२३ आश्विन २०८२
अ+
अ-

चितवन। आँखाको दृष्टि जोगाउन निजयमित परीक्षण आवश्यक रहेको चिकित्सकले बताएका छन् । नियमित आँखाको परीक्षणले आँखामा हुने समस्या पहिचान गर्न सकिने भएकाले दृष्टि जोगाउन सहज हुने नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालकी डाक्टर कुमुदिनी सुवेदीले बताइन् ।

विशेष गरी बच्चाहरुको आँखामा थाहा नै नभइ दृष्टि कमजोर हुने गरेकाले उनीहरुको आँखा परीक्षण समयमानै गर्नुपर्ने हुन्छ । समयमानै आँखाको परीक्षण गरेर चस्माको प्रयोग गर्न सकेमा दृष्टि जोगाउन सकिने उनले बताए । आँखामा हुने मोतियाविन्दु, मधुमेह, जलविन्दु जस्ता समस्याले आँखाको दृष्टि गुम्ने भएकाले यी रोग पत्ता लगाउनका लागि पनि नियमित परीक्षण आवश्यकपर्ने हुन्छ ।

नेपालीहरुमा ० दशमलब ३५ प्रतिशत दृष्टिविहीन रहेको बताउँदै उनले यसलाई सानै उमेरमा उपचार गर्न सके अन्त्य गर्न सकिने बताए । ३ प्रतिशितले विभिन्न कारणले दृष्टि गुमाउने गरेको उनले जानकारी दिए । पछिल्लो समय मधुमेह भएका व्यक्तिमा आँखाको परीक्षण गर्नुपर्ने हुन्छ । मधुमेहले आँखाको रेटिनामा आक्रमण गरी दृष्टि गुमाउने गरेको उनले बताए ।

चालीस वर्ष कटेपछि सबैले नियमित आँखाको परीक्षण गर्नुपर्ने उनको सुझाव छ । “यो उमेर कटेपछि जलविन्दुको समस्या बढी देखिने गर्दछ ।” उनले भने । उमेर बढेपछि मोतियाविन्दुको समस्या बढ्ने गर्दछ । यसका लागि पनि नियमित परीक्षण आवश्यक हुने गरेको उनले बताए । दृष्टि जोगाउनका लागि आफ्नो आँखाको माया गर्नुपर्ने हुन्छ । जसले गर्दा समयमानै रोग पत्ता लागेमा उपचारको माध्यमबाट दृष्टि जोगाउन सकिने सुवेदीको भनाइ छ । आँखाको नानिमा हुने समस्यालाई सामान्य रुपमा लिन नसकिने उनले बताए । यसले गर्दा आफ्नो संसार नै अध्यारो बन्न सक्ने उनको भनाइ छ ।