काठमाडौं। जेन-जी आन्दोलनको माग पूरा नभएको भन्दै बिहीबार माइतीघर मण्डलामा पुग्दा पक्राउ परेका निकोलस भुसाल (कमल)लाई सुधार केन्द्र पठाइने भएको छ।
भुसाललई बिहीबार दिउँसो माइतीघर मण्डलाबाट काठमाडौं प्रहरी परिसरको टोलीले नियन्त्रणमा लिएको थियो। भुसालको शारीरिक जाँच गर्दा लागुऔषधको मात्रा देखिएको परिसर प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवनकुमार भट्टराईले बताए।
“स्वास्थ्य परीक्षण गर्दा उहाँमा लागुऔषध गाँजा सेवन गरेको पाइएको छ,” भट्टराईले नेपालन्युजसँग भने, “उहाँको परिवारसँग कुरा भइरहेको छ, उहाँ पहिले पनि सुधार केन्द्रमा बस्नुभएको रहेछ।” उनलाई कुन सुधार केन्द्रमा पठाउने भन्नेबारे परामर्श भइरहेको भट्टराईले बताए।
माइतीघर क्षेत्रबाट प्रहरीले २६ जनालाई बिहीबार नियन्त्रणमा लिएको थियो। जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुमतिबेगर जुलुश र सभा गर्न पुगेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
“सबैको शारीरिक परीक्षण गर्यौं, भुसालले लागुऔषध सेवन गरेको देखियो,” भट्टराईले भने।
भुसाल यसअघि साइबर सम्बन्धी कसुरमा पक्राउ परेका थिए। कास्की प्रहरीको हिरासतमा रहेका बेला सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको फोटो खिचेर सार्वजनिक गरेको आरोपमा भुसाल पक्राउ परेका थिए।
भुसाल जेन-जी आन्दोलनको माग पूरा नभएको भन्दै समूह लिएर बिहीबार माइतीघर पुगेका थिए। सामाजिक सञ्जालहरूमा बिहीबार माइतीघर जान भनी उर्दी जारी गरिएको थियो।
जेन-जी समूहहरूले बिहीबारदेखि काठमाडौंमा आन्दोलन गर्ने चेतावनी दिएका थिए। गृह मन्त्रालयले बुधबार बेलुका वार्ता र संवादमार्फत् समाधान खोज्न आग्रह गरेपछि जेन-जीहरूले आन्दोलन स्थगित भएको बताएका थिए।
यही मौकामा माइतीघरमा अन्य व्यक्तिहरू बिहीबार बिहानैदेखि भेला हुन थालेपछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको थियो।