काठमाडौं। जेन-जी आन्दोलनलाई लिएर संस्था र नेतृत्वलाई जोडेर टीकाटिप्पणी गरिएको भन्दै नेपाली सेनाले ध्यानाकर्षण गराएको छ।
सैनिक मुख्यालयले शुक्रबार विज्ञप्ति जारी गरी सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत् टीकाटिप्पणी भएको भन्दै ध्यानाकर्षण भएको जनाएको हो।
“नेपाली सेनाले आफ्नो धारणा र गतिविधि नियमित रूपमा प्रेस विज्ञप्ति, नोट र आधिकारिक सामाजिक सञ्जालबाट सार्वजनिक गर्दै आएको तथ्य समेत जानकारी गराउँछौं,” विज्ञप्तिमा भनिएको छ।
हालको संवेदनशील अवस्थामा सेना सम्बन्धी जानकारी लिन जनसम्पर्क तथा निर्देशनालयमा सम्पर्क गरी यथार्थ सूचना सम्प्रेषण गर्न सेनाले अनुरोध गरेको छ।
“भदौ २३ र २४ गतेको विषम परिस्थितिलाई सामान्यीकरण गर्ने सम्बन्धमा नेपाली सेनाले बहन गरेको भूमिका प्रति विद्वतवर्ग, समाजसेवी, सञ्चारकर्मी तथा आम नागरिकहरूबाट प्राप्त भएका विभिन्न रायसुझाव तथा समालोचनात्मक अभिव्यक्ति प्रति हार्दिक आभार व्यक्त गर्दछौँ। आन्तरिक सुरक्षामा पर्न सक्ने असरलाई वस्तुपरक ढंगले मूल्याङ्कन गरी छिटो भन्दा छिटो शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ नेपाली सेनाले आवश्यकता अनुसार पहलता लिएको अवगत गराउन चाहन्छौँ,” सेनाले भनेको छ।
