सात सवाल
सुबिन भट्टराई नेपालकै सर्वाधिक पढिने लेखकमध्येका हुन्। समर लभ उपन्यासबाट चर्चा कमाएका उनका साया, मनसुन, प्रिय सुफी र इजोरिया उपन्यास प्रकाशित छन्। कथाकी पात्र कथासंग्रहबाट साहित्यिक यात्रा सुरु गरेका उनको नयाँ कथासंग्रह चमेलीको फूल बैजनी रुमाल ३१ असोजमा सार्वजनिक हुँदै छ।
लेखनबाहेक भट्टराई पदयात्राका सोखिन हुन्। पदयात्राले दिने ऊर्जाले जीवन सहज बनाउनुका साथै सिर्जनशील बन्न पनि सहयोग पुगेको उनको भनाइ छ।
तपाईंलाई मन पर्ने पदयात्रा गन्तव्य कुन हो?
काठमाडौँनजिकैको चिसापानी जहाँ म हरेक वर्ष दुईपटकसम्म पुगेकै हुन्छु। गन्ती नै त गरेको छैन, तर २५ पटकभन्दा बढी पुगिसकेँ होला।
चिसापानी नै किन?
घना जंगल, गाउँ, उकालो-ओरालो समथर सबै खालका बाटो हिँड्न पाइन्छ, त्यसैले।
चिसापानीको सौन्दर्यलाई वर्णन गर्नुपर्यो भने?
अद्भुत, ताजगीले भरिपूर्ण र गहिरो।
चिसापानी यात्राको सबैभन्दा स्मरणीय घटना?
पुसको जाडोमा एक वर्षको छोरा बोकेर चिसापानी जाने आँट गर्नु र सकुशल ल्याउनु।

पदयात्राका क्रममा झेल्नुपरेको सबैभन्दा अप्ठ्यारो क्षण?
एकपटक चिसापानीबाट फर्किंदा जंगलमै हावाहुरी र वर्षाको आतंकमा घन्टौँसम्म फसेको सकस सम्झेर अहिले पनि झस्किन्छु।
चिसापानीको बाटोमा हिँडिरहँदा आफूलाई अरू बेलाभन्दा के कुरामा फरक पाउनुहुन्छ?
त्यो सुबिन थोरै थकित, धेरै निस्फिक्री र केही स्वस्थ (विशेष मानसिक हिसाबले) महसुस गरिरहेको सुबिन हुन्छ जो आफ्नै धड्कन मात्र सुनिरहेको हुन्छ।
चिसापानीबाट फर्कंदा के लिएर आउनुहुन्छ?
काठमाडौँ खाल्डोमा जे-जति तनाव पालेर बसिन्छ, त्यो सुन्दरीजलभन्दा मास्तिर लगिन्न। फर्कंदा एउटा योजना लिएर आउँछु, अर्कोचोटि चिसापानी फेरि कहिले र कोसँग आउने भनेर।