काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१९ आश्विन २०८२
अ+
अ-

काठमाडौँ। न्यून चापीय मौसमी प्रणाली नेपालबाट बहिरिने क्रममा छ। अहिले नेपालको पूर्वी भागका केही जिल्लामा मध्यम वर्षा भइरहेको छ। मनसुन कमजोर हुँदै गएकाले मौसममा सुधार आउन थालेको जल तथा मौसम विज्ञान विभागले बताएको छ।

मनसुन कमजोर भएपनि पूर्णरूपमा बाहिरिसकेको भने छैन। काेसी प्रदेशका केही जिल्लामा भारी वर्षा हुनसक्ने भएकाले साेमबारसम्म सतर्कता अपनाउनु पर्ने विभागको प्रवक्ता विभूति पाेखरेलले बताइन्। देशकाे अन्य भू-भागमा भने मौसम सुधार भइरहेको छ।

बंगालको खाडीबाट विकसित यस प्रणालीले गर्दा असोज १७ गते साँझबाट १९ गते बिहानसम्म मधेश, बागमती, र कोशी प्रदेशका जिल्लाहरुमा भारीदेखि अति भारी वर्षा मापन भएको थियो। यस अवधिमा रौतहटको महेशपुरमा सबैभन्दा धेरै ३५८ मि.मि. वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।


अविरल वर्षाका कारण बागमती, त्रिशुली, पूर्वी राप्ती, लालबकैया, कमला लगायतका नदीहरूमा जलसतहले सतर्कता तह पार गरेकोमा हाल घट्दो क्रममा रहेको पाेखरेलले बताइन्। असोज १९ गते सप्तकोशी नदीले खतरा तह पार गरेको र तमोर, सुनकोशी, अरुण, कन्काई, बुढीखोला लगायतका नदीहरूमा पनि खतरा तह पार भई हाल घट्दो क्रममा रहेको छ।

अहिले कोशी प्रदेश र मधेश प्रदेशको पूर्वी भू-भागका धेरै स्थानहरूमा मध्यम वर्षा भैरहेको छ । उदयपुर जिल्ला आसपासका एक-दुई स्थानमा भारी बर्षा समेत भएको विभागले बताएको छ। अहिले वर्षा भैरहेको उल्लेखित स्थानहरूमा थप वर्षा हुने सम्भावना रहेकोले तल्लो तटीय क्षेत्रमा बसोबास  गर्ने स्थानीयले सोमबारसम्म सतर्कता अपनाउनु पर्ने पाेखरेलले बताइन्।

कोशी नदीको चतरा केन्द्रमा बहाव खतरा तहको नजिक रहेकाले नदी तटीय क्षेत्र तथा डुबान हुने क्षेत्रहरूमा असोज २० गते मध्यान्हसम्म सतर्कता अपनाउन अनुरोध गरेको छ।