केन्द्रीय समितिले निर्वाचनमा जाने निर्णय गर्नुपर्ने जोड
नेपाली कांग्रेसको वर्तमान केन्द्रीय कार्यसमितिको म्याद थप नगर्ने तयारी भएको छ। सभापति शेरबहादुर देउवासहितका सम्पूर्ण पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई आसन्न महाधिवेशनबाटै बिदा गर्ने तयारी भएको हो।
जेन-जी आन्दोलनपश्चात् खण्डहर बनेको पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्मा, सहमहामन्त्रीद्वय बद्री पाण्डे, जीवन परियार, नेता अर्जुननरसिंह केसीलगायत पदाधिकारीहरूले मंसिरभित्र जुनसुकै हालतमा नियमित महाधिवेशन गर्नुपर्ने धारणा राखेका थिए।
बैठकमा महामन्त्री गगन थापाले मंसिरमा कसरी महाधिवेशन गर्न सकिन्छ भनेर प्रारम्भिक मस्यौदासमेत पेस गरेका थिए। “सामान्य अवस्थामा ६ महिना लाग्ने हो भने विशेष अवस्थामा दुई महिनाभित्र महाधिवेशन गर्न सकिन्छ भनेर महामन्त्री थापाले कार्यतालिकाको मस्यौदा नै प्रस्तुत गर्नुभयो,” बैठकमा सहभागी एक नेताले भने। महामन्त्री थापाले दोस्रो विकल्पको रूपमा पुरानै महाधिवेशन प्रतिनिधिबाट विशेष महाधिवेशन गर्न सकिने भन्दै पहिलो प्राथामिकता भने नियमित महाधिवेशन हुनुपर्ने बताएका थिए।
बैठकमा बोल्दै नेता शेखर कोइरालाले शीघ्र नियमित महाधिवेशन गर्नुपर्ने बताएका थिए। यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले मंसिरभित्र नियमित महाधिवेशन गर्नुपर्ने बताए। “नियमित महाधिवेशन मंसिर मसान्तभित्रै गर्न सकिन्छ। यसले सभापतिज्यूको बहिर्गमनलाई पनि सहज बनाउनेछ,” शर्माले भनेका थिए।
बैठकमा बोल्ने नेताहरूले महाधिवेशन तयारीका लागि रातदिन खट्नसक्ने नेतृत्व चाहिने र त्यसका लागि कार्यवाहकले त्यो गर्ने अथवा अरू कोही सिनियर नेताले संयोजन गर्ने भनेर टुंगो गर्नु उचित हुने बताएका थिए।
चुनावलाई प्राथमिकता
यस्तै २१ फागुनमा चुनाव गर्न सरकारलाई साथ र दबाब दिनुपर्ने पनि कुरा उठेको छ। महामन्त्री शर्माले प्रतिनिधिसभा विघटनलाई कार्यसम्पादन समितिले असंवैधानिक ठहर गरेको भन्दै अदालतले गर्ने संवैधानिक परीक्षण नै अन्तिम हुने बताएका थिए। “तर मेरो दृष्टिमा सबै राजनैतिक दलले चुनावमार्फत प्रणालीलाई ट्र्याकमा ल्याउने बाटो रोज्नु उत्तम हुनेछ र केन्द्रीय समितिको बैठकबाट महाधिवेशनको तयारी सँगसँगै निर्वाचनमा जाने निर्णय गर्नुपर्छ। सरकारलाई साथ र दबाब दिएर जानुपर्छ,” उनले बैठकमा भने।
बैठकपश्चात् सञ्चारकर्मीहरूसँग बोल्दै प्रवक्ता प्रकाशशरण महतले अशान्त वातावरणमा चुनाव हुन नसक्ने भन्दै सरकारलाई सचेत गराए। उनले चुनावका लागि शान्ति हुनुपर्ने बताउँदै देशमा अशान्ति फैलाउने काम सरकारबाटै भइरहेको आशय व्यक्त गरे।
सरकारले चुनावका लागि संवेदनशीलता नदेखाएको आरोप लगाउँदै उनले भने, “२४ गते अराजकता मच्चाउनेलाई गृह मन्त्र्तालयले नै कारबाही नगर भनेको छ। यसको आपत्ति छ। अशान्त वातावरणमा चुनाव हुन सक्दैन।”
महतले सरकारले अहिलेसम्म दलहरूसँग वार्ता नगर्नुले पनि सरकार कति गम्भीर छ भनेर देखाउने तर्क राखे।
प्रवक्ता महतले कांग्रेसमा कार्यवाहक सभापति तोकेर जाने विषयमा केही छलफल नभएको बताए। उनले केन्द्रीय समिति बैठकअघि पार्टीका नेताहरूको समान सोच विकसित होस् भनेर आज पदाधिकारी बैठक राखिएको बताए।