काठमाडौँ। नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान इन्दु बर्मा टी–२० अन्तर्राष्ट्रियमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली महिला खेलाडी बनेकी छन्। मलेसियास्थित बायोमास ओभलमा घरेलु टोलीविरुद्ध जारी टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गतको चौथो खेलमा उनले यो उपलब्धि हासिल गरेकी हुन्।
यो खेल नेपालले ६ विकेटले जितेको छ। नेपालको जितमा उनले अविजित ४८ रनको इनिङ्स खेलेकी थिइन्। योसँगै पाँच खेलको शृंखला २–२ को स्थितिमा पुगेको छ।
इन्दु सन् २०१९ देखि सिनियर टोलीमा छिन्। त्यसयताका ७० इनिङ्स उनले एक अर्धशतकसहित एक हजार ३३ रन बनाएकी छन्। १८.७८ को औसत र ८३.७१ को स्ट्राइकर रेटमा ब्याटिङ गरेकी उनले ७७ चौका र तीन छक्का प्रहार गरेकी छन्।
उनले एक मात्रै अर्धशतक कतारविरुद्ध प्रहार गरेकी हुन्। १६ नोभेम्बर २०२१ मा दोहामा भएको उक्त खेलमा उनी ५५ रन प्रहार गर्दै रिटायर्ड नटआउट भएकी थिइन्। त्यसयता उनले आफ्नो उक्त कीर्तिमान सुधार गर्न सकेकी छैनन्।
इन्दुलाई भेट्रान अलराउन्डर सीता रानामगरले पछ्याइरहेकी छन्। ५९ इनिङ्स खेलेकी उनले एक अर्धशतकसहित नौ सय ६५ रन प्रहार गरेकी छन्।
रुविना क्षेत्री बेलबासेले नौ सय ३६ रन प्रहार गर्दा उपकप्तान पूजा महतोले ३४ इनिङ्समै पाँच सय १६ रन बनाइसकेकी छन्।