कामविहीन हुँदा पनि म्यानपावर कम्पनीले नटेरेपछि प्रधानमन्त्रीसँग हारगुहार
वैदेशिक रोजगारीको सपना बोकेर दुबई पुगेका सर्लाही बलरा नगरपालिका–८ का ४२ वर्षीय सुरेश कुशवाहासहित १४० जना नेपाली दुई महिनादेखि कामविहीन छन्। कुशवाहालाई काठमाडौँ सामाखुसीस्थित रोयल म्यानपावर कम्पनीमार्फत ३१ जुलाई २०२५ मा दुबई पुर्याइएको थियो। दुबईस्थित नेसनल प्रोजेक्ट सर्भिसमा फलाम जोड्ने काममा राखिने भन्दै म्यानपावरले एक लाख ७५ हजार रुपैयाँ लिएको थियो।
खानेबस्ने सुविधासहित महिनाको ४२ हजार रुपैयाँ कमाइ हुने भनी उनलाई म्यानपावर कम्पनीले सपना देखाएको थियो। दुबई पुगेपछि भने कुशवाहा ‘कामविहीन’ भए। “दुई महिनाभन्दा बढी भयो, काम छैन, तलब छैन,” कुशवाहा भन्छन्, “कम्पनीले खाना खर्च भनेर कहिलेकाहीँ १०–२० रुपैयाँ पठाउँछ, बाँकी घरबाटै मगाएर छाक टार्नुपरेको छ।”
यसअघि वैदेशिक रोजगारीमा साउदी, मलेसिया र कतार गएर फर्केका कुशवाहा दुबई जाने निधो गर्दै असार महिनामा काठमाडौँ आएका थिए। सामाखुसीमा उनका साथी थिए। साथीले त्यहाँको मास ओभरसिज पुर्याए। “यहाँ डिमान्ड छैन भन्दै मास ओभरसिजले रोयल म्यानपावर देखायो,” कुशवाहा भन्छन्, “प्रक्रिया पूरा गरेर दुबई आइयो, तर यहाँ आइपछि दु:खका दिन सुरु भए।”
कुशवाहा अहिले दुबईको मुसप्फाह-१५ मा बसिरहेका छन्। उनलाई नेसनल कम्पनीले मुसफ्फाहस्थित कोठामा राखेको छ। उनीसँगै अहिले २२ जना नेपाली बसिरहेका छन्। दुबई पुगेपछिको दुई महिना १० दिनसम्म बित्दा उक्त कम्पनीले काम दिएको छैन। “खाना खर्च भनेर कहिलेकाहीँ १०-२० रुपैयाँ दिन्छ,” उनी भन्छन्, “काम नभएकाले तलब पनि दिएको छैन, यसरी कति दिन बिताउनुपर्ने हो, टुंगो छैन।”
दुई महिना नाघ्दासमेत काम नपाएपछि कुशवाहाको परिवारमा चिन्ता बढेको छ।
कुशवाहाका श्रीमती र छोरा छन्। बुवाआमा बितिसकेका कुशवाहा परिवारका तीन जना नेपालमा खेतीपाती गरेर जीविकोपार्जन गर्न मुस्किल भएपछि विगत १५-१६ वर्षदेखि वैदेशिक रोजगारीको भरमा बाँचिरहेको छ।
दुबई पुगेर कामविहीन बनेका कुशवाहा एक्ला होइनन्, उनीसहित १४० जना नेपाली मुसफ्फाहमा छन्। उनीहरूलाई काठमाडौँको रोयल, श्रीशा र टेस्ला म्यानपावर कम्पनीले दुबई पठाएका थिए। उनीहरूलाई कार्पेन्टर, प्लम्बर, वेल्डिङको काममा लगाइदिने भनी म्यानपावर कम्पनीले दुबई पुर्याएका थिए। कामविहीन भएकामध्ये सबैभन्दा बढी रोयल र टेस्ला म्यानपावरले पठाएका नेपाली छन्। श्रीशाका कम छन्। उनीहरूलाई अलग ठाउँ मुसफ्फाह-१५ र मुसफ्फाह-२६ मा राखिएको छ। “काम नपाएपछि हामीले म्यानपावरसँग कुरा गर्यौँ,” कुशवाहा भन्छन्, “काममा लगाइदिन्छु भन्दै म्यानपावरले टारिरहेको छ।”
एक साता दुई साता गर्दै दुई महिना बित्दासमेत म्यानपावरले काममा नलगाएपछि उनीहरूले दुबईस्थित नेपाली दूतावास गुहारे। चार दिनअघि दूतावासका प्रतिनिधि उनीहरूलाई भेट्न गएका थिए। “दूतावासका प्रतिनिधिले काममा चाँडो लगाउन र तलबसमेत दिन कम्पनीलाई निर्देशन दिएको छ,” कुशवाहा भन्छन्, “तर, कम्पनीले चासो देखाएको छैन।”
विमानस्थलमा लिन आएर कम्पनीका प्रतिनिधिले कोठासम्म पुर्याएपछि खोजीनिती गरेका थिएनन्। “हाम्रो सम्पर्कमै नआउने, खाना खाने पैसा भने १०-२० रुपैयाँ पठाइदिने गर्छन्,” कुशवाहा भन्छन्, “घरबाट पैसा मगाएर बिहान-बेलुकाको छाक टार्नुपरिरहेको छ।”
दुई महिना नाघ्दासमेत काम नपाएपछि कुशवाहाको परिवारमा चिन्ता बढेको छ। “बरु नेपाल फर्काइदिनु भन्दा काम पाइहालिन्छ, किन आत्तिनुहुन्छ भन्दै म्यानपावरले रोकिरहेको छ, अल्झाइरहेको छ,” कुशवाहा भन्छन्, “यता कम्पनीले काममा लगाएको छैन।”
नेपाली युवालाई दुबईको नेसनल कम्पनीमा पुर्याउनेमध्ये टेस्ला म्यानपावरका निर्देशक विनोद विष्टले त्यहाँ श्रम समस्या रहेको स्विकार्छन्।
उनले १४० जना नेपालीका तर्फबाट काममा लगाइदिन, अन्यथा सकुशल नेपाल फर्काइदिन प्रधानमन्त्री सुशीला कार्कीसँग अनुरोध गरे। “हामी आउँदा राजनीतिक दलको सरकार थियो, नेपालमा आन्दोलनपछि नयाँ सरकार गठन भएर सुशीला कार्की प्रधानमन्त्री हुनुहुन्छ, उहाँसम्म यो कुरा पुर्याइदिनुहोला,” कुशवाहाले नेपालन्युजसँग बिन्ती बिसाए।
ती नेपालीले म्यानपावरमा एक लाख ७५ देखि दुई लाख २० हजार रुपैयाँसम्म बुझाएका थिए। नेपालमा ऋण काढेर दुबई गएका उनीहरू कामविहीन हुँदा तनावमा छन्। कतिपय युवाले सामाजिक सञ्जालमा भिडिओ बनाएर आफ्नो समस्या सार्वजनिक गरेका छन्। कम्पनीले पासपोर्टसमेत जफत गरेर राखेको जानकारी दिएका छन्। उनीहरूले कम्पनीका व्यक्तिहरू सम्पर्कमै नआएको बताएका छन्। उनीहरूले कामविहीन अवस्थामा नेपाल फर्काइदिन सरकारसँग अनुरोध गरेका छन्।
नेसनल कम्पनी अबुधावीमा रहेको एउटा ठूलो निर्माण कम्पनी हो। यसले ठूला पूर्वाधार परियोजनाहरूमा काम गर्छ। रोयल म्यानपावरका निर्देशक जनकलाल बास्तोला अहिले दुबई नै गएका छन्। उनीसँग कुरा गर्न नेपालन्युजले सम्पर्क गर्दा उक्त म्यानपावरका एक कर्मचारीले बास्तोला कार्यालयको कामको सिलसिलामा दुबई गएको जानकारी दिए। बास्तोलाले शुक्रबार कामविहीन युवालाई भेटेका छन्।
नेपाली युवालाई दुबईको नेसनल कम्पनीमा पुर्याउनेमध्ये टेस्ला म्यानपावरका निर्देशक विनोद विष्टले त्यहाँ श्रम समस्या रहेको स्विकार्छन्। दूतावास र कम्पनीसँग समन्वय गरेर समस्या समाधान गर्न लागिपरेको उनको भनाइ छ। “दुबईमा पुगेपछि हाम्रो म्यानपावरबाट गएका युवाले बिमा, लेबर, स्वास्थ्य, इमिरेट्स कार्ड नबनीकन आन्दोलन गरेपछि समस्या देखिएको हो, हामी समाधान गर्न लागिरहेका छौँ,” विष्ट भन्छन्। विष्ट शुक्रबारदेखि कम्पनीले तलब बाँड्न सुरु गर्ने र १५ दिनभित्र युवालाई काममा लगाइदिने आश्वासन दिन्छन्। “हामीले गल्ती गरेका होइनौँ, कम्पनीले धोका दियो,” विष्ट भन्छन्।
श्रीशा म्यानपावरका सञ्चालक जय साह कामको सिलसिलामा मलेसिया गएको त्यहाँका कर्मचारीको भनाइ छ। कर्मचारी राजकिशोर सिंह आफूहरूको म्यानपावरबाट २५ जना गएकामा धेरैजसो इमिरेट्स कार्ड पाएर काममा लागिसकेको जनाउँछन्। “जजसको कार्ड बनेको छैन, प्रक्रियामा छ, उनीहरूलाई खान-बस्न कम्पनीले अग्रिम पैसा दिएको छ,” उनी भन्छन्, “रोयल र हाम्रो कम्पनीबाट दुबईमा मानिस पठाइएको छ, श्रमको समस्या हल गर्ने प्रयास भइरहेको छ, हामीले पठाएका व्यक्तिहरूसँग नियमित कुराकानी भइरहेको छ।”