेक्सन हुन्छ। तर पनि कोर आइडिया चिया बेच्नु हो, ठाउँ बेच्नु हाम्रो प्राथमिकता होइन। चिया हाम्रो पारिवारिक व्यवसाय हो। चिया बेच्ने शैली खोज्ने क्रममा आफ्नै शैली अपनाएको मात्र हो।”

आफूलाई फरक र मौलिक देखाउन धेरै चियाघरले बाँस, खर, पराल, माटो र प्रयोगमा आइसकेका सामान पुनःप्रयोग गरेको देखिन्छ। यसमा फालिएका पुराना झ्याल, ढोका, सिसा, काठ, लालटिन, क्यामेराजस्ता सामग्रीको कलात्मक प्रयोग भएको छ। ‘टि–स्टप’ मा खरको काउन्टर र बाँसको कटेरो बनाएका बबिन भन्छन्, “हाम्रो चिया पसलको एम्बियन्स र भाइब फरक आओस् भनेर भिन्टेज लुक दिने प्रयास गरेका हौँ।”

तस्बिर : बिक्रम राई/नेपालन्युज।

‘टि–स्टप’ को बीच भागमा एउटा हरियो रंगको जिपसमेत राखिएको छ। यो जिपलाई पनि बस्ने ठाउँका रूपमा प्रयोग गरिएको छ, जहाँ बसेर ग्राहकले चिया पिउन मिल्छ। ग्राहकलाई आकर्षित गर्न कवाडबाट डेढ लाख रुपैयाँमा जिप किनेर राखिएको बबिन बताउँछन्। “मलाई गाडीमा रुचि थियो, यो रुचिलाई चिया पसलसँग जोड्ने सोच आएपछि ठूलो बस नै राख्ने भनेर खोजी गर्‍यौँ। नपाइएपछि अन्त्यमा जिप ल्याइयो। त्यही जिपले अहिले स्पेसको आकर्षण बढाएको छ। धेरै ग्राहक यही जिपमा बसेर फोटो खिच्छन्,” उनी भन्छन्।

स्वाभाविक रूपमा ती फोटा सामाजिक सञ्जालमा फैलिन्छन् र तिनले ग्राहकलाई चियाघरसम्म तान्ने काम गरिरहेका छन्।

‘पोखरेल मट्का चिया गल्ली’ का लगानीकर्ता शर्मा २०५७ सालदेखि चिया व्यवसायमा सक्रिय छन्। यसअघि उनको पसलको नाम थियो, ‘पोखरेल बेकरी’। झन्डै दुई दशक चिया बेचेपछि २०७९ सालमा युरोप गएका उनी त्यहाँ टिक्न सकेनन्। तर, केही कुरा सिकेर फर्किए। उनी भन्छन्, “म युरोप गएर अपग्रेड र अपडेट भएर फर्किएँ।”

यसपछि उनले चिया पसलको नाम पोखरेली बेकरीबाट ‘पोखरेल मट्का चिया गल्ली’ राखे। दूध चिया, कालो चिया, कागती चिया र हट लेमनसम्म बेचेका उनले विदेशबाट फर्किएपछि एकै पटक १९ थरी चिया बेच्न थाले। आफ्ना ग्राहकलाई फरक अनुभव र फरक सन्तुष्टि दिन चाहने उनी अझै १० परिकारका चिया थप्ने तयारीमा छन्।

चियाघरमा घरभित्रका अन्य परिकार पनि भित्रिएका छन्, जहाँ नेपाली समाजको विविधताको झलकसमेत पाइन्छ। ‘चियाहोलिक’ सुरु गर्ने बेला शुभमको दिमागमा नेपालीपन झल्किने रातो माटोले लिपेको गाउँकै जस्तो भित्ता, खर र बाँस प्रयोग भएको घर हुनैपर्छ भन्ने थियो। त्यही विषयवस्तुमा उनले नेपाली खाजा र चिया जोडे। मेनुमा आफ्नै घरमा पाक्ने पीठो, कोदो, फापरदेखि गिलो रोटीसम्म, घरमा जे–जे खाइन्छ, त्यस्तै खानेकुरा हुनुपर्छ भन्ने निधो गरे। घरमा उनी आफैँ सेलरोटी बनाउँथे। यी सबै कुरामा शुभमको गाउँघरको याद र हजुरआमा–हजुरबुवाको सम्झना मिसिएको छ। उनी भन्छन्, “चियाहोलिक होस् वा चिया माया यहाँ आउँदा धेरै ग्राहकले गाउँघरकै स्वाद पाउनुहुन्छ।”

चिया माया, पानीपाेखरी। तस्बिर : बिक्रम राई/नेपालन्युज।

खानेकुरा, एम्बियन्स, प्रप्स र सौन्दर्यबीच अन्तरसम्बन्ध खोज्ने प्रयास ग्राहकलाई ‘कम्फर्ट जोन’ को आभास दिलाउने प्रतिस्पर्धा हो। ग्राहकले जति सहज महसुस गर्छन्, उनीहरू उति नै फर्की–फर्की आउँछन्। कटिङ चिया, तराई चिया, डढेको दूधको स्वादको चियादेखि बटुक, चुकौनी, कोदो फापरजस्ता खाजाले कसैलाई तराई याद आउन सक्छ, कसैलाई पहाड। यी खानेकुराले परोक्ष रूपमा स्थानविशेषको स्वादसँगै ‘क्षेत्रीय’ स्वादलाई पनि ‘राष्ट्रिय’ बनाइरहेको छ। स्वादको प्रतिस्पर्धा पहिचानसँग जोडिँदै गएको छ। कुनै कुनै स्वादले ग्राहकलाई फुत्केको समय र छुटेको भूगोलको स्मृतिमा पुर्‍याएको छ।