काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

आवरण

काठमाडौँमा पाइरेटेड किताबको खुलमखुला बिक्री

२६ आश्विन २०८२
अ+
अ-

भारतीय लेखक ऋत्विक सिंहको आई डन्ट लभ यु एनिमोर नेपालको बजारमा धेरै बिक्री भएको किताब हो। रोचक कुरा, भारतमा आधिकारिक प्रकाशन हुनुअगावै यसका अवैध वा नक्कली प्रति काठमाडौँका पुस्तक पसल र अनलाइन स्टोरमा छ्यापछ्याप्ती थिए। पेन्गुइन र्‍यान्डम हाउसको शाखा इबरी प्रेसले सन् २०२४ मा छापेको यस किताबको आधिकारिक प्रतिको बिक्री नेपालमा १५ हजार नाघेको थियो। तर, यसको नक्कली प्रतिको बिक्री त्यसभन्दा धेरै रहेको बिक्रेताहरू बताउँछन्।

पल्ले वासु लिखित वी वेयर नेभर मिन्ट टु बी  यस्तै अर्को किताब हो, जुन भारतको मन्जुल पब्लिसिङ हाउसबाट छापिएको हो। आधिकारिक प्रकाशन हुनु महिना दिनअगावै यो किताबको नक्कली प्रति काठमाडौँका किताब बजारमा उपलब्ध भइसकेको थियो।

यी दुई दृष्टान्तले नेपालमा भित्रिने विदेशी भाषाका ‘पाइरेटेड’ अर्थात् अनधिकृत किताबको कारोबार कुन हदसम्म छ भन्ने देखाउँछन्। काठमाडौँका अधिकांश पुस्तक पसल तथा दराज, ग्रे हाउसजस्ता ई-कमर्स वेबसाइटमा अचेल अनधिकृत रूपमा प्रकाशित किताबको बिगबगी छ। नक्कली किताबकै कारण एउटै किताब दुई वा दुईभन्दा बढी आवरणमा भेटिन्छन्। मूल्य पनि त्यहीअनुसार फरक फरक हुन्छ।

अमेरिकी लेखक जेम्स क्लियरको सन् २०१८ मा प्रकाशित एटोमिक ह्याबिट्स पनि धेरै बिक्री हुने किताबमा पर्छ। यसको मूल्य एक हजार २८० रुपैयाँ छ। तर, दराज र ग्रे हाउसमा यही किताबका अनेक संस्करण १०० देखि २०० रुपैयाँमै पाइन्छन्।

न्युरोडस्थित जुद्ध सालिकनजिकैको गल्लीमा रहेको न्युरोड बुक्स स्टोरमा एटोमिक ह्याबिट्सको मूल्य सोधेँ। किताबका दुई फरक प्रति देखाउँदै सोधियो, “सस्तो लिनुहुन्छ कि महँगो? महँगो ११ सयसम्ममा आउँछ, सस्तोको २०० पर्छ।”

एउटै किताबको मूल्यमा आकाश-जमिनको अन्तर! पसलकी महिलालाई फेरि सोधेँ, “२०० मै कसरी पाइन्छ त दिदी?”

“एकैपटक धेरै किताब ल्याउने भएकाले।”

“कहाँबाट ल्याउनुहुन्छ?”

“इन्डियाबाट?”

नेपाली बजारमा यी दुवै खालका किताब भारतबाटै आउँछन्। एउटै शीर्षकमा टाढाबाट झट्ट हेर्दा उस्तै देखिन्छन्, मसिनो गरी केलाउँदा यसको गुणस्तरमा धेरै भिन्नता पाइन्छ। महँगो मूल्यका किताब आधिकारिक प्रकाशन हुन्, तिनको कागज र छपाइ गुणस्तरीय हुन्छन्। सस्तो मूल्यका किताब लेखक र प्रकाशकसँग अनुमति नलिई छापिएका अनधिकृत र नक्कली हुन्।

न्युरोडमा रहेको न्युरोड बुक्स स्टोर। तस्बिर : प्रभाकर गौतम/नेपालन्युज

झट्ट हेर्दा यस्ता फर्जी किताब कभरदेखि बाइन्डिङसम्म सक्कली जस्तै देखिन्छन्, तर नियालेर हेर्दा धेरै समस्या भेटिन्छन्। पीडीएफबाट प्रिन्ट गरिएका यस्ता किताबमा सक्कली प्रतिको किताबमा भन्दा अक्षर मसिना हुन्छन्। कमसल कागजमा छापिने किताबमा छपाइ त्रुटि, धमिला अक्षरदेखि कतिपय पृष्ठ नै गायब भएका हुन्छन्। तर सक्कली किताबको तुलनामा कैयौँ गुणा सस्तो हुने र होम डेलिभेरीको सहजताका कारण धेरै पाठक सस्ता र नक्कली किताबतर्फ नै बढी आकर्षित छन्।

नेपाली पाठकमाझ पछिल्लो समय ‘सेल्फ हेल्प’ किताबको माग उच्च छ। रिच ड्याड पुअर ड्याड, द साइकोलोजी अफ मनी, थिंक एन्ड ग्रो रिच, सेभेन ह्याबिट्स अफ मस्ट इफेक्टिभ पिपुल, इकिगाईलगायत छन्। विदेशी भाषाका यस्ता किताब बजारमा ६०० भन्दा बढी शीर्षकमा उपलब्ध रहेको र तीमध्ये अधिकांश नक्कली भएको पुस्तक विक्रेताहरू बताउँछन्। यस्ता फर्जी किताब न्युरोड, भोटाहिटी, बागबजारदेखि बानेश्वरका पसलहरूमा छ्यापछ्याप्ती बिक्री भइरहेका छन्। अनलाइन स्टोरमा समेत नक्कली किताबकै बिगबिगी छ। फेसबुक, इन्स्टाग्राम र टिकटकजस्ता सामाजिक सञ्जाललाई नक्कली किताबको विज्ञापन गर्न भरपुर प्रयोग गरिएको छ।

किताब प्रकाशक र वितरक एमके पब्लिसर्सका प्रोपराइटर मिलर श्रेष्ठ अहिले विदेशी भाषाका अनधिकृत किताबले ८० प्रतिशत बजार ओगटेको बताउँछन्। “पहिले एक लाख रुपैयाँको व्यापार हुने ठाउँमा अहिले २० हजारको हुन्छ। मेरो मात्र होइन, हामी नियम पालना गरेर काम गर्ने सबै किताब विक्रेता र व्यवसायीको अवस्था यस्तै छ,” उनी भन्छन्, “कुनै रोकटोकविना बजारमा नक्कली किताब बेच्ने छुट भएकै कारण यस्तो अवस्था आएको हो।”

बजारमा सस्तो दाममा छ्यापछ्याप्ती पाइने नक्कली किताबका कारण आधिकारिक किताब विक्रेतालाई आर्थिक मार मात्र परेको छैन, पाठकले नैतिक प्रश्न पनि उठाउन थालेका छन्। ग्राहकले उनीहरूलाई केरकार गर्छन्, ‘यो किताब फलानो अनलाइन, फलानो पसलमा यति सस्तो पाइन्छ, तपाईंकोमा किन महँगो?’ मण्डला बुक पोइन्टका संस्थापक माधव महर्जन भन्छन्, “यहाँ सही काम गर्ने गलत र गलत काम गर्ने सहीजस्तो विडम्बनापूर्ण अवस्था भोग्नुपरेको छ।”

मण्डला बुक स्टोर। तस्बिर : बिक्रम राई/नेपालन्युज

न्यु इन्टरनेसनल बुक्सका वीरेन्द्र दासको भोगाइ पनि यस्तै छ। भन्छन्, “हामी नियममा बसेर गुणस्तरीय किताब बेच्नेलाई ग्राहकहरू गलत काम गरेझैँ आरोप लगाउँछन्। ग्राहकसँग बेलाबेला विवादसमेत हुन्छ।”

गलत काम गर्नेलाई छुट र सही काम गर्नेलाई प्रश्न उठ्ने यो अवस्थालाई एमके पब्लिसर्सका श्रेष्ठ ‘ह्यारेसमेन्ट’ भन्छन्। “हामीले सामाजिक सञ्जालमा आधिकारिक किताबको मूल्यसहितको कुनै पोस्ट गर्दा ‘मूल्य बढाएर बेच्ने’ भन्दै कमेन्ट र मेसेज आउँछ। यो ह्यारेसमेन्ट होइन?” उनी भन्छन्।

यसले दशकौँदेखि आधिकारिक किताब विक्रेता र व्यवसायीहरूलाई हतास बनाएको छ। अर्कोतिर, पाइरेटेड किताब बेच्नेहरूलाई भने भ्याइनभ्याइ छ। ओमबहालबाट फ्रिक स्ट्रिट छिर्ने बाटोमा बुक डट थिंग्स नामको पसलमा यस्तै दृश्य देखिन्छ। त्यहाँ पुग्दा पसल सञ्चालक भनिरहेका थिए, “ग्राहकले जस्तो खोज्यो त्यस्तै क्वालिटीको किताब पाइन्छ यहाँ। सस्तोमा छानीछानी किताब पाइने भएकाले एउटा किताब खोज्न आउने ग्राहकले १५ वटासम्म लगिरहनुभएको छ।”

किताब पाइरेटेड भए पनि पसलेहरू सस्तो मूल्यमा बेचिने कमसल किताबलाई ‘ओरिजिनल’ भन्दै बेचिरहेका छन्। आम ग्राहक त भए नै, स्वयं पुस्तक व्यवसायीलाई समेत उनीहरू किताब देखाउँदै ढुक्कसाथ भनिदिन्छन्, ‘ओरिजिनल हो, ओरिजिनल।’ ३५ वर्षदेखि पुस्तक व्यवसायमा संलग्न पैरवी बुक हाउसका प्रोप्राइटर चन्द्रप्रसाद शिवाकोटी सुनाउँछन्, “म बेलाबेला न्युरोडको भूगोल पार्क आसपासका किताब पसलमा रमिता हेर्न गइराख्छु। उनीहरू मलाई नै ओरिजिनल भन्दै नक्कली किताब भिडाउन खोज्छन्।”

कतिपय पसलमा नक्कलीसँगै सक्कली किताब पनि राखिएको हुन्छ। विक्रेताले जस्ता ग्राहक आए, त्यस्तै गुणस्तर र दामका किताब दिन्छन्। नेपाल राष्ट्रिय पुस्तक विक्रेता तथा प्रकाशक संघका अनुसार नेपालमा १० हजारभन्दा बढी किताब पसल छन्। र, नक्कली किताबको अनधिकृत बजारका कारण उनीहरूको व्यवसायमा नकारात्मक असर परेको छ।

ओमबहालबाट फ्रिक स्ट्रिट छिर्ने बाटोमा रहेको पाइरेटेड किताब बेच्ने बुक डट थिंग्स। तस्बिर : प्रभाकर गौतम/नेपालन्युज

एमके पब्लिसर्सका श्रेष्ठका अनुसार नेपालमा आधिकारिक रूपमा भारतबाट ठूलो परिमाणमा किताब भित्र्याउने करिब २० विक्रेता छन्। त्यस्ता किताब वार्षिक २५ करोडदेखि ३० करोड रुपैयाँसम्मको आयात भइरहेको छ। उनी अनुमान गर्छन्, “बजारमा नक्कली किताब नभएको भए अझै तीन गुणाभन्दा बढी आधिकारिक किताब आयात हुन्थ्यो र एक अर्ब नाघ्थ्यो होला।”

प्रकाशन संस्था कथालय इन्कका संस्थापक राजीवधर जोशी अहिले नेपालमा वार्षिक ५० करोड रुपैयाँभन्दा बढीको किताब आयात भइरहेको अनुमान गर्छन्। नक्कली किताब सक्कलीभन्दा धेरै मात्रामा बिक्री भइरहेको सन्दर्भमा बजारमा करोडौँ रुपैयाँका नक्कली किताब आयात भइरहेको देखाउँछ।

आधिकारिक विक्रेताहरूले एउटा किताबमा ग्राहकलाई १० देखि २० प्रतिशतसम्म छुट दिन्छन्। तर न्युरोड बुक्स, बुक डट थिंग्सलगायत पसलहरूमा कम्तीमा ५० देखि ८० प्रतिशत छुटमा किताब बिक्री भइरहेको छ। नक्कली किताब बिक्रीका लागि अनलाइन अझ बढी प्रभावकारी भइरहेको छ। दराज, बुक मिडिया, बुक एन्ड थिंग्स, बुक सञ्जाल, बुकक्रेस्ट, बुक्स रिलोड, दोराज बुक स्टोर, ग्रे हाउस, हाम्रो अफर, किताब संसार, लाखे बुक स्टोर, पश्चिमाञ्चल बुक स्टोर, पुस्तकालय स्टोर, संस्कार बुक्स, सस्तोमा बुक्स, सस्तोमा किताब, सन्देश इन्टरप्राइजेज, बजरंग बली बुक अनलाइन प्लेटफर्ममा नक्कली किताब बेच्ने केही प्रतिनिधि नाम हुन्। यीमध्ये केहीले भौतिक किताब पसलसमेत चलाउँछन्।

दराज र ग्रे हाउसमा आधिकारिक र अनधिकृत किताबहरूको मूल्यबीचको अन्तर हेर्नुस्

विक्रेता तथा व्यवसायीहरू डिजिटल प्लेटफर्ममा किताब बेच्न राखेपछि नक्कली किताबको बिक्री व्यापक भएको बताउँछन्। कोभिड महाव्याधिपछि अनलाइन किनमेलको बजार फस्टाएसँगै यो अवस्था आएको हो।

होलसेल तथा खुद्रा पुस्तक बेच्ने एमके पब्लिसर्सको कार्यालय भोटाहिटीमा छ। यसका प्रोप्राइटर श्रेष्ठका अनुसार कोभिडअघिसम्म पाइरेटेड किताबको बजार सानो थियो। आसपासका पसलहरूले नक्कली किताब लुकाएर बेच्थे। तर, अहिले त्यसमा बदलाव आएको छ। भन्छन्, “कोभिडअघि पसलहरूले अगाडि सक्कली र पछाडि नक्कली किताब राखेर डराइडराइ बेच्थे। अहिले बुकस्टलमा सुरुमै देखिने गरी हाकाहाकी पाइरेटेड किताब राखेका छन्।”

श्रेष्ठका अनुसार पाइरेटेड किताब बेच्ने काम टेक्स्टबुकबाटै सुरु भएको हो। पहिले साहित्यिक किताब धेरै बिक्दैनथे। टेक्स्टबुकमा पाइरेसी भए पनि पाँच-सात शीर्षकका किताब हुन्थे। बजारमा नक्कली किताब भए पनि सक्कली किताब लाखौँ प्रति बिक्ने भएकाले ठूलो असर पर्दैनथ्यो। अहिले साहित्यिकसहित सबैखाले किताबमा धेरै पाइरेसी हुन थालेको र सक्कलीको भन्दा नक्कलीको बिक्री चार-पाँच गुणा बढी हुन थालेपछि आधिकारिक किताब बेच्ने थोक तथा खुद्रा व्यापारीलाई टिक्नै गाह्रो हुने अवस्था आएको व्यवसायीहरू बताउँछन्। मण्डला बुक पोइन्टका महर्जन भन्छन्, “पहिला कुनै किताब २५ वटा बिक्री हुने ठाउँमा अहिले मुस्किलले पाँच कपी मात्रै बेच्न सक्छौँ। पाइरेटेड किताबको बजार फस्टाउँदा हामी मारमा परेका छौँ।”

न्यु इन्टरनेसनल बुक्सका दासको अनुभवमा पनि पहिले एउटै किताब ५०० प्रति बिक्थ्यो, अहिले कुनै किताब २० प्रति बिक्यो भने पनि ठूलो मान्नुपर्ने अवस्था छ।

नक्कली किताबको बजारले सक्कलीलाई धक्का दिएर व्यापार सुस्ताएपछि एमके पब्लिसर्सका श्रेष्ठ महँगो घरभाडा धान्न नसकेर भोटाहिटीबाट पसल सार्ने सोचमा पुगेका छन्। भन्छन्, “सबै विक्रेताले पहिले सानो पसल खोलेर ठूलोमा विस्तार गरेका हुन्। तर, अब नक्कली बेच्ने मात्र उँभो लाग्ने, सक्कली बन्द हुने अवस्था आउँदै छ।”

साहित्यिक, ‘सेल्फ हेल्प’ जस्ता किताबको पाइरेसीसँगै बजारमा पाठ्यक्रममा समावेश किताब र विदेशी भाषा सिकाउने किताबको समेत फोटोकपी गरेर बेच्ने काम भइरहेको छ। पुलचोक इन्जिनियरिङ क्याम्पस, कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय छेउछाउका फोटोकपी पसलमा यस्ता किताबको बिक्रीवितरण भइरहेको छ। बागबजारस्थित एएनएम प्रिन्ट्स हाउसले क्याम्ब्रिज युनिभर्सिटी प्रेसको आईएलटीएसका किताब फोटोकपी गरेर बेचिरहेको छ। एएनएम प्रिन्ट्सले निर्धक्क आफ्नो फेसबुक पेजमै भिडियो राखेको छ, जसमा एक हजार ४० रुपैयाँको किताब १२० मात्र पर्ने भनेर विज्ञापन गरिएको छ। न्यु इन्टरनेसनल बुक्सका दासका अनुसार यो भिडियो क्याम्ब्रिज प्रकाशनका मान्छेसम्म पुगिसकेको छ।

 

नेपालमा पेन्गुइन, हार्पर, सोलास्टिक, ब्लुम्सबरी, क्याम्ब्रिज, हाइचेट, पान म्याकमिलन इन्डिया, जाइको पब्लिसिङ हाउस आदि प्रकाशन गृहका किताब आउँछन्। अमेरिका, युरोपमा भएका यी अन्तर्राष्ट्रिय प्रकाशनका दक्षिण एसियाली संस्करण भारतीय शाखाले छापेर नेपाल पठाउँछ। विदेशी पुस्तकको नेपालमा आधिकारिक वितरक भए पनि एकद्वार वितरक भन्ने छैन। जसले सक्छ, अनौपचारिक माध्यमबाट पनि पुस्तक आयात गर्न सक्छ।

नेपाली बजारमा नक्कली किताब भित्रिएकोबारे नेपाली प्रकाशक र विक्रेताहरूले इमेल लेखेर सम्बन्धित प्रकाशन गृहलाई पटक पटक जानकारी गराउँदै आएका छन्। कथालय इन्कका संस्थापक जोशी भन्छन्, “हालै मिलर श्रेष्ठ र म दिल्ली पुगेर त्यहाँका तीनचारवटा ठूला प्रकाशन गृहका प्रतिनिधिसँग नेपालमा भइरहेको पाइरेसीबारे सचेत गराएका थियौँ।”

यसरी सचेत गराउने काममा मण्डला बुकका महर्जन पनि लागेका छन्। भन्छन्, “नेपालमा सस्तोमा बिक्री भइरहेका २०८ किताबको सूची मैले भारतका प्रकाशकहरूलाई पठाइसकेको छु।”

अनलाइन सपिङ साइट दराजमा एउटै किताबका फरक फरक मूल्य

नेपालका विक्रेता र व्यवसायीहरू भारतबाट आयात हुने विदेशी किताब त बेच्छन्, तर उनीहरू यी किताबका आधिकारिक विक्रेता होइनन्। यसैकारण उनीहरूले पाइरेसीको विषयमा कानुनी प्रक्रिया अघि बढाउन नसकेको र भारतीय प्रकाशक तथा विक्रेताको मुख ताक्नुपरेको सरोकारवालाहरू बताउँछन्।

औपचारिक/अनौपचारिक हिसाबले भारतका प्रकाशक तथा विक्रेता नेपालमा भइरहेको नक्कली किताबको धन्दाबारे जानकार छन्। तर, उनीहरू यस्ता गतिविधि रोक्न किन कुनै पहल गर्दैनन्? कथालय इन्कका संस्थापक जोशी भन्छन्, “कपीराइट कानुनी मुद्दा भएकाले यसमा समय र पैसा दुवै खर्च गर्नुपर्ने हुन्छ, त्यही भएर उनीहरू अनिच्छुक देखिएका हुन्। भारतभित्रै पाइरेसीको समस्या भोगिरहेका उनीहरू नेपालको समस्या हाम्रो वशको कुरा होइन भन्ने मानसिकतामा छन्।”

अनलाइन सपिङ साइट दराजमा एउटै किताबका फरक फरक मूल्य

नेपालका किताब विक्रेताहरू विदेशी लेखकका किताबको आधिकारिक प्रतिनिधि नभएकाले भारतीय प्रकाशनका प्रतिनिधि आएर मुद्दा दर्ता गर्नुपर्ने हुन्छ। यति मात्र गर्न सके हालको प्रतिलिपि कानुनले पनि काम गर्ने जोशीको धारणा छ। उनी आशावादी भने छन्, “भारतीय प्रतिनिधिले यहाँ आएर एउटा मुद्दा दर्ता मात्र गरिदिए बाटो खुल्छ। भारतमा पाइरेसी नियन्त्रण गर्न गाह्रो होला, तर नेपालको बजार सानो भएकाले पहल गरेमा नियन्त्रण गर्न सकिन्छ भनेर उनीहरूलाई बुझाउन सक्नुपर्‍यो। हामीले नेपाली प्रक्रियाबारे बुझाउन नसकेका पो हौँ कि?”

अनलाइन सपिङ साइट दराजमा एउटै किताबका फरक फरक मूल्य

पैरवी बुक हाउसका शिवाकोटी दिल्लीमा आयोजना हुने वर्ल्ड बुक फेयरमा प्रदर्शनीस्थलको गेटैमा खुलमखुला ठूलो संख्यामा पाइरेटेड किताब बेच्न राखिएको सुनाउँछन्। भन्छन्, “लेखक/प्रकाशकहरूकै आँखाअगाडि पाइरेटेड किताब बेच्न राखिएका हुन्छन्।” यसले भारतमा अनियन्त्रित रूपमा हुने पाइरेसीलाई देखाउँछ। यसकै असर नेपाललगायत दक्षिण एसियाली देशहरूमा फैलिएको उनको भनाइ छ।

नेपालमा पाइरेटेड किताबको बजार अनियन्त्रित हुँदै गए पनि यसलाई रोक्न सकिने कुरामा उनी आशावादी छन्। “सरोकारवाला संघसंस्था र राज्यले अलिकति पहल र निगरानी गरिदिने हो भने किताबको पाइरेसी नियन्त्रण हुनसक्छ,” उनी भन्छन्।

अनलाइन सपिङ साइट दराजमा एउटै किताबका फरक फरक मूल्य

नेपालमा पुस्तक व्यवसायीको हकहितका लागि काम गर्ने संस्था नेपाल राष्ट्रिय पुस्तक विक्रेता तथा प्रकाशक संघ (एनबीपीएएन) २०४६ सालदेखि सक्रिय छ। भारतीय प्रकाशक तथा विक्रेतालाई पाइरेटेड किताबबारे जानकारी दिने धेरै विक्रेता तथा व्यवसायी एनबीपीएन संस्थाका वर्तमान वा पूर्वसदस्यहरूसमेत हुन्।

एनबीपीएएनले गत वर्षको २८ पुसमा अनलाइन किनमेल साइट दराजलाई ‘पाइरेटेड पुस्तक बिक्री गर्ने विक्रेतालाई रोक लगाउन’ आग्रह गर्दै पत्राचार गरेको थियो। पत्रमा दराजका विभिन्न भेन्डरले ठूलो संख्यामा पाइरेटेड पुस्तक बिक्री गरिरहेको गुनासो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रकाशक तथा वितरकबाट आएको उल्लेख गरिएको थियो। ‘यसले गर्दा सक्कली पुस्तक प्रकाशक तथा वितरकहरूलाई ठूलो नोक्सानी भएको छ भने पुस्तक व्यवसाय नै धराशायी हुने अवस्था सिर्जना हुन गएको छ,’ पत्रमा लेखिएको छ, ‘दराज डटकममार्फत पाइरेटेड नक्कली पुस्तक बिक्रीवितरण गर्ने सबै भेन्डरहरूलाई दराज डटकमबाट स्थायी रूपमा बन्द गर्न आग्रह गर्दै यस्ता व्यवसायीलाई कानुनी कारबाहीका लागि सहयोग गरिदिनसमेत अनुरोध गरिन्छ।’

पाइरेटेड पुस्तक बिक्री गर्ने विक्रेतालाई रोक लगाउन आग्रह गर्दै एनबीपीएएनले दराज डटकमलाई लेखेको पत्र।

यो पत्र काटिएको नौ महिना बितिसक्दा दराजबाट पाइरेटेड किताबहरू हटाइएका छैनन्। अर्कातिर, पाइरेटेड किताबको बिक्री घट्नुको साटो झन् झन् बढिरहेको छ। यसले एनबीपीएएनजस्तो पुरानो संस्थाको प्रभावकारितामा प्रश्न उठेको कथालय इन्कका जोशी बताउँछन्।

एनबीपीएएनको सुस्त कार्यशैलीमा पैरवी बुक हाउसका शिवाकोटी पनि प्रश्न पर्छन्। प्रश्नसँगै उनी शंका पनि गर्छन्, “व्यावसायिक हकहितका लागि खोलिएको संस्था छ, तर उनीहरू आफैँ कति इमानदार छन्? कतै त्यहीँभित्रका मानिसहरूको कुनै स्वार्थ जोडिएको त छैन? त्यहीमध्येका कतिले पाइरेटेड किताब बेच्नुभएको छ कि?”

पाइरेसीविरुद्ध आवाज उठाउँदै आएका एमके पब्लिसर्सका श्रेष्ठ नक्कली किताबको समस्या ठूलो बनिसकेकाले यसमा एकदुई विक्रेता र व्यवसायी बोलेर नपुग्ने, संस्थागत पहल नै चाहिने बताउँछन्। भन्छन्, “यसमा एनबीपीएएनजस्तो संस्था खुलेर प्रतिबद्धताका साथ आउनुपर्छ, तब मात्र राज्य र विदेशी सरोकारवालालाई झकझक्याउन सकिन्छ।”