काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२० आश्विन २०८२
अ+
अ-

काठमाडौं। आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय छनोट फाइनलअघि भएका वार्म अप खेलमा नेपालले शतप्रतिशत जित निकालेको छ।

सोमबार सम्पन्न दोस्रो खेलमा नेपालले कतारलाई १६ रनले पराजित गरेको हो। यसअघि नेपालले घरेलु टोली ओमानलाई ६ विकेटले पन्छाएको थियो।

नेपालले प्रस्तुत गरेको १७१ रनको लक्ष्य पछ्याएको कतारले ६ विकेट गुमाउँदै १५४ रन मात्र बनाउन सक्यो।

कतारका मुहम्मद तनविरले सर्वाधिक ५१ रन बनाए। ३७ बल खेलेका उनले तीन चौका र दुई छक्का प्रहार गरे। मोहम्मद ब्रइगले ४० र मुहम्मद असीमले ३० रनको योगदान दिए।

नेपालका करण केसीले सर्वाधिक तीन विकेट लिए। नन्दन यादव, दीपेन्द्रसिंह ऐरी र ललितनारायण राजवंशीको नाममा समान एक विकेट रह्यो।

त्यसअघि अल अमारत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले सात विकेट गुमाउँदै १७० रन बनाएको थियो।

ओपनर कुशल भुर्तेलले सर्वाधिक ५६ रन बनाए। ३३ बल खेलेका उनले पाँच चौका र तीन छक्का प्रहार गरे।

कुशल मल्ल र दीपेन्द्रले समान ३८ रन बनाए। कतारका शारिक मुनिर र इक्रामुल्लाहले समान दुई विकेट लिए।

नेपालसँगै ओमान र पपुवा न्युगिनीले यसपल्ट उपक्षेत्रीय छनोट खेल्नुपर्ने छुट पाएका थिए। सीधै एसिया–प्यासिफिक क्षेत्रीय छनोट फाइनलमा स्थान बनाएका यी तीन टोलीले यूएई, जापान, कुवेत, मलेसिया, समोआ र कतारसँग खेल्नेछन्। यी नौ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ।

नेपाल समूह ‘बी’ मा रहेको छ। यस समूहमा जापान र कुवेत समावेश छन्। समूह ‘ए’ मा यूएई, मलेसिया र कतार छन् भने समूह ‘सी’ मा ओमान, पपुवा न्युगिनी र समोआ रहेका छन्।

तीनवटै समूहका शीर्ष दुई टोली सुपर सिक्समा प्रवेश गर्नेछन्। सुपर सिक्स राउन्ड–रोबिन प्रणालीमा खेलिनेछ। त्यसपछि शीर्ष तीनमा पर्न सक्ने टोलीले विश्वकपको टिकट पक्का गर्नेछ।