इलाम पहिरोको कहर
विराटनगर। शनिबार राति निदाएको बेला थियो। इलाममा दिउँसैदेखि मौसममा परिर्वत भइरहेको थियो। तर, मस्त निद्रामा भएका बेला ‘आरी घोप्टे’ वर्षा खनिएला भन्ने कमैले आकलन गरेका थिए।
शनिबार दिउँसोदेखि बेलुकासम्म मध्यम वर्षा थियो। तर, राति १० बजेपछि आरी घोप्टे वर्षा सुरु भयो। यो वर्षा लगातार २ बजेसम्म रह्यो।
इलाममा तीन दशकयताको सबैभन्दा भीषण वर्षा भएको रातमा पहिरोले पुरिएर ३७ जनाको ज्यान गएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार इलाममा पछिल्लो २४ घण्टामा तीन सय २५.२ मिलिमिटर वर्षा मापन गरिएको छ। यो औसतभन्दा तीन गुणा बढी हो।
अतिभारी वर्षापछि बिहानको उज्यालो नहुँदैदेखि पहिरो जान थालेको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन्। सुरुमा सन्दकपुर गाउँपालिकामा पहिरो जान थालेको अनुमान गरिएको छ। प्रहरी उपरीक्षक एकनारायण कोइराला भन्छन्, “यी सबै घटना भारी वर्षाको बेला राति नै भएका हुन्, कहाँबाट पहिरो सुरु भयो थाहै भएन, जताततै पहिरो छ।”
देउमाई नगरपालिकामा राति १ बजेदेखि ३ बजेसम्म लगातार पहाड पहिरोमा बगिरह्याे। मेयर सूर्यप्रसाद पोखरेलका अनुसार वडा नम्बर ७ मा पाँच र वडा नम्बर ५ मा तीन जनाको मृत्यु भएको छ। “७ नम्बर वडामा दुई जना पाहुनासहित पाँच जनाको ज्यान गयो,” उनले भने, “ती पाहुना पाँचथरका थिए। एक जना आठ वर्षका बालक र अर्की १२ वर्षीया बालिका।”

वडा नम्बर ३ मा एकै परिवारका दुई जनाको मृत्यु भयो। “दसैँमा टीकाटालो गर्न छिमेकीलाई जिम्मा लगाइएको घर पहिरोले बगाउँदा छिमेकीकै मृत्यु भयो,” पोखरेलले भने।
प्रहरी र स्थानीय जनप्रतिनिधिले राति नै घटनाको खबर पाए। उनीहरूले बाहिर निस्किएर उद्धार गर्ने प्रयास गरे। “प्रहरी ३ बजे आइपुग्यो,” पोखरेल भन्छन्, “तर बाटो नै बगाएर लगेकाले अघि बढ्नै सकिएन, फर्किनुपर्यो।”
देउमाईमा कति जना विस्थापित भए भन्ने अझै स्पष्ट छैन। “बिजुली छैन, मोबाइल नेटवर्क छैन,” पोखरेल भन्छन्, “शव निकाल्ने काम सकियो, अब बाँचेका बासिन्दाहरू सुरक्षित बस्न सक्ने ठाउँ बनाइरहेका छौँ।”
माईजोगमाई गाउँपालिकामा आठ जनाको मृत्यु भएको थियो। त्यहाँ पनि दुई परिवारका मानिसहरू पहिरोमा पुरिएर बितेका छन्। अध्यक्ष कुशबहादुर थेवेका अनुसार वडा नम्बर ६ स्थित किरण थेवे र ब्रह्मलाल सोङ्मीको परिवार पहिरोमा पुरिएर बिते। सोङ्मीको घरका पाँच र थेवेको घरका तीन जना पहिरोमा परेर बितेको वडाध्यक्ष कुशबहादुरले बताए।
“राति ३-४ बजेतिर पहिरो गयो। पहिरो गएको हल्लाखल्ला भएर मानिस पुरियो भनेपछि स्थानीयले नै शवहरू निकाले,” थेवे भन्छन्, “जताजतै पहिरो छ, मानिसका घर छैनन्। संख्या अहिले नै भन्न सकिँदैन।”
सन्दकपुर गाउँपालिकाका अध्यक्ष तुलाराम गुरुङका अनुसार फरक फरक ठाउँमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ। उनका अनुसार वडा नम्बर ४ मा दुई जना, वडा नम्बर १ मा दुई जना र वडा नम्बर ३ मा दुई जनाको मृत्यु भएको छ।
“बेलुका ठीकै छ भन्ने खबर थियो, बिहान उज्यालो हुने बेलामा पहिरोले घर पुरेछ,” अध्यक्ष गुरुङ भन्छन्, “मलाई त १० बजेपछाडि मात्रै थाहा भयो। “ सन्दकपुर इलामको निकै विकट ठाउँ मानिन्छ। यहाँ पहिरोपछि उद्धार टोली पुग्न ढिलो भएको थियो।
कोइरालाका अनुसार पहिरोमा परी सन्दकपुरमा ६ जना, माईजोगमाई गाउँपालिकामा आठ, इलाम नगरपालिकामा ६, फाकफोकथुम गाउँपालिकामा एक, माङसेबुङ गाउँपालिकामा तीन, देउमाई नगरपालिकामा आठ र सूर्योदय नगरपालिकामा पाँच जनाको मृत्यु भएको छ।
इलाममा पहिरो क्षेत्रबाट घाइते २० जनालाई उद्धार गरी अस्पताल लगिएको छ। “पहिरो गएका धेरैजसो ठाउँ विकट छन्, प्रहरी सबै ठाउँ पुगेर बुझ्न पाइसकेको अवस्था छैन,” प्रहरी उपरीक्षक कोइराला भन्छन्, “माई खोलानजिकै पहिरो गएपछि मेची राजमार्गको आवागमन बन्द भएको छ।”
कोशी प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दीपक पोखरेलका अनुसार प्रदेशभर हालसम्म ५३५ जनाको उद्धार गरिएको छ।
इलामको विभिन्न पहिरोमा मृत्यु हुनेहरूको नाम र उमेर
१. प्रकाश तामाङको घर (इलाम नगरपालिका-६, घोस गाउँ)
• समिर देउजाली, २३
• प्रविण तामाङ, २३
• बिराज पाख्रिन तामाङ, २३
• आवास दनुवार, ३
• अनु तामाङ, ३२
• प्रिन्सिखा मगर, ८
२. छविधन राईको घर (सन्दकपुर गाउँपालिका-१, छाँगे)
• भिमबहादुर राई, ४३
• हरिमाया राई, ६६
• देवी राई, ४७
• शेखर राई, ५४
• शारादा सेडाईं, ७४
• तारादेवी राई, ४८
३. बर्मलाल सोङमीको घर (माईजोङमाई गाउँपालिका-३, प्याङ)
• बर्मलाल सोङमी, ८२
• बुद्धमाया सोङमी, ७०
• धनबल सोङमी, ४६
• सरला सोङमी, ४२
• प्रकृति सोङमी, १४
४. राजु क्षेत्रीको घर (सूर्योदय नगरपालिका-१, मानेभञ्याङ)
• मन माया क्षेत्री, ६५
• रस्मिका क्षेत्री, १०
• दिप बस्नेत, ४५
• भवानी बस्नेत, ४४
• दिव्या बस्नेत, १२
५. दिपक लिम्बुको घर (देउमाई नगरपालिका-५, ढुसेनी)
• दिपक लिम्बु, ३०
• ऋषिका लिम्बु, २७
• दिपिस्का लिम्बु, १०
• सौजन लिम्बु, ९
• सौगात लिम्बु, ११
६. मन कुमार लिम्बुको घर (देउमाई नगरपालिका-५, झारे)
• रोशन लिम्बु, २२
• बेबिसा राई, २२
७. गणेश मगरको घर (देउमाई नगरपालिका-३, लक्ष्मीबोटे)
• ३०. कृष्ण मगर, २८
८. मदन लिम्बुको घर (माङसेबुङ गाउँपालिका-१, पार्टी गाउँ)
• कृष्ण माया लिम्बु, ५७
• माया लिम्बु, ५०
• नेहा राई, १७
९. सुरेश लिम्बु (फाकफोकथुम गाउँपालिका-३, रातमाटे)
• सुरेश लिम्बु, २८
१०. भक्तबहादुर थेवेको घर (माईजोगमाई गाउँपालिका-६, ओडारे)
• किरण थेवे, २८
• मनमाया थेवे, १८
• मुनुसा थेवे, ३