काठमाडौँ। नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले कांग्रेस कमजोर भएको बेला विशेष महाधिवेशनको नाममा पार्टीलाई थप कमजोर बनाउन नहुने बताएका छन्।
पार्टीको नियमित महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्न सकिने भन्दै उनले विशेष महाधिवेशनमा जादा पार्टी थप कमजोर हुने बताए। बिहीबार विहान उपसभापति पूर्णबहादुर खड्का सहितका आधार दर्जन बढी केन्द्रीय सदस्यहरूसँग भएको छलफलमा उनले राज्यलाई कमजोर बनाइएको बताए।
सिंहदरबार‚ अदालत‚ संसद् भवन जस्ता संचरना जलाएर सिङ्गो देशलाई कमजोर बनाइरहेको अवस्थामा कांग्रेस एकजुट हुनुको विकल्प नरहेको उनले बताएका थिए। बैठकमा सहभागि केही नेताले विशेष महाधिवेशनको कुरा उठाएपश्चात् जंगिएका सिटौलाले भने-“यतिबेला देश कमजोर भएको छ। शेरबहादुर देउवालाई मात्र होइन सिङ्गो पार्टीमाथी प्रहार भएको छ। विशेष महाधिवेशनको नाममा पार्टी कमजोर बनाउन मिल्दैन।”
सिटौलाले पार्टीभित्र हाल आन्तरिक एकता चाहिएको भन्दै सबैको मनोवल बढ्ने गतिविधि गर्न आवश्यक भएको पनि बताएका थिए। “जबजब कांग्रेस कमजोर हुन्छ तब देशमा यस्तो अवस्था आइपर्छ। त्यसैले पार्टीलाई कमजोर हैन बलियो बनाउन लाग्नुपर्छ‚” सिटौलाको भनाई उधृत गर्दै ती नेताले भने।