त्यो काण्ड
जेन–जी आन्दोलनमा जस्तै २००८ सालमा प्रधानमन्त्री मातृकाप्रसाद कोइरालालाई पक्रने वा मार्ने उद्देश्यले डा. केआई सिंहको विद्रोही सेना प्रधानमन्त्री निवास प्रवेश गरेको थियो। तर, भाग्यले उनी सपरिवार राजदरबारको शरणमा पुगिसकेका थिए।
८ माघ, २००८। लीलाप्रसाद लोहनी सिंहदरबारबाट डिल्लीबजारस्थित आफ्नो घर फर्किएका मात्र के थिए, सहरभरि हल्ला फैलियो– डा.केआई सिंहले विद्रोह गरे। उनले रक्षा दलका चारपाँच सय विद्रोही सेना बोकेर सिंहदरबार कब्जा गरिसके।
लीलाप्रसादलाई एकछिन त पत्यारै लागेन। किनभने, २००७ सालमा भारतको सक्रियतामा राजा–राणा–नेपाली कांग्रेसबीच दिल्लीमा त्रिपक्षीय सम्झौता हुँदा विद्रोह गरेका सिंह पक्राउ परेर सिंहदरबारभित्रै थुनिएका थिए।
सिंहले दिल्ली सम्झौता ‘धोका’ भन्दै २००७ सालको आन्दोलन यथावत् राख्ने निर्णय गरेका थिए। उनको त्यो हठका कारण प्रधानमन्त्री मोहनशमशेर राणाले पहिलोपल्ट भारतीय सेनालाई नेपाल प्रवेश गराउनुपरेको थियो।
आन्दोलनअघि सिंह भैरहवा मोर्चाबाट लडेका थिए। २६ पुस २००७ मा नयाँ दिल्लीमा त्रिपक्षीय सम्झौता हुँदा नेपाली कांग्रेस सम्झौता मान्ने पक्षमा थिएन। तर, भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले कांग्रेसका नेताहरूलाई सम्झाएका थिए– हामीले बेलायतीहरूविरुद्ध लामो संघर्ष गर्नुपर्यो। तर, त्यसको नतिजा के पायौँ? विभाजित दुई मुलुक। तपाईंहरूको त केही बिग्रिएको छैन।
राजा त्रिभुवन देश छोडेर दिल्लीको शरणमा परिसकेको अवस्थामा राणाविरुद्ध विद्रोह गरिरहेको कांग्रेससँग त्यतिबेला ‘बार्गेनिङ’ गर्ने हैसियत थिएन। त्यसैले नेहरूको प्रस्ताव स्विकार्नुबाहेक अन्य कुनै विकल्प थिएन, राजा र कांग्रेस दुवैसँग।
यही सेरोफेरोका बीच सिंहको विद्रोहले नेपाल सरकार दबाबमा देखियो। पहिले त राजनीतिक मुद्दा भन्दै सरकारले त्यति वास्ता गरेको थिएन। तर, जब जेल तोडेरै सिंहले आपराधिक समूहहरूलाई आफ्नो समूहमा सहभागी गराउने अभियान सुरु गरे, त्यसपछि सरकार गम्भीर बन्यो। भारतसँग जोडिएको सीमानाकामा लुटको घटना बढ्यो।
रक्षा दलको विद्रोही सेनाले सिंहदरबारमा रहेको रेडियो नेपाल पनि कब्जामा लिइसकेको थियो। त्यतिबेला मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भएको ठ्याक्कै एक साता बितेको थियो।
त्यतिबेला काठमाडौँबाट भैरहवा जाने बाटो बनिसकेको थिएन। स्याङ्जाको बाटो हुँदै झर्नुपर्थ्यो। त्यसैले सरकारले नेपाली सुरक्षाकर्मी त्यहाँ नपुग्दासम्म भारतसँग सुरक्षाको आग्रह गर्यो। साउनको पहिलो साता भैरहवा प्रवेश गरेको भारतीय सेनाले चौतर्फी घेरा हाल्यो। यस घटनामा भैरहवा जेलबाट भागेका श्यामसुन्दर शर्मा, गोविन्द प्रधान, डम्बरबहादुर क्षेत्री, कृष्णबहादुर क्षेत्री र गंगाप्रसाद आचार्यले काठमाडौँ पुगेर आत्मसमर्पण गरे। उनीहरूलाई सिंहदरबारभित्रै रक्षा दलको पहरामा राखियो।
तर, सिंह भारतीय घेरा तोड्न सफल भए। त्यसपछि सरकारले उनलाई डाँकु घोषित गर्दै पक्राउ गर्नेलाई पाँच हजार रुपैयाँ पुरस्कार दिने घोषणा गर्यो। नेपाली सेना भैरहवा पुगेपछि २२ साउनमा भारतीय सुरक्षाकर्मी घर फर्किए। त्यसपछि नेपाली सेनाले सिंह पक्राउ गर्ने अभियानको सुरुआत गर्यो। सिंह २६ साउनमा पाल्पाको ठ्याकुरे खोलानजिकै घोरभुजीमा पक्राउ परे। उनीसँगै जेलबाट फरार दुईतीन जना हतियारधारी विद्रोही पनि समातिए। यसको एक दिनअघि नेपाली सेनाले ३२ जनालाई पक्राउ गरेको थियो।
सिंहले विद्रोह गर्दा उनीसँग १५० जनाको समूह थियो। ती सबै समातिएपछि सिंहलाई काठमाडौँ ल्याइयो र सिंहदरबारभित्रकै रक्षा दलको सुरक्षाघेरामा राखियो।
लीलाप्रसादलाई सिंहको विद्रोह पत्यार नलाग्नुको कारण पनि त्यही थियो। किनभने, १२ भदौमा गृह मन्त्रालयले विज्ञप्ति सार्वजनिक गर्दै भनेको थियो– यो ६ महिनामा शान्ति सुरक्षा व्यवस्था गर्न सरकार मजबुत भइसकेको हुनाले कुबाटोमा लाग्ने र लगाउनेलाई पूरा तागतले ठीक गर्नेछ।

लीलाप्रसाद लोहनी। तस्बिर : बिक्रम राई/नेपालन्युज
रक्षा दल राणाविरोधी आन्दोलनमा राणाहरूको सेनाविरुद्ध लड्न तयार पारिएको नेपाली कांग्रेसको सुरक्षा दस्ता थियो। त्यसैले यो दल राजनीतिक रूपले पनि प्रशिक्षित थियो। घटना सम्झँदै लीलाप्रसाद भन्छन्, “हामी अफिस जाँदा उनी चौतर्फी घेरामा घाम ताप्न बाहिर बसेका हुन्थे। त्यसैले पनि मलाई विश्वास लागिरहेको थिएन।”
तर, राति सुरक्षा चहलपहल बढ्दै गएपछि उनको मनमा चिसो पस्यो। “एकछिनपछि त पुष्टि नै भयो। रक्षा दलमा विद्रोह भएछ। डा. केआई सिंहले सिंहदरबार कब्जा गरे,” उनी भन्छन्।
रक्षा दलको विद्रोही सेनाले सिंहदरबारमा रहेको रेडियो नेपाल पनि कब्जामा लिइसकेको थियो। त्यतिबेला मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भएको ठ्याक्कै एक साता बितेको थियो। मातृका १ माघ २००८ मा पहिलोपल्ट प्रधानमन्त्री नियुक्त भएका थिए।
“हामी देशको पहिलो बजेट निर्माण गर्न रातदिन खटिरहेका थियौँ। यसैले अबेरसम्म काम गर्नुपर्थ्यो। त्यो दिन पनि अबेरै अफिसबाट निस्किएको थिएँ,” त्यतिखेर अर्थ मन्त्रालयमा कार्यरत लीलाप्रसाद भन्छन्।
भारतीय राजदूतले जति नै दबाब दिए पनि राजा त्रिभुवन आफ्नो अडानमा अडिग रहे। यसपछि सुरु भयो– केआई सिंहको विद्रोह दबाउने अभियान।
विद्रोहको रात अर्थमन्त्री सुर्वणशमशेर राणा र गृह तथा सूचनामन्त्री सूर्यप्रसाद उपाध्याय भारतीय दूतावासमा शरण लिन पुगेको उनी बताउँछन्। “भारतीय दूतावास त्यतिबेला अहिलेको राष्ट्रपति भवन शीतल निवासमा थियो। उहाँहरूले प्रधानमन्त्रीलाई पनि भारतीय दूतावासमा शरण लिन आग्रह गर्नुभएको रहेछ,” उनी भन्छन्।
नेपाली कांग्रेससँग विवाद चुलिएपछि २००८ सालमा मातृकाप्रसाद कोइरालाले गठन गरेको राष्ट्रिय प्रजा पार्टीका केन्द्रीय सदस्य वेदानन्द मिश्रले २०३५ सालमा प्रकाशन गरेको पुस्तक मातृका बाबुमा पनि यही कुरा लेखेका छन्। झा लेख्छन्, ‘उहाँले त्यो कुरा स्वीकार गर्नुभएन र राष्ट्रपिता श्री ५ (त्रिभुवन) को आदेश र आग्रहमा जनरल रंगविक्रम र कर्नेल तीर्थविक्रमसहित दरबारबाट मोटर पठाइबक्सेपछि दरबारमा सपरिवार हाजिर हुनुभयो।’
प्रधानमन्त्री मातृकालाई पक्रने वा मार्ने उद्देश्यले विद्रोहीहरू प्रधानमन्त्री निवास (हालको बेलायती दूतावास) पुगिसकेका थिए। तर, उनी सपरिवार राजदरबार प्रवेश गरिसकेका थिए।
रातिको यो घटनापछि भारतीय राजदूत चन्द्रेश्वरप्रसाद नारायण सिंह भोलिपल्ट बिहानै राजदरबार पुगेका थिए। उनले राजा त्रिभुवनसँग भारतीय प्याराट्रुपर्सलाई नेपाल प्रवेशका लागि स्वीकृति प्रदान गर्न आग्रह गरेका थिए।
त्यसबेला प्रधानमन्त्री मातृकाले दिएको जवाफ झाको पुस्तकमा उल्लेख छ, ‘यो विद्रोह मेराविरुद्ध भएको हो। श्री ५ का विरोधमा होइन। अतः सरकारबाट सेवकलाई २४ घण्टाको समय निगाह हुनुपर्दछ। सोभित्र विद्रोह दमन भएन भने सरकारमा म राजीनामा पनि चढाउँछु ।’
प्रधानमन्त्रीको कुरा सुनेपछि राजा त्रिभुवनले भारतीय राजदूतलाई अंग्रेजीमा भनेछन्– मेरो प्रधानमन्त्रीको भनाइ ठीक हो। विद्रोह दमन गर्न कम्तीमा २४ घण्टाको समय मैले दिनुपर्छ।
राजाको जवाफ भारतीय राजदूतलाई मन पर्ने कुरै थिएन। उनले भनेछन्– पछि केही बिग्रियो भने मलाई भन्ने ठाउँ हुनेछैन।

दोस्रोपटक प्रधानमन्त्री नियुक्त भएपछि राजा त्रिभुवनबाट शपथ ग्रहण गरिरहेका मातृकाप्रसाद कोइराला। तस्बिर : एजेन्सी
भारतीय राजदूतले जति नै दबाब दिए पनि राजा त्रिभुवन आफ्नो अडानमा अडिग रहे। यसपछि सुरु भयो– केआई सिंहको विद्रोह दबाउने अभियान।
सिंहदरबार आफ्नो कब्जामा आइसकेपछि सिंहले राजा त्रिभुवनसँग वार्ता गर्न चाहेका थिए। उनले वार्ताको आफ्नो सन्देश राजासमक्ष पुर्याएको त्रिभुवन विश्वविद्यालयका पूर्वप्राध्यापक तथा इतिहासविद् हेमन्तशमशेर राणा बताउँछन्। “उहाँले वार्ताका लागि फिल्डमार्शल मेरा हजुरबुवा रुद्रशमशेर राणालाई प्रस्ताव गर्नुभएको थियो,” उनी भन्छन्।
सिंहले रुद्रको नाम सिफारिस गर्नुको पनि कारण थियो। २००७ सालको क्रान्तिताका भैरहवाका कमान्डर रुद्र नै थिए। उनकै कमान्डमा केआई सिंह क्रान्तिमा होमिएका थिए।
सिंहले वार्ताका लागि प्रस्ताव पठाउँदै गर्दा सेनाप्रमुख किरणशमशेर राणाको कमान्डमा सेनाको एउटा टुकडीले पूरै सिंहदरबार घेरिसकेको थियो। ‘हजुरबुवा मध्यस्थताका लागि मोटरबाट भद्रकाली पुग्दा गोली चल्न सुरु भइसकेको थियो, तर हजुरबुवा सिंहदरबार पसेरै छाड्नुभयो,’ हेमन्त भन्छन्।
रुद्र मध्यस्थताका लागि सिंहदरबारभित्र प्रवेश गर्दा सिंह आफ्ना केही साथीसहित बनेपातर्फ लागिसकेका थिए। सिंहको टोलीमा रामप्रसाद राई पनि संलग्न थिए। राणाविरोधी आन्दोलनमा पूर्वी पहाड कब्जा गर्ने अभियानमा नारदमुनि थुलुङ र श्रीपल राईको नेतृत्वमा कांग्रेसको रक्षा दलबाट रामप्रसाद पनि लडेका थिए। सिंहजस्तै उनले पनि दिल्ली सम्झौतामा ‘धोका’ भएको भन्दै भोजपुरमा विद्रोह गरेका थिए। उनलाई पनि समातेर २६ दिन भोजपुरकै जेलमा राखिएको थियो। त्यहाँबाट छुटेपछि काठमाडौँ प्रवेश गरी माघमा उनले न्युरोडमा भाषण गर्दै आफूहरूले हतियार नबिसाएको भन्दै विद्रोह चालु रहेको जनाउ दिए।
भाषण गर्ने क्रममै पक्राउ परेका रामप्रसादलाई केन्द्रीय कारागारमा राखिएको थियो। तर, अर्को दिन उनले ‘जेल ब्रेक’ गरे। समातिएका अन्य साथीहरूलाई एकजुट गर्दै सिंहदरबारतर्फ लागे। केआई सिंहलाई छुटाएपछि करिब २४ घण्टा सिंहदरबार उनीहरूको कब्जामा रह्यो।
रामप्रसाद राईको संस्मरणका लेखक ताराहाङ राईका अनुसार केआई सिंहसँगै तिब्बत जाने क्रममा राईको रहस्यमय मृत्यु भयो। यो काण्डमा विद्रोहीतर्फ दुई र एक सर्वसाधारणको टुँडिखेल र धरहरानजिक निधन भएको थियो। तर, सरकारले सिंहलाई समात्न सकेन। उनी बागमती खोलाको डिलैडिल भागे । याे काण्डमा समावेश अग्निप्रसाद खरेल र टेकबहादुर मल्ल भने समातिए ।

भारत भ्रमणका क्रममा प्रधानमन्त्री मातृकाप्रसाद कोइराला। तस्बिर : एजेन्सी
रक्षा दलले मंगलबार राति ११ बजेर ३५ मिनेटमा विद्राेह गरेको थियो । तर, बुधबार साँझसम्म नेपाली सेनाले सिंहदरबारलाई आफ्नो नियन्त्रणमा ल्याइसकेको थियो । यो घटनाका कारण सरकारले केही दिन साँझको ७ बजेदेखि बिहान ७ बजेसम्म १२ घण्टा कर्फ्यु लगायो । केआई सिंहको यस विद्राेहमा साथ दिएको भन्दै सरकारले नेपाल कम्युनिस्ट पार्टी र राष्ट्रिय महासभालाई पहिलो पटक प्रतिबन्ध लगायो । विद्राेहको विषयमा भारतीय प्रधानमन्त्री नेहरूले मातृकाप्रसादसँग पनि चासो राखेका थिए। घटनाको तीन दिनपछि विदेश विभागका डेपुटी सेक्रेटरी परमेश्वर नारायण हकसरको नेतृत्वमा भारतको वायुसेनाका कमाण्डर उमराव सिंहलगायत ६ जना सदस्य सुरक्षा संवेदनशीलता अध्ययन गर्न नेपाल आए। १७ माघमा मातृकाप्रसादले नेहरूलाई पठाएको पत्रमा उल्लेख छ, ‘केआई सिंह तिब्बततर्फ भाग्दा हामी उनलाई पछ्याउन पूर्णरूपमा असक्षम भयौँ।’
यो काण्डपछि भारतको सैन्य मिसनलाई नेपाल प्रवेश गर्न सहज भयो।