२१ आश्विन २०८२
फाइल फोटो
अ+
अ-

सोलुखुम्बु। सगरमाथा क्षेत्रमा शरद् ऋतु सुरु हुँदै गर्दा पर्यटकीय याम पनि सुरु हुन्छ। हरेक वर्षको असोज अन्तिम साता नाम्चेबजारदेखि गोक्यो, दिङ्बोचे र फोर्चेसम्मको बाटोमा पर्यटक, व्यापारी र स्थानीय चहलपहल बढ्छ।

यस वर्ष भने असोजको तेस्रो सातामै हिउँ परेपछि खुम्बु क्षेत्र सेताम्य भएको छ। यस क्षेत्रमा असोजमा हिउँ पर्नु दुर्लभ मानिन्छ। यसपटकको असोजको हिमपातले स्थानीय, व्यवसायी र आरोहण टोली प्रभावित भएका छन्।

गत आइतबार बिहानदेखि सुरु भएको भारी वर्षापछि सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको नाम्चेभन्दा माथिल्लो क्षेत्रमा हिउँ परेको छ। लगातारको वर्षा र हिमपातले दिङ्बोचे, लाबुचे, फेरेचे र गोक्यो क्षेत्र सेताम्य बनेको स्थानीय पासाङ शेर्पाले जानकारी दिए।

खुम्बु पासाङल्हामु गाउँपालिका–४ का अध्यक्ष लक्ष्मण अधिकारीका अनुसार आइतबार परेको हिमपातले खुम्बुको माथिल्लो क्षेत्रको छानामाथि चार फिटभन्दा बढी हिउँ जमेको थियो ।