संख्या न्यून तर देशको गौरव बन्दै
‘यो त छोरीमान्छे, त्यसमाथि अपांग पनि। लात हानेर यसले के जित्छे रे?’ आफन्तहरूको त्यो घोचपेचपूर्ण वाक्यले पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनको मनमा हजारौँ चोट पुर्यायो। उनको बायाँ हातका औँला पूरा छैनन्। गह्रुँगा चिज उचाल्न सक्ने होइन। त्यसले पनि उनीलाई यस्ता घोचपेच हुने खालका शब्द प्रहार भइरहन्थे। तर, यो घोचपेचपूर्ण वाक्यलाई कमजोरी मानिनन्। बरु त्यही वाक्य र लातलाई नै उनले आफ्नो शक्तिशाली हतियार बनाइन्। र, नेपालले ओलम्पिक्समा सहभागिता जनाउन थालेको ६० वर्षमा उनी एउटा सुनौलो इतिहास लेखाउन सफल भइन्। पेरिस पाराओलम्पिक्स २०२४ को महिलातर्फको ४४ तेक्वान्दोअन्तर्गत ५७ केजी तौल समूहमुनि २१ वर्षीया पलेशाले सर्बियाकी मारिजा मिसेभलाई १५–८ को फराकिलो स्कोरमा हराउँदै कांस्य पदक जितिन्। यो नेपालको ओलम्पिक्स तथा पारालिम्पिक्स इतिहासमा पहिलो आधिकारिक पदक हो।
सरकारले उनलाई ६५ लाख रुपैयाँ नगद पुरस्कार दिँदै सम्मानित गर्यो। त्यसअघि नै उनले टोकियो पारालिम्पिक २०२० मा दुई बाउट जितेर नेपाली टोलीबाट सबैभन्दा राम्रो प्रदर्शन गरेकी थिइन्। त्यसपछि उनी झन् हौसिइन्। सन् २०२३ मा चीनको हाङ्जाओमा सम्पन्न चौथो एसियन पारागेम्समा नेपाललाई पहिलो पटक कांस्य पदक दिलाउने खेलाडी उनी नै बनिन्।
पलेशाको यो सफलताले नेपाली खेलकुदमा अपांगता भएका र महिला खेलाडीलाई हेर्ने दृष्टिकोण नै फेरिदियो। अहिले उनी अन्तर्राष्ट्रियस्तरमा नेपाली खेलाडीका लागि आशाको किरण बनेकी छन्। उनलाई देखेर पारा तेक्वान्दोमा लाग्ने महिला खेलाडी पनि छन्। उनलाई प्रेरणाको स्रोत मान्ने खेलाडीको संख्या पनि उत्तिकै छ। अहिले ती घोचपेचपूर्ण व्यवहार सम्झिँदै उनी भन्छिन्, “हामीजस्ताले रिङभित्र मात्रै होइन, बाहिर पनि धेरै फाइट खेल्नुपर्छ।”

पेरिस पारालिम्पिक्समा कांस्य पदक जितेपछि प्रशिक्षक कविराज नेगी लामासँग पलेशा।
नेपाली समाजमा अहिले पनि छोरीमान्छेले कट्टु र टिसर्ट लगाएर छोरामान्छेको भिडमा खेल्नु हुँदैन भन्ने परम्परा कायमै छ। त्यसैले खेलमा सहभागी हुने छोरीमान्छेलाई पनि यो या त्यो बहानामा रोकी नै राखिन्छ। अझ त्यो पलेशाको जस्तो आफन्तबाट मात्र हुँदैन, घरकै सदस्यबाट समेत हुने गर्छ। यस्तै, रोकतोकको सीमा पार गरेर आएकी खेलाडी हुन्, भलिबलकी निरुता ठगुन्ना।
विद्यालयस्तरदेखि नै उनी हरेक खेलकुदमा निपुण थिइन्। हाइजम्प, लङजम्प र दौडमा उनलाई जित्ने कोही थिएनन्। त्यसपछि उनले एकाएक भलिबलतर्फ पाइला मोडेकी हुन्। उनले १३/१४ वर्षको उमेरमा पुरुषसँग भलिबल खेल्न थालिन्। महिला भए पनि पुरुषभन्दा अब्बल दरिइन्। त्यसैले एथ्लेटिक्सका शिक्षक निल अवस्थीको सल्लाहले नै उनी कहिल्यै पछाडि नफर्किने गरी भलिबलमा जोडिएकी हुन्।
सन् १९८० को दशकतिर मात्र औपचारिक रूपमा महिला खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन थालेका हुन्। पहिलोपटक दक्षिण एसियाली खेलकुदमा भाग लिएका खेलाडीमध्ये धेरैको नाम आज इतिहासको पानामा सीमित छ।
दार्चुलामा जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड हुँदै सुदूरपश्चिम प्रदेशको भलिबल टिमसम्म स्थान बनाउन उनलाई खासै समस्या भएन। त्यतिबेलासम्म जुत्ताबिनै स्पाइक हान्थिन्। अभाव नै अभाव झेल्दै र खेल्दै गर्दा उनी तत्कालीन त्रिभुवन आर्मी टिममा राष्ट्रिय भलिबल प्रशिक्षक रहेका जगदीश भट्टको नजरमा परिन्। तीन वर्ष आर्मीबाट खेलेकी उनले २०७६ सालमा राष्ट्रिय टिममा डेब्युसमेत गरिन्। हालसम्म चार वटा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेकी छन्। “पहिला त बुबाले केटाहरूसँग खेल्न जानै दिनुहुन्नथ्यो। तर, भागेर खेलेको रिजेल्ट त अहिले देखिरहेको छ नि,” उनी भन्छिन्।
म्याराथन धाविका सन्तोषी श्रेष्ठका आमा र हजुरआमा पढेलेखेका होइनन्। दिदीहरू पनि पढाइभन्दा घरको काममा बढी व्यस्त हुन्थे। त्यसैले विद्यालय जाँदा पनि शिक्षकहरूले उनीहरूलाई बिहे गरेर जाने जात त हो भनेर वचन लगाउँथे। त्यो वचनको वाण दिदीहरूभन्दा पनि सन्तोषीलाई बढी लाग्थ्यो। १५ वर्ष हुँदासम्म पनि उनको मस्तिष्कमा ठूलो भएपछि घरकै काम त गर्नुपर्ने होला नि भन्ने रहिरह्यो। तर उनी घरमै सीमित रहन चाहिनन्। समाजले बनाएको भाष्य गलत साबित गर्न उनी धादिङबाट दौडिन थालिन्। उनको त्यो दौडको यात्रा विश्व खेलकुदको सबैभन्दा ठूलो मञ्च पेरिस ओलम्पिक्ससम्म पुगिसकेको छ।
पेरिस ओलम्पिक्समा पदक नपाए पनि उनको नाममा एक गर्विलो इतिहास छ। उनी दक्षिण एसियाली खेलकुदमा एथ्लेटिक्सतर्फ नेपालका लागि स्वर्ण जित्ने पहिलो महिला खेलाडी हुन्। नेपालमै १७ मंसिर २०७६ मा भएको १० हजार मिटर दौड सन्तोषीले ३५ मिनेट ०७.९४ सेकेन्डमा पूरा गर्दै इतिहास बनाएकी हुन्। अहिले सन्तोषीलाई लाग्छ, “मेरा आमा र हजुरआमाहरू अभावमा बाँच्नुभएको रहेछ। खासमा शिक्षा तथा खेलकुद क्षेत्र कुनै पनि लिंग र जातका लागि भन्ने हुने रहेनछ। सबैका लागि हुने रहेछ।”
संख्या कम
नेपाली खेलकुदमा महिलाको प्रवेश इतिहासले खासै बोल्दैन। सन् १९८० को दशकतिर मात्र औपचारिक रूपमा महिला खेलाडीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन थालेका हुन्। पहिलोपटक दक्षिण एसियाली खेलकुदमा भाग लिएका खेलाडीमध्ये धेरैको नाम आज इतिहासको पानामा सीमित छ।
नहोस् पनि कसरी? नेपाली समाजले महिला खेलाडीलाई अझै खुला हृदय देखाउनै सकेको छैन। समाज जति आधुनिक भए पनि महिलालाई अझै चुलोचौका सकेर खेलकुदमा आउनुपर्ने बाध्यता छ। घर र आफन्तको तीखो वचनको प्रहार त अर्को कुरा भइहाल्यो। यस्ता हजार अवरोध छिचोलेर खेलकुदमा आएका महिला पुनः समाज, आफन्त र परिवारकै दबाबले टिक्न संघर्ष गरिरहेका छन्। कुस्तीकी मुहार बन्न लागेकी खेलाडी संगीता धामी, उसुकी जुनी राई, करातेकी कुशुम अधिकारी र अनु अधिकारीजस्ता दक्षिण एसियाली खेलकुदका स्वर्ण पदक विजेता खेलाडी नेपाली खेलकुदको मेरुदण्ड हुन्। तर, अझै उनीहरूलाई त्यो स्थान दिइएको छैन, जुन उनीहरूले ‘डिजर्भ’ गर्छन्। त्यसैले होला, अहिले यस्ता खेलाडी गुमनाम छन्।
नेपाली खेलकुदमा महिलाले मात्रै राज गरेको कुनै खेल छ भने त्यो महिला फुटबल नै हो। सन् १९८० को मध्यतिर मैदानमा पाइला चल्दै गर्दा नेपाली फुटबलले यति धेरै सफलता हात पार्ला भनेर सोचिएकै थिएन।
अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार महिला फुटबलमा खेलाडीको आकर्षण चुलिएको छ। पहिला विभागीयबाहेक अन्य टिम बनाउन गाह्रै हुने अवस्था थियो। तर, अहिले लिग छनोट खेल्न १५ टिम बनाउन पुग्ने महिला खेलाडीको संख्या छ। साढे ३०० भन्दा बढी खेलाडीले त गत माघमा सम्पन्न एन्फा महिला लिग नै खेलेका थिए। यो सिनियर स्तरमा लिग खेल्नेको आँकडा मात्रै हो। उमेर समूहका घरेलु प्रतियोगिता नहुँदा एन्फाले युवा महिला खेलाडीको संख्या कति छ भनरे टिपोर्ट गर्नै पाएको छैन। फुटबलपछि क्रिकेटमा सबैभन्दा बढी महिला खेलाडी छन्। नेपाल क्रिकेट संघ (क्यान)मा अहिले घरेलु प्रतियोगिता प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता खेल्न १२२ खेलाडी सूचीकृत छन्। त्यसपछि महिला कबड्डीमा ९६, भलिबलमा ५४ महिला खेलाडी छन्।
तेक्वान्दो र करातेजस्ता खेलमा भने प्रतियोगिता हेरेर राष्ट्रिय टोली बनाइने गरिन्छ। त्यसैका कारण एक ठूलो प्रतियोगितामा विभिन्न तौलसमूह गरेर २५/३० खेलाडी हुने संघको दाबी छ। यही ६ खेलमा पुरुष खेलाडीको संख्या हेर्ने हो भने झन्डै दोब्बर हुने गर्छ। पुरुष सिनियरतर्फकै फुटबलमा तीन फरक लिग खेल्ने खेलाडीको संख्या नै जोड्ने हो भने झन्डै साढे १३ सय हुने एन्फा प्रवक्ता सुरेश शाह बताउँछन्। क्रिकेटमा १४०, कबड्डीमा १२०, भलिबलमा ११२ र तेक्वान्दो तथा करातेमा समान ५० खेलाडी राख्दा पनि १८ सय २२ खेलाडी हुन आउँछन्। यसरी ६ खेलको खेलाडी संख्या तुलना नै गर्दा पनि १९ सय ९० पुरुष खेलाडी बढी देखिन आउँछन्। यसको मुख्य कारण समाज नै हो। विभागीय टोली नेपाल पुलिस क्लबका मुख्य प्रशिक्षक पुरुषको तुलनामा महिला टोली बनाउन निकै कठिन हुने बताउँछन्। उनी भन्छन्, “महिला खेलाडीलाई हतपत टप्प टिपेर ल्याउने स्थिति अझै बनिसकेको छैन। तर, पुरुषमा यो सम्भावना सहज छ। सुदूरपश्चिमतिर निकै खेलाडी जन्मिरहेका छन्, अन्य ठाउँतिर धेरै संख्यामा आशालाग्दा खेलाडी छन्। तर, महिला खेलाडी जन्मिनै गाह्रो छ।”
आशलाग्दो उपलब्धि
महिलाको सहभागिता न्यून रहे पनि उनीहरूले दिने प्रतिफल पुरुषको तुलनामा कम भने छैन। नेपालले २०७९/०८० मा १३० अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको थियो। ती प्रतियोगितामा नेपालले ५८ स्वर्ण, ४१ रजत र ३६ कांस्य गरी १४५ पदक जित्यो। जसमध्ये महिला खेलाडीले ४२ पदक प्राप्त गरे। जसमा १० स्वर्ण, २२ रजत र १० कांस्य समावेश छ। त्यसमा पनि कराते र तेक्वान्दो अग्रस्थानमा छन्। करातेले सर्वाधिक सात स्वर्ण, सात रजत र दुई कांस्य हात पारेको थियो। तेक्वान्दोमा भने सामान्य र पाराले समान एक स्वर्ण पाए। फुटबलमा पाँच रजत आएको थियो। त्यसमध्ये चार त सिनियर टोलीले नै हात पारेको हो। यसरी तथ्यांक केलाउने हो भने पुरुषले ७१ प्रतिशत र महिलाले २९ प्रतिशत पदक जितेको देखिन्छ।
२०८०/८१ मा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता अझ बढ्यो। सहभागितासँगै पदकको संख्या पनि उस्तै बढ्यो। २८१ खेलाडीले विभिन्न प्रतियोगितामा सहभागिता जनाउँदा नेपालले १०२ स्वर्ण, ९७ रजत र १०६ कांस्य गरी ३०३ पदक हात पारेको थियो। ३३ स्वर्ण, २९ रजत र ३८ कांस्य गरी १०० पदक त महिला नै ल्याएका हुन्। यो हिसाबले हेर्ने हो भने महिलाले ३३ र पुरुषले ६७ प्रतिशत पदक जितेका छन्।

एसियाली खेलकुदमा ऐतिहासिक रजत पदक विजेता एरिका गुरुङ
२०८१/८२ मा विभिन्न ३९ प्रतियोगितामा सहभागिता जनाउँदा नेपालले ५६ स्वर्ण, ५६ रजत र ६४ कांस्यसहित १७६ पदक ल्याएको छ। तीमध्ये ३१ स्वर्ण, १९ रजत र २२ कांस्य महिलाले नै थपेका हुन्। यसरी हेर्दा ४०.९२ प्रतिशत पदकमा महिला खेलाडीको पकड छ।
एसियाडमा ऐतिहासिक स्वर्ण ल्याएकी एरिका गुरुङ बढ्दै गएको आँकडाले महिला पनि अन्तर्राष्ट्रिय मञ्चमा कम नरहेको प्रमाणित गरिरहेको बताउँछिन्। “संख्यामा हामी कम छौँ होला, तर अन्तर्राष्ट्रिय मञ्चमा हाम्रो सहभागिता र सफलता कम्ताको छैन,” उनी भन्छिन्।
फुटबलमा महिलाको एकलौटी राज
नेपाली खेलकुदमा महिलाले मात्रै राज गरेको कुनै खेल छ भने त्यो महिला फुटबल नै हो। सन् १९८० को मध्यतिर मैदानमा पाइला चल्दै गर्दा नेपाली फुटबलले यति धेरै सफलता हात पार्ला भनेर सोचिएकै थिएन। त्यसअघि बरु पुरुष टोलीले दक्षिण एसियाली खेलकुद (साग)मा सन् १९८४ र १९९३ मा स्वर्ण ल्याएर एसियाली स्तरमै पुग्ने संकेत देखाएको थियो। त्यतिखेर महिला टोली भने संघर्षमै रुमल्लिरहेको थियो।
१४ डिसेम्बर १९८६ मा हङकङविरुद्ध पहिलो आधिकारिक अन्तर्राष्ट्रिय खेल खेलेको नेपालको महिला टोलीले सन् १९८६, १९८९ र १९९९ मा एसियाली कपको अन्तिम तीन चरणमा पनि भाग लिएको थियो। तर, समूह चरणभन्दा माथि कहिल्यै उक्लिन सकेन। नेपाल पूर्व च्याम्पियन थाइल्यान्ड, इन्डोनेसिया र हङकङसँगै दुई अपेक्षाकृत बलिया टोलीसँग कठिन समूहमा रहन्थ्यो। फलस्वरूप नेपालले तीनै प्रतियोगितामा फराकिलो हार बेहोरेको थियो। त्यतिखेर नेपालको सबैभन्दा सानो हार भनेकै हङकङविरुद्ध ३–० थियो।
नेपालको प्रथम महिला कप्तान रमा सिंह थिइन्। नेपाली महिला फुटबल टोली निर्माण हुँदा कमल थापा एन्फाका अध्यक्ष थिए। बागमती टोलीको प्रतिनिधित्व गर्ने सिंहले सन् १९८५ मा खेल्न थालेकी थिइन्। राष्ट्रिय टोलीकी दोस्रो कप्तान कमला हिराचन थिइन्। उनले गण्डकी टोलीको पनि प्रतिनिधित्व गरिन्। तेस्रो महिला कप्तान मीरा चौधरीले नारायणी अञ्चल टोलीको प्रतिनिधित्व गर्थिन्। सिंह पछि नेपाली टेलिभिजन इतिहासमा पहिलो समाचार वाचक बनिन् र चौधरीले नेपाल प्रहरीमा प्रहरी नायब उपरीक्षक (डीएसपी)को पद सम्हालिन्। तर, नेपाललाई पहिलो अन्तर्राष्ट्रिय गोल गर्न १४ वर्ष लाग्यो। सन् १९९९ मा फिलिपिन्समा आयोजित एएफसी महिला च्याम्पियनसिपमा उज्वेकिस्तानविरुद्ध पेमा लामाले गोल गरेकी थिइन्। त्यसयता सुस्त रहेको महिला फुटबलले सन् २०१० पछि भने फर्किएर हेर्न परेको छैन।
पदक त महिला खेलाडीले ल्याउँछन्, तर सरकार र संघले देख्ने खेल अझै पनि पुरुषकै हो। पुरुषका लागि फ्रेन्चाइजी प्रतियोगिता तीन वटा छन्। तर, महिलाका लागि एभरेस्ट महिला भलिबल लिग एक मात्रै हो।
सन् २०१० मा नेपाली महिला फुटबल टोली दुई उपविजेताको ट्रफी लिएर स्वदेश फर्किएको थियो। एउटा ११औँ दक्षिण एसियाली खेलकुद (साग) र अर्को दक्षिण एसियाली फुटबल संघ (साफ)का थिए। पुरुष टोलीको तुलनामा सीमित प्रशिक्षण, स्रोतसाधन र कम प्राथमिकताका बाबजुद पनि महिला टोलीले त्यहाँबाट अत्यन्तै राम्रो प्रदर्शन गर्न थाल्यो। चार फिट १० इन्च उचाइ भएकी स्ट्राइकर अनु लामाले महिला फुटबलको उचाइ झनै शिखरमा पुर्याइन्। उनले साफमा सबैभन्दा बढी २२ सहित ३५ अन्तर्राष्ट्रिय गोल गर्दै नेपाललाई चार पल्ट साफ र दुई पल्ट साग उपविजेता बनाइन्। अहिले नेपाली टोली दक्षिण एसियाको पावर हाउसका रूपमा चिनिन्छ। सातपल्ट साफ र तीनपल्ट सागको फाइनलमा पुगिसकेको छ। त्यस्तै, सन् २०१९ मा पहिलोपल्ट दक्षिण एसियाभन्दा बाहिर गएर खेल्दा पनि महिला गोल्डकप र नादेज्दा कपमा पनि नेपाल उपविजेता नै बनिसकेको छ।
पछिल्लो एक वर्ष त महिला टोलीको ‘हाइप’ चुलिएको छ। यो एक वर्षको अन्तरालमा टोलीले वाफ महिला च्याम्पियनसिप, साफ महिला च्याम्पियनसिप र घरेलु मैदानमै भएको अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनल खेलेको छ। तर, पुरुष टोलीलाई भने दक्षिण एसियालीस्तरको प्रतियोगिताको फाइनलमा पुग्न पनि ३८ वर्ष संघर्ष गर्नुपरेको छ। सन् २०२३ मा नेपाल पहिलोपल्ट साफको फाइनलमा पुगेको थियो। तर, भारतसँग ४–० ले पराजित भएयता यो टोली आफ्नो पहिचान फर्काउन सकेको छैन। यद्यपि, महिला टोलीलाई सन् २०२६ को एएफसी एसियन कप र २०३१ को फिफा विश्वकप खेल्न सक्ने बलियो दाबेदार टोलीका रूपमा हेरिएको छ। अनु भन्छिन्, “यो सबै हामीले गरेको मिहिनेतको फल हो। अझ पुरुष समान लिग, अन्तर्राष्ट्रिय प्रतियोगिता र लगानी हुन्थ्यो भने हामीले आफ्नो लक्ष्य पहिल्यै पाइसकेका हुन्थ्यौँ।”
संरचना र बजेट उपेक्षा
पुरुष खेलकुदमा सरकार र संघसंस्थाले लगानी गर्ने बजेटको तुलनामा महिला खेलकुदमा झिनो हिस्सा पुग्छ। महिला टोलीले प्रायः कम तलब, भत्ता र अभ्यासको समय पाउँछन्। राष्ट्रिय टोलीमा स्थान बनाइसकेका महिला खेलाडीहरूको पनि पारिश्रमिक असमान हुन्छ।
अहिले महिला फुटबल टोलीका खेलाडीहरूको पारिश्रमिक पुरुषसमान छ, १८ हजार रुपैयाँ। यो पनि प्रतियोगिता हुँदाको कुरा मात्रै हो। तर, क्रिकेटमा आकाश-पातालको फरक छ। क्रिकेटमा ‘ए’ श्रेणीका पुरुष खेलाडीले मासिक एक लाख रुपैयाँ बुझ्छन्। तर, त्यही श्रेणीका महिला खेलाडीलाई जम्मा ५० हजार रुपैयाँ थमाइन्छ। यी दुईबाहेक भलिबलमा पनि तलब दिने गरिन्छ। फुटबल र क्रिकेटको तुलना गर्नै सकिँदैन। अन्य खेलमा त १०० रुपैयाँ भत्ता पाउन पनि गाह्रो छ। योबाहेक महिला र अन्तर्राष्ट्रिय प्रशिक्षकको संख्या पुरुषसँग तुलना गर्न सकिने अवस्था छैन।

पेरिस ओलम्पिक्स २०२४ मा दौडिँदै सन्तोषी श्रेष्ठ
महिला फुटबलले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन थालेको चार दशकमा पहिलोपल्ट विदेशी प्रशिक्षक प्याट्रिक वाइल्डे पाएको छ। तर, यत्रो लामो इतिहासमा एक महिला प्रशिक्षक जन्माउन सकेको छैन। अझ क्रिकेटलगायत लोकप्रिय खेलमा महिला प्रशिक्षक अझै छैनन्। खेलकुदमा महिलालाई अप्ठ्यारो रहेको उसुकी प्रशिक्षक जुनी राई बताउँछिन्। “महिलाका लागि महिला प्रशिक्षक हुनुपर्छ। यात्रा गर्दा सजिलो हुन्छ। प्रशिक्षण गर्न र आफूलाई लागेको कुरा सुनाउन सजिलो हुन्छ,” उनी भन्छिन्।
तर, नेपालमा महिला प्रशिक्षक नै कम भएर होला, खेलकुदमा महिला आउनै चाहँदैनन्। नेपालबाहेक अन्य देशमा महिलाका लागि अभ्यास गर्ने स्थान र समय पनि फरक हुन्छ। तर, नेपाली खेलकुद अझै महिलामैत्री हुन सकेको छैन। नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान तथा स्ट्राइकर सावित्रा भण्डारी साम्बाको अनुभव छ- विदेशमा ड्रेसिङ रुमदेखि अभ्यास गर्ने मैदानसम्म फरक हुन्छ। तर नेपालमा सबै क्षेत्रमा विभेद रहेको उनले महसुस गरेकी छन्। भन्छिन्, “फ्रान्समा महिला र पुरुषको प्रशिक्षण गर्ने स्थल नै फरक छ। महिलाले प्रशिक्षण गर्ने स्थानमा पुरुष जाँदैनन्। त्यसैले गर्दा धेरै अभ्यास गर्न पाइन्छ। तर, नेपालमा त सबैले एकै ठाउँमा अभ्यास गर्नुपर्छ। त्यसैले कम समयले गर्दा पनि खेल्न गाह्रो हुन्छ।”
एकपछि अर्काे गरेर महिला खेलाडीले देशको नाम उँचो राख्न थालेपछि सरकारी पक्षको केही चासो बढेको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस आर्थिक वर्षको बजेट भाषणमै उत्कृष्ट महिला खेलाडीलाई विशेष पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन्। तर, उक्त पुस्कार के हो भन्ने खुलाएनन्। यस्तै, खेलकुदमा महिला सहभागिता बढाउन प्रशिक्षण तथा अभ्यास कार्यक्रम पनि चलाइने पौडेलले जानकारी दिएका छन्। तर, लागु कहिलेबाट हुने हो, यकिन छैन।
व्यवस्था परिवर्तन हुनुपर्छ : दीपक
पदक त महिला खेलाडीले ल्याउँछन्, तर सरकार र संघले देख्ने खेल अझै पनि पुरुषकै हो। पुरुषका लागि फ्रेन्चाइजी प्रतियोगिता तीन वटा छन्। तर, महिलाका लागि एभरेस्ट महिला भलिबल लिग एक मात्रै हो। तर, अहिले नेपाली महिला खेलाडीले अन्तर्राष्ट्रिय मञ्चमा हात पारेका उपलब्धि गौरवका विषय बनेका छन्। पलेशाको ओलम्पिक्स होस् वा एरिकाको एसियन गेम्स पदक, यी सबै उपलब्धि उत्सवझैँ मनाइन्छ। यो सफलतापछाडिको पीडादायी कथा र संघर्षलाई सरकार र खेल संघले उपेक्षा गरिरहेका छन्।
तर दुर्भाग्य, अहिलेको सन्देश पनि यही हो– जित्नुपर्छ तर खर्च खेलाडी आफैँले गर्नुपर्छ। यो अन्यायपूर्ण व्यवहार हो।
सहरमा बसेर सम्पूर्ण धन र लगन खर्चिएका खेलाडीले राष्ट्रलाई पदक दिलाउँछन्। तर, ती खेलाडीलाई टेवा दिने नीति, बजेट र योजना सरकारसँग छैन। ग्रामीण क्षेत्रका प्रतिभा खोज्ने कुनै रणनीति छैन। खोज्न जाने बजेट र खेलाडीलाई बोलाउन सक्ने स्रोत संघसँग छैन।
नेपाली राष्ट्रिय बक्सिङ टोलीका मुख्य प्रशिक्षक दीपक महर्जन महिला खेलाडीको वर्तमान अवस्था निकै नाजुक रहेको बताउँछन्। “अहिले पनि खेलाडीले आफैँ खर्च जुटाएर प्रशिक्षणमा आउनुपर्छ र खेल्नुपर्छ। तर, जितेपछि तालीभन्दा बढी केही पाउँदैनन्,” उनी भन्छन्।
नेपालमा तीन वटा विभागीय टोली नेपाल पुलिस, त्रिभुवन आर्मी र एपीएफले केही खेलाडीलाई जागिर दिएका छन्। तर, त्यो संख्या थोरै छ। त्यो पनि कडा प्रतिस्पर्धा र पहुँचबीच मात्रै सम्भव हुन्छ। ग्रामीण महिला, दलित, जनजाति वा पिछडिएको क्षेत्रबाट आएकाहरूका लागि भने यो सपनाझैँ हो।
युरोपतिर हेर्ने हो भने ओलम्पिक्स र विश्वस्तरीय प्रतियोगिताका लागि सरकार आफैँले प्रशिक्षण, होस्टेल, पोषण, शिक्षा सबै व्यवस्थापन गर्छ। नेपालमा यो ‘कल्चर’ उल्टो छ। यहाँ खेलाडी आफैँले भाडा तिर्छन्, खानाको बन्दोबस्त गर्छन्, अभ्यास गर्छन्। अनि पदक जितेपछि फेसबुक पोस्टमै सीमित सम्मान हुन्छ।
अर्कातर्फ महिला खेलकुदका नाममा थोरै कार्यक्रम हुन्छन्, भएका पनि देखावटी। योजनाविहीन संरचना र सहकार्यविहीन संघसंस्था अझै धेरै छन्। दीपक ठोकुवा गर्छन्, “अबको पाँच वर्षमा यिनै महिला खेलाडीले नेपालको खेलकुद थाम्छन्। तर, त्यो दिन आउनुअघि हामीले आजै व्यवस्थाको पिँढी बनाउनुपर्छ। खेलाडीलाई आश्वासन होइन, अवसर दिनुपर्छ।”
तर दुर्भाग्य, अहिलेको सन्देश पनि यही हो– जित्नुपर्छ तर खर्च खेलाडी आफैँले गर्नुपर्छ। यो अन्यायपूर्ण व्यवहार हो। नि:स्वार्थ पसिना बगाउने खेलाडीलाई राज्यले नदेख्ने, संघले वास्ता नगर्ने अनि जिते ताली बजाएर बिर्सने महिला खेलकुदको सार हो। जुन परिवर्तन गर्न आवश्यक छ।