विराटनगर। अविरल वर्षासँगै बाढी बस्तीमा पसेपछि विराटनगरका ७५ घरका स्थानीयले अन्यत्रै सारिएको छ।
बाढी बस्तीमा पसेपछि मानिसहरूलाई विद्यालय तथा नजिकको उद्योगमा सारिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। विराटनगर -१२ सम्पन्न बस्तीका ७५ घरका ३५० जनालाई बखरी, दरैया आवासीय विद्यालय तथा नजिकै खुलेको नयाँ उद्योगमा स्थानान्तरण गरिएको यादवले बताए।
विराटनगर-२ पूर्वपट्टी सिंघिया खोलाको बाढी बस्तीमा पसेपछि करिब ३५ घरलाई स्थानान्तरण गर्नुपर्ने सम्भावना रहेको छ। विराटनगर-५ केशलिया ढाट शंकरबारी टोलमा बाढी बस्तीमा पसेको छ। त्यहाँका २५ घरलाई स्थानान्तरण गर्नुपर्ने अवस्था छ।
उर्लाबारी-९ बोर्डलाइनमा रतुवाखोलाको पानी बस्तीमा पसेको छ। त्यहाँका २० घर स्थानीयलाई छिमेकीको घरमा स्थानान्तरण गरिएको छ।सुनवर्षी-३, बाहुनटोलमा बक्राहा खोलाको बाँध ४/५ मिटर कटान भएको छ। त्यहाँ करिब ६० स्थानीयको घरमा बाढी पसेको छ।
सुनवर्षी-६ बक्राहा खोलामा बाँध मर्मत थालिएको छ। बाढीले बाँध कटान गर्दा बस्ती जोखिममा परेपछि मर्मत थालिएको यादवले बताए।
मिक्लाजुङ-६ मलामिटहरा छेउबाट नुनसरी खोलाको बाध कटान थालिएपछि रोकथाम सुरू गरिएको छ।