काठमाडौं। सुनसरीको रामधुनी नगरपालिका-२ मा एक व्यक्तिको शनिबार बेलुका हत्या भएको छ।
प्रहरीका अनुसार सोही ठाउँ बस्ने ४७ वर्षीय दिनेश चौधरीको हत्या भएको अवस्थामा शव फेला परेको हो।
पूर्व-पश्चिम राजमार्गबाट डेढ किलोमिटर उत्तर शंकरपुर सिँचाइ नहरनजिकै हत्या गरेको अवस्थामा चौधरीको शव फेला परेको सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेवेले बताए।
शनिबार साँझ करिब ५:५० बजे उनको हत्या भएको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए। चौधरी प्र.१–०२–००४ ह ७८०४ नम्बरको इ-रिक्सा चालक हुन्।
प्रहरी पुग्दा चौधरी रक्ताम्य अवस्थामा फेला परेका थिए। उनको मृत्यु भइसकेको थियो। थेवेका अनुसार उनको देव्रेपट्टीको छातीमा चोट देखिएको छ। “उक्त चोट गोलीको हो वा होइन भन्ने यकिन हुन सकेको छैन, गोलीको चोट अलि सानो हुनुपर्ने हो,” थेवेले भने, “कस्तो खालको हतियार प्रयोग भएको हो भन्ने अनुसन्धानकै क्रममा छ।”
चौधरीको शव पोस्टमार्टमको लागि बीपी कोइराला स्वासथ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ। पोस्टमार्टमपछि चोटको विवरण खुल्ने थेवेले बताए।
चौधरीको हत्या कसले किन गर्यो भन्ने खुलेको छैन। प्रहरीले हत्यामा संलग्न व्यक्तिहरूको खोजी गरिरहेको छ।