१८ आश्विन २०८२
अ+
अ-

काठमाडौं।  शनिबार बिहानदेखि भइरहेको अविरल वर्षाका कारण देशैभरि बाढी र पहिरोले सडक अवरुद्ध भएका छन्। बीपी राजमार्गका ९ स्थानमा ठूलो अवरोध रहेको सडक विभागले जनाएको छ।

शनिबार राति ९ बजेसम्म बीपी राजमार्गका ९ स्थानमा ठूलो अवरोध रहेको छ। खाल्टे-नेपालथोकमा एकतर्फी यातायात सञ्चालन गर्न सकिने भए पनि प्रशासनले आवागमनमा रोक लगाएको छ।

बीपी राजमार्गको रोशी खोलामा ५० मिटर सडक कटान भएको विभागका प्रवक्ता प्रभातकुमार झाले बताए।

काठमाडौं-फर्पिङ-हेटौंडा सडक अन्तर्गत कुलेखाने-सिस्नेरी-काठमाडौं सडक खण्डमा टेकारमा पहिरो छ। सिस्नेरी बजारमा खोलाले सडक कटान गरेकाले यातायात पूर्ण रूपमा बन्द भएको छ। कुलेखाने-काठमाडौं सडक खण्डका केही स्थानमा ढुङ्गा खस्ने जोखिमका कारण सडकमा यात्रा जोखिमपूर्ण रहेको झाले बताए।

मुग्लिङ-नारायणघाट सडक प्रशासनले बन्द गरेको छ। तुइन खोलामा अवरोध जारी छ। एकतर्फी यातायात खुला गर्न सकिने भए पनि स्थानीय प्रशासनले रोक लगाएको छ।

वर्षाका कारण अरनिको राजमार्ग एकतर्फी यातायात सञ्चालन भइरहेको छ। मध्यपहाडी रामेछापस्थित खुर्कोट(घुर्मी खण्ड दुईतर्फी बन्द छ भने जयरामघाट-हलेसी खण्डमा एकतर्फी अवरोध रहेको झाले बताए।

सडक डिभिजन विराटनगर, लहान र तुम्लिङटार अन्तर्गतका सडकहरूमा कुनै अवरोध नरहेको उनले बताए। धनकुटामा पाख्रिबासबाट ६ किलोमिटर तल सडकको सतह बगेको छ।

नागढुङ्गा-मुग्लिङ र कालीगण्डकी करिडोर (देवघाटदेखि गैंडाकोट, नारायणघाट) मा कुनै अवरोध नरहे पनि प्रशासनले आवागमनमा रोक लगाएको छ।

नारायणघाट-बुटवल र त्रिभुवन राजमार्गमा कुनै अवरोध नरहेको विभागले जनाएको छ। महेन्द्र राजमार्गको पथलैयामा बेली ब्रिजबाट यातायात खुला गरिएकाले कुनै अवरोध नरहेको उनले बताए।