काठमाडौं। अविरल वर्षाका कारण बाढी र पहिरोबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई सरकारले राहतस्वरुप दुई लाख रुपैयाँ उपलब्ध गराउने भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्रति मृतक परिवारलाई राहतस्वरूप तत्काल २ लाख रुपैयाँ उपलब्ध गराउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएको हो। प्राधिकरणले घाइतेको नि:शुल्क उपचार गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ।
यसअघि नै बैठकले घाइतेहरूको तत्काल उद्धार गरी नजिकको स्वास्थ्य संस्थामा निशुल्क उपचार गर्ने र प्रभावित परिवारलाई राहत, स्थानान्तरण तथा पुनर्स्थापना गर्न स्थानीय प्रशासनलाई जिम्मेवारी दिएको थियो।
साथै अवरुद्ध सडकहरूलाई तत्काल मर्मत गर्न सडक विभागलाई निर्देशन पनि प्राधिकरणले दिएको छ। अवरुद्ध खानेपानी, विद्युत, सञ्चार लगायतका अत्यावश्यक सेवाहरु संचालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
