काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२० आश्विन २०८२
अ+
अ-

२४ जुन २०२० मा अभिनेता सुशान्तसिंह राजपुतको निधनपछि कानुनी दायरामा तानिएकी अभिनेत्री रिया चक्रवर्तीले झन्डै पाँच वर्षपछि आफ्नो राहदानी फिर्ता पाएकी छन्।

पासपोर्ट फिर्ता पाएपछि सामाजिक सञ्जालमा उनले भावुक हुँदै लेखेकी छन्, “विगत ५ वर्षदेखि धैर्य नै मेरो एक मात्र राहदानी थियो। अनगिन्ती लडाइँहरू। अन्तहीन आशा। आज मैले फेरि आफ्नो राहदानी समातेकी छु। तयार छु, मेरो अध्याय २ का लागि!”

उनले यसलाई लामो कानुनी यात्रापछिको महत्त्वपूर्ण मोड भनेकी छन्। उनको पोस्ट सामाजिक सञ्जालमा भाइरल भइसकेको छ, जहाँ उनका प्रशंसक र शुभचिन्तकहरूले समर्थन र खुसी व्यक्त गरिरहेका छन्।

अभिनेता राजपुतको मृत्यु प्रकरणको अनुसन्धानमा रियाको नाम सार्वजनिक भएपछि उनको राहदानी जफत गरिएको थियो।

यो मुद्दा पछिल्लो समय भारतमा सबैभन्दा बढी चर्चित र विवादास्पद घटनामध्ये एक बन्यो। अभिनेता राजपुतको शव जुन २०२० मा मुम्बईस्थित उनकै निवासमा भेटिएको थियो। त्यसपछि मुम्बई प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरो, प्रवर्तन निर्देशनालय र नारकोटिक्स नियन्त्रण ब्युरोजस्ता निकायहरूले छुट्टाछुट्टै अनुसन्धान सुरु गरेका थिए।

त्यसबेला अभिनेता राजपुतसँग सम्बन्धमा रहेकी रियाले मिडियामा ठूलो आलोचना झेलेकी थिइन्। रियालाई आत्महत्या दुरुत्साहनको दिएको र मुद्दासँग सम्बन्धित लागूपदार्थ मामिलामा संलग्न भएको आरोपसमेत लागेको थियो।

सेप्टेम्बरमा नारकोटिक्स ड्रग्स एन्ड साइकोट्रपिक सब्स्टेन्सेस एक्टअन्तर्गत रिया पक्राउ परिन्। तर, एक महिनापछि बम्बै (मुम्बई) उच्च अदालतले उनलाई धरौटीमा रिहा गरेको थियो।

त्यसपछिका दिनहरूमा रियाले आफूलाई सार्वजनिक जीवनबाट टाढा राख्ने प्रयास गरिन्। लो प्रोफाइलमा बसी सामाजिक सञ्जालमा कहिलेकाहीँ प्रेरणादायक पोस्टहरू मात्र साझा गरिरहिन्।

सन् २०२३ मा एमटीभी रोडिज १९ मा ग्याङ लिडरको रूपमा टेलिभिजनमा पुनरागमन गर्दै मनोरञ्जन उद्योगमा बिस्तारै फर्किने संकेत दिएकी थिइन्।

आफ्नो राहदानी फिर्तापश्चात् रिया पुरानै सामान्य जीवनमा फर्कने संकेत देखिएको छ।

रियाले जलेबी, मेरे ड्याड की मारुती र चेहरे जस्ता फिल्ममा मुख्य भूमिका निर्वाह गरेकी छन्।