इलाम। भौतिक योजना तथा यातायात मन्त्री कुलमान घिसिङले सरकारको प्राथमिकतामा राहत र पुनःनिर्माण रहेको बताएका छन्।
आज बाढीपहिरो प्रभावित इलामको स्थलगत निरीक्षणपछि उनले भने “सरकार प्रभावित नागरिकसँगै छ, तत्कालीन राहत र दीर्घकालीन पुनर्निर्माणका काम अघि बढाइनेछ।”
रोङ गाउँपालिका, सूर्योदय नगरपालिका हुँदै इलाम नगरपालिका–१० राजदुवाली पुगेका मन्त्री घिसिङले इलाम, सन्दकपुर, माईजोगमाई र वरपरका बस्तीमा पुगेर स्थानीयवासीसँग क्षति र राहत व्यवस्थाबारे जानकारी लिनेछन्। उनले राजदुवाली सडक, मिल घुम्तीलगायतका क्षतिग्रस्त सडक र संरचनाको अवस्था अवलोकन गरेका छन्।
गत असोज १८ गते रातिको भीषण वर्षापछि ठूलो जनधनको क्षति भएकाले सरकारले इलामलाई तीन महिनाका लागि सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । बाढी र पहिरोका कारण अहिलेसम्म इलाममा ३९ जनाको मृत्यु भएको छ।