काठमाडौँ। पूर्वसभामुख तथा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा पक्राउ परेका छन्।
महरालाई भन्सार ऐन २०६४ तथा संगठित अपराध कसुरमा आइतबार पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले बताए।
श्रेष्ठका अनुसार ६८ वर्षीय महरालाई ललितपुर महानगरपालिका-२६ खुमलटारबाट पक्राउ गरिएको हो। १० पुस २०७९ मा त्रिभुवन विमानस्थलबाट बरामद भएको सुन प्रकरणको अनुसन्धानका लागि पक्राउ गरिएको श्रेष्ठले बताए।
त्यतिबेला चिनियाँ नागरिक ली हानसोङले दुई वटा सुटकेसभित्र ७३ बट्टामा सात सय ३० थान इलेक्ट्रिक सिगरेट (भेप) ल्याएका थिए। उक्त भेपभित्र गैरकानुनी रूपमा सुन तस्करी गरिएको थियो।
आठ करोड ५५ लाख २८ हजार तीन सय ७४ रुपैयाँ बराबरको उक्त सुन प्रकरणमा महरा जोडिए पनि उनलाई उन्मुक्ति दिइएको थियो।
