टिपोट
यहीबेला प्रदर्शनकारी र प्रहरीबीच भिडन्त भयो भने के होला? सम्झेर मात्र पनि मन चिसो भएर आयो। मेरो आँखामा १५ चैतमा राजावादीको आन्दोलनमा मारिएका पूर्वसहकर्मी सुरेश रजक घुमिरहेका थिए। यसपटकको अवस्था त झन् भयानक हुँदै थियो।
सोमबार, २३ भदौको त्यो बिहान। ९ बजेदेखि नै माइतीघरमा कलेज पोसाकमै जेन-जीहरूको जमघट बढ्दै थियो। नेतृत्वविहीन आन्दोलन भएकाले पनि आआफ्नो सुरले प्रदर्शनमा मिसिएका थिए। कसैले भ्रष्टाचारविरुद्धको नारा लेखेका प्ला कार्ड बोकेका थिए भने कसैले सामूहिक ब्यानर।
बबरमहलमा आइपुगेका केही भाइबहिनीसँग कुरा गरेँ। उनीहरूको आवाज र आँखामा मैले केवल देशप्रेम देखेँ। केहीले सामाजिक सञ्जालमा सरकारले लगाएको प्रतिबन्धको विरोध गरे। भ्रष्ट सरकार र सत्ता सञ्चालकको भर्त्सना गरे। कसैले भने नेताका छोराछोरी अर्थात् ‘नेपो बेबी’को विलासी जीवनशैलीबारे चर्को अभिव्यक्ति दिए। केही भिडियो खिच्दै रमाइरहेका पनि देखिए।
रिपोर्टिङ गर्दै नयाँ बानेश्वर पुग्दा बिहानको ११ बजेको थियो। त्यसपछि अनामनगरस्थित कार्यालय फर्किएँ र भिडियो सम्पादनका लागि दिएँ र फेरि प्रदर्शनस्थलतिरै लागेँ।
जाँदै गर्दा बाटामै डरलाग्दो सूचना प्राप्त भयो, प्रदर्शनकारी संसद् भवन छिर्न लाग्दै छन्।
माइतीघरमा शान्तिपूर्ण देखिएको प्रदर्शन बानेश्वर पुग्दा हिंसात्मक बन्न पुग्यो। भ्रष्टाचारविरुद्ध नारा लगाउँदै अघि बढेको भिडलाई निषेधित क्षेत्रतर्फ जान नदिन नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ थिए। सुरक्षाकर्मीले सधैँझैँ तारबारसहितको ब्यारिकेड खडा गरेका थिए।
केही समयसम्म प्रदर्शनकारीले ब्यारिकेडअगाडि नारा लगाइरहेका थिए। ठीक ११:३५ बजे ब्यारिकेड तोडियो। त्यसपछि प्रहरीले पानीको फोहोरा चलायो। भिड झनै अव्यवस्थित र अराजक बन्यो । केही प्रदर्शनकारी संसद् भवन तोडफोडमा लागे।

ब्यारिकेड तोड्ने प्रयास गरिरहेका प्रदर्शनकारी। तस्बिर : बिक्रम राई/नेपालन्युज
प्रहरीलाई ढुंगामुढा, प्रदर्शनकारीलाई अश्रुग्यासको दोहोरो प्रहार सुरु भयो। स्थिति नियन्त्रणबाहिर जाँदै गरेको देखेर काठमाडौँ जिल्ला प्रशासनले दिउँसो १ बजेदेखि लागु हुने गरी राति १० बजेसम्मलाई कर्फ्यु आदेश जारी गर्यो।
३ बजेदेखि नेपाली सेना पनि प्रदर्शनस्थलमा देखियो, तर आक्रोशको ज्वालामुखी फुटिसकेको थियो । क्रोधित भिडलाई कर्फ्युको कुनै पर्वाह भएन। सुरक्षाकर्मीले बल प्रयोगलाई क्रमश: बढाउँदै लगे।
दिउँसो १ बजेदेखि अश्रुग्यास, हवाई फायर गरिरहेको प्रहरी धमाधम रबर बुलेट र मेटल बुलेट चलाउन थाल्यो। चलचित्रको दृश्यजस्तो प्रदर्शनकारी र सुरक्षाकर्मीबीच एकहिसाबको युद्ध नै भयो। बानेश्वर रणभूमिमा परिणत भयो। सडक रगताम्य बन्यो।
प्रहरीको गोली लागेका एक घाइतेको साढे १ बजे छेवैको सिभिल अस्पतालमा मृत्यु पुष्टि भयो। मृत्युको खबर आगोझैँ फैलियो, जसले असन्तुष्ट र क्रोधको भुंग्रोमा घिउ थप्यो। युवा थप आक्रामक बने, प्रहरीले प्रदर्शनकारीलाई निर्ममतापूर्वक निरन्तर गोली चलाइरह्यो।
प्रहरीको गोलीबाट पत्रकार साथीहरू पनि जोगिन पाएनन्, आन्दोलनको ‘इपिसेन्टर’ बनेको नयाँ बानेश्वरस्थित सिभिल अस्पताल घाइतेले भरियो।
यो अमानवीय र क्रूर दृश्यले मन विक्षिप्त बन्यो, आँखा रसाए।
म नेपाल कमर्स क्याम्पसको बाटो हुँदै सिभिल अस्पताल पुगेँ। त्यहाँ टेक्ने ठाउँसम्म थिएन। अस्पतालका शय्या भरिएपछि प्यासेजमै रक्ताम्मे घाइतेहरू जीवन र मृत्युसँग जुधिरहेका थिए। एक्स-रे गर्ने ठाउँमा अत्यासलाग्दो लाइन, घाइतेको छटपटाहट ।
अस्पतालबाहिर निस्कँदा गोलीले ढलेका निहत्था निर्दोष युवा सडकमा यत्रतत्र थिए। साइरन बजाउँदै एम्बुलेन्सहरूको दौडादौड मच्चियो। सडकमा घाइतेहरूको अवस्था दर्दनाक थियो। यो घटना सपना भइदिए पनि हुन्थ्यो भन्ने मनमा लागिरहेको थियो।
२३ भदौ बेलुकासम्म राजधानीमै १७ जनाले ज्यान गुमाए। इटहरीमा पनि प्रहरीको गोलीबाट दुईजनाको मृत्यु भयो। ती प्रदर्शनकारी मात्रै थिएनन्, सरकारको निरंकुशताले निलेका परिवर्तनकारी मुनाहरू पनि थिए।
२३ गते साँझ रत्नपार्कस्थित राष्ट्रिय ट्रमा सेन्टर पुग्दा मृतकका परिवारको चीत्कारले मनै विचलित भयो।
…
२४ भदौ बिहानैदेखि राजधानीका टोल टोलमा नागरिक सडकमा टायर बालेर सरकारी दमनविरुद्ध उत्रिन थालिसकेका थिए।
विभिन्न ठाउँमा रिपोर्टिङ गर्दै साथीहरूसँगै म नयाँ बानेश्वर पुगेँ। सूचना पाएँ- च्यासलस्थित एमाले पार्टी कार्यालयमा प्रदर्शनकारीहरू पुगिसके ।

च्यासलस्थित एमाले पार्टी कार्यालयमा भएको आगजनी। तस्बिर : बिक्रम राई/नेपालन्युज
हामी कोटेश्वरतिरको दृश्य कैद गर्दै च्यासल पुग्यौँ। एमाले कार्यालयमा तोडफोड सुरु भइसकेको थियो। केहीबेरमै आगो लगाइयो। सोही समयमा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको घरमा पनि आगजनी भयो।
केही बेरपछि प्रदर्शनकारीहरू भैँसेपाटीस्थित मन्त्री निवास पुगिसकेको सुनियो। भैँसेपाटी पुग्दा प्रदर्शनकारीहरू गेटमा नाराबाजी गरिरहेका थिए। त्यसअघि नै मन्त्रीहरूलाई नेपाली सेनाले हेलिकोप्टरबाट उद्दार गरिसकेको थियो। मन्त्री निवासमा पनि आगो लाग्न समय लागेन।

भैँसेपाटीस्थित मन्त्री क्वार्टरमा भएको आगजनी। तस्बिर : शिखा श्रेष्ठ/नेपालन्युज
यत्रतत्र सरकारी अड्डाहरू खरानी बन्दै थिए, धुवाँले राजधानीमा दिउँसै अन्धकार छाएको थियो। यो सबै देखिरहेको मलाई आफैँभित्र पनि पीडाको धुवाँ मडारिरहेजस्तो लाग्यो।
आगजनीको घटना बढिरहेकै थियो। साथीहरूले फोनबाट तारन्तार खबर गरिरहेका थिए- ‘सिंहदरबार घेरिसके।’
भागदौड गर्दै हामी देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार लाग्यौँ। साढे २ बजेतिर पुग्दा सिंहदरबारको पश्चिम गेटअगाडि टायर बालेर प्रदर्शनकारी नाराबाजी गरिरहेका थिए।
सिंहदरबार छिर्न नपाएपछि भिड महान्यायाधिवक्ताको कार्यालयमा पस्यो। उनीहरूले त्यहाँ भएका दस्ताबेजहरू सडकमा ल्याएर आगो लगाए। कार्यालयमा पनि तोडफोड तथा आगजनी गरे। तस्बिर, भिडियो खिचेको देखेर हामीलाई पनि झम्टिए।
त्यसपछि उनीहरू सर्वोच्च अदालततिर मोडिए। सबैभन्दा पहिले पार्किङका गाडीहरूमा आगो लगाए। केही बेरमा आठ नौ जनाले हात हातमा राइफल लिएर निस्किए। ती राइफल सुरक्षाकर्मीको कोठाबाट लुटिएका थिए। उनीहरू राइफल देखाउँदै निस्किएपछि भिड थप उत्तेजित बन्यो। उनीहरू पुन: सिंहदरबारतिर हानिए।
यहीबेला प्रदर्शनकारी र प्रहरीबीच भिडन्त भयो भने के होला? सम्झेर मात्र पनि मन चिसो भएर आयो। मेरो आँखामा १५ चैतमा राजावादीको आन्दोलनमा मारिएका पूर्वसहकर्मी सुरेश रजक घुमिरहेका थिए। यसपटकको अवस्था त झन् भयानक हुँदै थियो।
सिंहदरबारबाहिरबाट प्रदर्शनकारीले प्रहरीतिर बन्दुक तेर्स्याए। अब चाहिँ सुरक्षा घेराभित्र जानुपर्छ भन्ने लागेपछि हामी पैदलतर्फको गेटबाट भित्र छिर्दै गर्दा सेना-प्रहरी पछि हट्न थाले।

प्रहरीबाट लुटिएको बन्दुक सिंहदरबारतर्फ ताकिरहेका प्रदर्शनकारी। तस्बिर : बिक्रम राई/नेपालन्युज
त्यतिबेला दिउँसो ३:०५ भएको थियो। प्रदर्शनकारीको पहिलो निसानामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय थियो।
देशको ऐतिहासिक धरोहरमा अराजक प्रदर्शनकारीले अन्धाधुन्ध धावा बोले। यो देखेर मन सारै कुँडियो। के उनीहरूले आफ्नै विवेकले यी सबै गरिरहेका छन् भन्ने प्रश्नले घेरिराख्यो। सरकारी दमनविरुद्ध विद्रोहका नाममा ऐतिहासिक तथा राष्ट्रिय निधि जलाउँदा कसलाई फाइदा पुग्छ, त्यो मैले सोच्न सकिनँ।
त्यतिबेला कसैको आवाज कानमा ठोक्कियो- ‘यो हाम्रो सम्पत्ति हो, आगो चाहिँ नलगाऔँ है।’ तर, भिडमा त्यो आवाज त्यत्तिकै बिलाएर गयो। कार्यालयको पछाडितिरबाट प्रवेश गरेका आन्दोलनकारीले देखेजति सबै सामान तोडे। पहिलो, दोस्रो, तेस्रो तलामा तोडफोड गर्न केही बाँकी राखेनन्। कतिपयले लुटपाट गरे। सिंहदरबारमा विध्वंस मच्चियो। अरू त अरू, देशको राष्ट्रिय प्रतीक निसान छापलाई पनि प्रदर्शनकारीले लात्ती बजारे।

प्रदर्शनकारीले तोडफोड गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको राष्ट्रिय प्रतीक। तस्बिर : शिखा श्रेष्ठ/नेपालन्युज
प्रधानमन्त्रीको कार्यकक्षमा पनि अराजकताको पराकाष्ठा देखियो। ती सबै दृश्य कैद गर्दै हामी तेस्रो तलामा थियौँ। भुइँतलाबाट आगो दन्किन थालिसकेको रहेछ। धुवाँ फैलिएर सास फेर्न गाह्रो भइसकेको थियो, हामी बेतोडले बतासिएर बाहिर निस्कियौँ।
बाहिर निस्कँदासम्म गृह मन्त्रालय दन्किरहेको थियो । आगोको मुस्लो तेस्रो तलासम्मै फैलिएको थियो। ऊर्जा मन्त्रालयलगायत अन्य मन्त्रालयमा पार्किङका गाडीहरू दनदनी बलिरहेका थिए।
हेर्दाहेर्दै सिंहदरबार पनि खण्डहर बन्यो। विडम्बना के भने, २०७२ सालको भूकम्पले थिलथिलो बनेको र ९० अर्बको लागतमा १० वर्ष लगाएर बल्लतल्ल पुनर्जन्म पाएको यो ऐतिहासिक सम्पदालाई जोगाउन भिड त विवेकशून्य बन्यो नै, राज्यको उपस्थिति पनि कतै देखिएन।

सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यकक्षअगाडि भएको तोडफोड। तस्बिर : बिक्रम राई/नेपालन्युज
हामी जलिरहेको सिंहदरबारको पश्चिम गेटबाटै बाहिर निस्कियौँ। साँझ ६ बजिसकेको थियो। सर्वोच्च अदालत जलिरहेको थियो। सडक विभाग, काठमाडौँ जिल्ला अदालत, जिल्ला प्रशासन जलिरहेका थिए। र, जलिरहेको थियो- देशको इतिहास।
केही दिनपछि रिपोर्टिङकै क्रममा म राष्ट्रिय ट्रमा सेन्टर पुगेकी थिएँ। प्रहरीको गोलीले एउटा खुट्टा गुमाएका घाइतेसँग भेट भयो। उनका अनुसार त्यस दिन ब्यारिकेड तोड्न उद्यत समूह जेन-जीले रोक्दारोक्दै जबर्जस्ती भिडमा मिसिएको थियो। उनी भन्दै थिए, “शंखमूलतर्फबाट मिनिट्रकमा केटाहरू आए। जेन-जीले को हुन् भनेर सोध्दासोध्दै उनीहरू आन्दोलनमा मिसिए र सिधै ब्यारिकेडतिर लागे। ब्यारिकेड भत्किएपछि भिड झनै आक्रोशित बन्यो।”

नेपाली सेनाको मुख्यालय जंगी अड्डाबाहिर जेन-जी। तस्बिर : बिक्रम राई/नेपालन्युज
जेन-जीको बलिदानले देशमा सरकार फेर्यो। चुनावको नयाँ मिति घोषणा भयो। तर, के यत्तिका लागि थियो त त्यो जनधनको क्षति र विध्वंस? म अहिले पनि आफैँलाई यो प्रश्न गरिरहेकी छु।