२३ आश्विन २०८२
अ+
अ-

चितवन। चितवन राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको समूह आउन थालेको छ । पूर्वी नेपाल, चुरे क्षेत्र हुँदै समूहमा हात्तीहरु आउन थालेका हुन् ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसर अघिल्ला वर्षमा कात्तिकको अन्तिम सातामा आउने गरेको भए पनि यस वर्ष केही छिटो जङ्गली हात्तीका समूह निकुञ्ज प्रवेश गरेका हुन् । उनले भने, “चितवन राष्ट्रिय निकुञ्जमा अहिले तीन/चार वटा समूह आएको पाइएको छ ।” आठ÷१० वटाको समूहमा हात्ती आउने गरेका उनले बताए ।

निकुञ्जमा जङ्गली हात्ती विभिन्न क्षेत्रबाट आएकाले निकुञ्ज आसपास बसोबास गर्ने जनतालाई सतर्कता अपनाउन सूचना अधिकारी थापामगरले आग्रह गरे । यसरी समूहमा आएका हात्तीले धानबाली नष्ट गर्ने, घर टहरा भत्काउनेजस्ता कार्य गर्ने भएकाले रातको समयमा एक्लै नहिँड्न उनले आग्रह गरे । रातको समयमा सकेसम्म बाहिर नहिँड्न र हिँड्नै परे समूहमा टाढासम्म उज्यालोमा हिँड्न उनले आग्रह गरे ।

जङ्गली हात्ती आएमा नजिकको सुरक्षा निकाय वा निकुञ्जमा खबर गर्न सूचना अधिकारी थापामगरले आग्रह गरे । जङ्गली हात्तीलाई तर्साउन खोज्दा धनजनको क्षति हुनसक्ने उनको भनाइ थियो । निकुञ्जले हात्तीले दुर्घटना निम्त्याउन सक्ने भन्दै नेपाली सेनासहितको द्रुत प्रतिकार्य समूह (रेपिड रेस्पोन्स टिम) तयार गरेको छ । मानवीय क्षति हुनसक्ने अवस्था आएमा हवाई फायरसम्म गर्नसक्ने गरी टोली तयार गरिएको उनले जानकारी दिए।