काठमाडौँ। मन्त्रिपरिषद् बैठकले चारजना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीहरू सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालय श्रेष्ठ र डम्बरबहादुर विकलाई एआईजी बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चारमन्त्री जगदीश खरेलले बताए।
गृह मन्त्रालय बढुवा सिफारिस समितिको १३ असोजको बैठकले उनीहरूलाई एआईजी बढुवा गर्न सिफारिस गरेको थियो।
राठौर प्रहरी प्रधान कार्यालय प्रबन्ध महाशाखा, चतुर्वेदी मधेस प्रदेश प्रहरी कार्यालय, श्रेष्ठ अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल र विक सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत थिए।
एआईजी बढुवाको निर्णय मन्त्रिपरिषद्बाट अनुमोदन गर्नुपर्ने कानुनी प्रावधान छ। चार डीआईजीको बढुवासँगै उक्त दरबन्दी रिक्त भएको छ।