काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

परिकार

मुखमा एक टुक्रा मासु हाल्दा काँचो तोरी तेलको राग झ्याप्पै नाकमा पर्‍यो। मोलेको गिदीको मलाईदार किसिमको स्वादलाई जिब्रोले स्पर्श गरिरहेको थियो। पिरो र नुनिलोले स्वादिलो अनुभूति पनि भइरहेको थियो।

२५ आश्विन २०८२
कचमौली। तस्बिर : राजेश घिमिरे
अ+
अ-

काठमाडौँ वसन्तपुरको कुमारी घरपछाडिको गल्लीमा तीन वटा टेबल भएको इनार खाजा घर। श्रीमान् चाहिँ काउन्टरपछाडिको सानो भान्छामा मम पकाउने तयारी गर्दै थिए। श्रीमती टेबलमा पीठो बेल्दै थिइन्। उनका यन्त्रवत् हातहरू बेलिएका पीठोमा किमा हाल्दै मम बनाउँदै थिए। उनको जादुझैँ लाग्ने यी क्रियाकलाप नियालेर हेर्दै थिए- नेपाली खानालाई संसारभर चिनाउन प्रयत्नरत दुई सेफ; अमेरिकामा कार्यरत विक्रम वैद्य र बेलायतमा कार्यरत विनोद बराल। यसैबीच विक्रम दाइले आदेश दिनुभयो- यहाँको कचिला खुब मिठो छ।खाएर हेर भाइ।

छोयला चिउरामा रमाइरहेको मुखलाई पानीले पखालेर एक चम्चा कचिला मुखमा हालियो। साँच्चै गजब थियो। मुखमा आफैँ पग्लेर गयो। चपाउनै नपर्ने गरी। त्यसपछि एकपछि अर्को चम्चा मुखमा जान थाल्यो। कचिला मुखमा हाल्नेहरूको अनुहारमा अद्भुत चमक देखिन थाल्यो। अनि त सामाजिक सञ्जालका स्वघोषित इन्फ्लुयन्सरको स्वास्थ्य प्रवचनले डराएका केही साथीले पनि आफ्नो हातलाई रोक्न सकेनन् र धमाधम कचिलाको स्वाद लिन थाले।

साँच्चै अद्भुत थियो कचमौलीको स्वाद। मुखमा एक टुक्रा मासु हाल्दा काँचो तोरी तेलको राग झ्याप्पै नाकमा पर्‍यो।

केही क्षणमा नै रिकापीको कचिला चैट भयो। अनि सुरु भयो- काँचै मासु खाने संस्कृतिको चर्चा। मसिनो बनाएर काटेको वा पिनेको काँचो मासुलाई सानो खाले प्याज, अमिलो हुने केपर्स, पार्सली, वोस्टरसायर सस र सर्स्युंको ससलगायत मसला मिसाएर त्यसमाथि काँचो अन्डाको पहेँलो भाग राखेर खाइने पारम्परिक फ्रान्सेली परिकार टाटारसँग कचिलाको तुलना पनि भयो। दक्षिण अमेरिकी देश पेरुको सिभिचेको कुरा भयो। काँचो माछाका टुक्रालाई पिरो खुर्सानी, नुन र कागती अमिलोमा मलेर खाइने सिभिचे नेपाली जिब्रो सुहाउँदो खाना भनेर चर्चा पनि गरियो। चर्चैचर्चामा मुला वासावी र सोयासससँग खाइने काँचो माछा वा अन्य समुद्री जीवजन्तुका टुक्राको जापानी परिकार सासिमीका कुरा पनि भए।

केही दिनपछि हामी एक हुल साथी कामविशेषले अछामको रामारोशन यात्रामा थियौँ। कर्णाली राजमार्गको चिप्ला सडकमा कुद्दै गर्दा नेपाली खानाबारे कुरा हुन थाल्यो। फेरि कचिलाको कुरा आयो। डोटीका पत्रकार साथी विमल विष्टले भन्नुभयो, ‘कचिलाजस्तै परिकार हाम्रोमा पनि छ। तर, त्यो राँगाको मासुको चाहिँ हैन। खसी मासुको बन्छ।’

अछामका पत्रकार साथी दिनेश केसीले थप्नुभयो, ‘कचमौली भन्छन् दाइ, त्यसलाई। खसी काट्दा पोल्ने चलन छ हाम्रातिर। पोल्दा त्यसको कलिलो भाग पाकिसकेको हुन्छ। तिनै कलिलो भागलाई ससाना टुक्रा बनाउने र मरमसालामा मोलेर खाने हो।’ विमलले थप्नुभयो, ‘तोरी तेल नभए कहाँ बन्छ र कचमौली? तेल यहीँको तोरी पेलेर निकालेको हुनुपर्छ।’

गाडीमा कचमौलीको चर्चा सकिएन। चर्चा यति धेरै भयो कि कचमौली नखाईकन अछामबाट नझर्ने निधो नै गरियो। बजारमा किन्न नपाइने, बिहानदेखि बेलुकासम्म काममा कुदेकोकुद्‌यै गर्न पर्ने यस टोलीलाई कचमौली कसले बनाइदिने? तै विमलले मंगलसेनमा सम्पर्क सूत्र खोज्नुभयो। बिहानै फोन गरेर ५/६ जनालाई पुग्ने कचमौली हुने खालको खसीको कमलो मासु र गिदी तयार गरिदिन अनुरोध गर्नु भयो। अनि भन्नुभयो, ‘आज राति १० बजे भए पनि कचमौली खाने है।’ टोलीका सबैभन्दा कान्छा पत्रकार साथी केसीलाई विमलले भन्नुभयो, ‘भरे म मासु बनाउँछु, तिमी मसला बनाऊ।’

अचेल भने कचमौलीको आधुनिकीकरण सुरु भएछ। सामान्यतया गिदी मिसाउन छाडिएछ। एक किसिमले पोलेको मासुलाई साँधेको जस्तो हुन थालेको रहेछ।

मंगलसेनमा आतिथेय घरमा पुग्दा झमक्कै साँझ परिसकेको थियो। कुरेर बस्नुभएको रहेछ। नबिग्रियोस् भनेर फ्रिजमा राखिएको मासुलाई दाउरा बालेर सेकसाक गर्न थालियो। ससाना टुक्रामा काट्न थालियो। सँगै सिलौटामा थोरै जिराधनियाँ र नुन अनि टन्न हरियो खुर्सानी हालेर लसलस पार्दै दिनेशले मसला पिस्नुभयो। लसुनका पोटी चिरा पारियो। अब साँध्ने बेला भयो। मरमसला हालेपछि काँचो तोरी तेल हालियो। अनि आधाजस्तो पाकेको गिदीलाई पनि त्यसैमा हालियो र मजाले मल्न थालियो। केही बेर मोलेपछि एक टुक्रा चाखेर विमलले घोषणा गर्नुभयो, ‘ल। तयार भयो।’

साँच्चै अद्भुत थियो कचमौलीको स्वाद। मुखमा एक टुक्रा मासु हाल्दा काँचो तोरी तेलको राग झ्याप्पै नाकमा पर्‍यो। मोलेको गिदीको एउटा मलाईदार किसिमको स्वादलाई जिब्रोले स्पर्श गरिरहेको थियो। अनि पिरो र नुनिलोले स्वादिलो अनुभूति पनि भइरहेको थियो।

रात परिसकेकाले अलि हतार पनि भएकाले होला, चौटा अलि ठूला भएछन्। अंग्रेजीमा मिडियम रियर भनिने खालको, भित्र अलि काँचो तर बाहिर पाकेको अवस्थामा थिए चौटा। मासुको भित्री भागले पनि लगभग ५७/५८ डिग्रीको तापक्रम पार गरेकाले ब्याक्टेरिया मरिसकेको लाग्यो। मीठो पनि थियो। तर सहरिया पेटलाई नपच्ला कि भन्ने डर भने लागेकै थियो। ‘हाम्रोतिर एक बसाइमा एक किलोजति कचमौली खाने पनि छन्’ भन्दै साथीहरूले हौसाएपछि एक कचौरा त खाइयो। सबैलाई धन्यवाद दिइयो।

अचेल भने कचमौलीको आधुनिकीकरण सुरु भएछ। सामान्यतया गिदी मिसाउन छाडिएछ। एक किसिमले पोलेको मासुलाई साँधेको जस्तो हुन थालेको रहेछ। महाकालीपारि त हरिया स्याउला मिसिएको दाउरामा आगो बालेर सिंगो बाख्रा (वा भेडा) पोलिँदो रहेछ। अनि हड्डीबाट मासु निकालिन्छ र बेसार, खुर्सानी, नुन र प्रशस्त मात्रामा तोरीको तेलमा हालेर बनाइँदो रहेछ। चाडपर्वमा अनिवार्यझैँ बन्न थालेको रहेछ। हुन त कालीपारिका केहीले हरियो खुर्सानी, नुन र तेलमा साँधेर बनाइएको फलफूल वा काँक्रैलाई पनि कचमौली भन्न थालेका रहेछन्।

फ्रिजमा राखिएको मासुबाट बनाइएको भए पनि सुदूरपश्चिमको कचमौलीको स्वाद जिब्रोमा धेरै समयसम्म झुन्डिरहेको थियो। एकदिन कञ्चनपुरको बेदकोट नगरपालिका, धरमपुर गाउँको एउटा दोकानमा चियाका लागि अनुरोध गर्दै थिएँ। दोकानसँगै बारीको पाटोमा केही युवा खसी बनाउँदै थिए। साथीहरूलाई पनि त्यही कुर्नु थियो।

अचानक एक युवा एउटा सालको पातमा केही राखेर अगाडि आए अनि भने, ‘चाख्नु न।’ अतिथि सत्कारको त्यो रूपलाई नाइँ भन्ने अवस्था थिएन। आँखैले सोधियो, ‘के हो?’ उनले भने, ‘कचमौली।’ मसिना मासुका टुक्रा मंगलसेनमा विमलजीले साँधेको जस्तै तर स्वाद चाहिँ गजब।

अनि त के चाहियो, चिया गोली मारियो र कचमौलीको स्वादसँगै एकालाप गरियो- यही गाउँले मौलिक स्वाद त हो हाम्रो आफ्नो स्वाद भनेको। प्रवर्द्धन गरिनुपर्ने पनि यसैलाई त हो।