काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

साताको सट

२५ आश्विन २०८२
अ+
अ-

बिहानको मधुरो घामसँगै बौद्धनाथ स्तूप परिसरमा चहलपहल सुरु भइसक्छ। स्तूपको फन्को मारिरहेका श्रद्धालु, प्रार्थनाका स्वर र धूपको बास्नाले शान्तिको महक छरिरहेको हुन्छ।

स्थानीय वृद्धवृद्धादेखि भिक्षुभिक्षुणीसम्म अक्षमाला लिएर मन्त्र जप्दै स्तूप परिक्रमा गर्छन्। यी सबै शान्त–सौम्य दृश्य खुब चाखका साथ अवलोकन गरिरहेका हुन्छन्, स्तूपको वरिपरि कफीको चुस्की लिँदै गरेका विदेशी पर्यटक।

आफ्नो दैनन्दिन काममा हिँडेकाहरू पनि त्यही भिडमा देखिन्छन्। कोही पसिना बगाउँदै मजदुरी गर्नेहरू हुन्छन्, कोही ज्यान छरितो पार्न दौडिएर पसिना बगाउनेहरू हुन्छन्। अर्थात् श्रद्धा, श्रम र जीवनको चहलपहल। चीवरमा देखिने भिक्षुहरू र अत्यावश्यक सामग्री ढुवानी गरिरहेका श्रमिकको एकै ठाउँमा जमघटले बौद्ध स्तूपको आध्यात्मिक शान्ति र काठमाडौँको श्रमजीवी जीवनको अन्तरसम्बन्ध झल्काउँछ।

टाढाबाट सुन्न सकिने घण्टी र प्रार्थनाले स्तूप क्षेत्रमा शान्तिको कोमल वातावरण सिर्जना गर्छ, जसले प्रत्येक आगन्तुकलाई टक्क रोकिन र आफैँभित्र फर्केर हेर्न सन्देश दिइरहेझैँ लाग्छ।

यो स्तूप युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत छ। शताब्दीयौँको इतिहास बोकेको स्तूप आज पनि काठमाडौँको मुटुमा शान्ति र श्रद्धाको प्रतीक बनेर उभिएको छ।