काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१९ आश्विन २०८२
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ–१० जवाङ खोलामा खसेको पहिरो।तस्बिरः हीरालाल गुरुङ/रासस
अ+
अ-

काठमाडौँ। देशभर परेको अविरल वर्षाका कारण विभिन्न राष्ट्रिय राजमार्ग तथा सडकहरूमा अवरोध उत्पन्न भएको छ।

सडक विभागले आइतबार बिहान ११ बजेसम्मको अवस्था सार्वजनिक गर्दै धेरै सडकहरूको अवस्थाबारे जानकारी दिएको छ।

विभागका प्रवक्ता प्रभातकुमार झाका अनुसार मेची करिडोर बाढी-पहिरोका कारण प्रभावित भएको छ। बाढीले माइखोला पुल पूर्ण रूपमा बगाएको छ भने पुवा खोला र जोगमाई खोलाका बेली ब्रिजहरू पनि बाढीले डुबाएको छ। ९ ठाउँमा बाढी-पहिरोले अवरोध पुर्‍याएका कारण शनिबारदेखि नै बीपी राजमार्ग बन्द रहेको छ।

काठमाडौँ-फर्पिङ-भैसे-हेटौँडा सडकखण्ड कुलेखानी-सिस्नेरी-काठमाडौँ खण्डमा पहिरो र नदी कटानका कारण यातायात पूर्ण रूपमा बन्द छ। खुलेखानी-फाखेल-काठमाडौँ सडकको पहिरो हटाइए पनि सडकको सतह कमसल भएकाले थप क्षति हुनसक्ने जोखिमका कारण यातायात सञ्चालन नदिइएको झाले बताए

पूर्व-पश्चिम राजमार्ग राजमार्ग अन्तर्गत दमकमा भालु खोला पुलनजिकको डाइभर्सन र मेचीनगर नगरपालिकामा काली खोलाको डाइभर्सन बाढीले बगाएकाले सडक अवरुद्ध भएको छ।

सिन्धुपाल्चोकमा अरनिको राजमार्गमा पहिरो पन्छाउँदै सशस्त्र प्रहरी। तस्बिर- सशस्त्र प्रहरीको फेसबुक पेजबाट।

विभागका अनुसार त्रिभुवन राजपथको उर्लेनी डाँडामा पहिरोका कारण सडक अवरुद्ध छ र यसको सञ्चालन आज दिउँसो १२ बजेपछि मात्र खुल्ने अपेक्षा गरिएको छ।

कन्ति लोकपथ सडकखण्डमा पनि सामान्य पहिरो पन्छाउने कार्य भइरहेको र दिउँसो १२ बजेपछि यातायात खुल्ने बताइएको छ।

अरनिको राजमार्गको खावा खण्डमा एकतर्फी यातायात सञ्चालनमा रहेको विभागले जनाएको छ।

पृथ्वी राजमार्ग नागढुङ्गा-मुग्लिङ खण्ड सडक एकतर्फी रूपमा सञ्चालनमा छ।

मुग्लिङ-नारायणगढ सडकको तुइन खोलामा अवरोध हटेर दुईतर्फी यातायात खुलेको छ। यद्यपि, नाम्सी खोला नजिकको नयाँ पुल चट्टान खसेर अवरुद्ध भएको छ। तर, पुरानो पुलबाट यातायात सुचारू रहेको झाले बताए।

मध्यपहाडी लोकमार्ग रामेछाप/सिन्धुली खण्डको खुर्कोट-घुर्मी खण्डको आखरे भिरनजिकै ठूलो पहिरोसहित धेरै स्थानमा सडक अवरुद्ध छ। बागलुङ-बूर्तिबाङ खण्ड एकतर्फी सञ्चालनमा छ।

कालिकागण्डकी करिडोरको भिमाद-देदगाउँ खण्डस्थित भिमादबाट करिब १० किलोमिटर डाइभर्सन अवरुद्ध छ। यो खण्ड मिनी बस, माइक्रो र जिपका लागि ठीक भए पनि कार र ठूला बसका लागि भने उपयुक्त छैन।
धरान-धनकुटा सडक र हिले-पाख्रिबास-लेगुवा सडकखण्ड पनि अवरुद्ध भएका छन्।

नारायणगढ-बुटवल सडक: दाउन्ने खण्डमा बाढी-पहिरोका कारण अवरोध छैन। सिद्धार्थ राजमार्ग अवरोध नरहेको झाले बताए। कालिकागण्डकी करिडोर देदगाउँ-गैंडाकोट/नारायणगढ खण्डसमेत अवरोध नरहेको झा बताउँछन्।

हुलाकी सडकको वीरगञ्ज र कमला क्षेत्रमा क्षति नभए पनि मोरङको लोहेन्द्रा पुल ओभरफ्लो हुने जोखिम रहेको बताइएको छ। “सडक विभागले सबै अवरुद्ध सडकहरू खोल्नका लागि आवश्यक उपकरण परिचालन गरेको छ,” झाले भने, “यात्रुहरूलाई अत्यावश्यक नभए यात्रा नगर्न र यात्रा गर्नु परेमा सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न हाम्रो अनुरोध छ।”