नेपालबाट विदेश पुगेको झोलुंगे पुल निर्माणको सीप र प्रविधि
गत ५ जेठमा अफ्रिकी मुलुक युगान्डाबाट चार जना इन्जिनियर काठमाडौँ आए। आएलगत्तै उनीहरू ललितपुरको पुलचोकस्थित स्थानीय पूर्वाधार विकास विभाग छिरे। तिनको आँखामा उत्सुकता थियो, नोटबुकमा प्रश्नका सूची थिए। उनीहरूको लक्ष्य थियो– नेपालको झोलुंगे पुल निर्माणको सीप र प्रविधि सिक्ने। विभागका अनुसार उनीहरूलाई युगान्डाको पूर्वाधार मन्त्रालयले नेपाल खटाएको थियो।
युगान्डाका चार प्राविधिकले नेपाली झोलुंगे पुलबारे विभागका अधिकारीसँग सोधखोज गरे। “नेपालमा झोलुंगे पुल कसरी बनिरहेका रहेछन्, आफ्नो देशमा नेपाली प्रविधि कसरी लैजान सकिन्छ भनेर बुझ्न इन्जिनियरको टोली आएको रहेछ,” विभागका प्रवक्ता शम्भु कार्की नेपालन्युजसँग भन्छन्, “हामीले हाम्रो देशमा बनेका त्यस्ता हजारौँ पुलबारे जानकारी दियौँ।”
युगान्डाको पूर्वाधार मन्त्रालयले उनीहरूलाई नेपाल पठाउनुअघि अर्को अफ्रिकी देश इथियोपियामा बनेका झोलुंगे पुलको प्रभावकारिताबारे अध्ययन गर्न भनेको थियो। सन् २००७ देखि इथियोपियाले नेपालको झोलुंगे पुलको प्रविधि अपनाउन थालेको हो। सन् २०२५ सम्म त्यहाँ २०० वटा पुल बनिसकेका छन्। ती झोलुंगे पुलबारे बुझ्दा त्यो प्रविधि नेपाली रहेको त्यहाँ कार्यरत नेपाली प्राविधिकले बताएपछि युगान्डाको टोली र इथियोपियामा पुल बनाइरहेका नेपाली इन्जिनियरबीच कुराकानी भयो। नेपाली इन्जिनियरले देखाए– स्विट्जरल्यान्डको गैरसरकारी संस्था हेल्भेटास। हेल्भेटास सन् १९७४ देखि काठमाडौँमा कार्यालय स्थापना गरेर झोलुंगे पुल निर्माणलगायत काममा सक्रिय छ।
युगान्डाका ती इन्जिनियर हेल्भेटास नेपालको झोलुंगे पुलसम्बन्धी सीप र प्रविधि सहयोग गर्ने एकाइ ‘ट्र्याक फोर चेन्ज’ मा पुगेका थिए। “यहाँ आएर सोध्नुभयो, हामीले लामा र अग्ला झोलुंगे पुल हेर्न बागलुङ जिल्ला जान सुझाव दियौँ,” हेल्भेटासका प्राविधिक निर्देशक ज्ञानेन्द्र राजभण्डारी भन्छन्।
त्यसपछि उनीहरू बागलुङ र पर्वत जोड्ने ५६७ मिटर लामो झोलुंगे पुल हेर्न गए। फर्कने बेला उनीहरूले हेल्भेटास नेपालमा छिरेर प्राविधिक सहयोगको याचनासमेत गरेको राजभण्डारीको भनाइ छ। भन्छन्, “युगान्डाले हामीसँग औपचारिक रूपमै प्राविधिक सहयोग नमागे पनि त्यहाँ नेपालको जस्तै झोलुंगे पुलको प्रविधि कसरी विकास गर्ने भन्नेमा उनीहरूको गहिरो रुचि देखियो।”
युगान्डाको मध्य र पश्चिम भागमा पहाड र उपत्यका छन्। त्यस्ता भूभागलाई आपसमा जोड्न युगान्डालाई झोलुंगे पुल चाहिएको छ।
विश्वका कैयौँ देशमा झोलुंगे पुल निर्माणको सीप र प्रविधि पुर्याउन हेल्भेटासले महत्त्वपूर्ण योगदान गरेको छ। हेल्भेटासकै माध्यमबाट नेपाली झोलुंगे पुल निर्माणको प्रविधि अहिलेसम्म करिब एक दर्जन देशमा फैलिएको छ। विभिन्न देशले माग गरेअनुसार हेल्भेटासले नेपालबाट ती देशमा प्राविधिक पठाउने गर्छ। स्थानीय पूर्वाधार विकास विभागका प्रवक्ता कार्की भन्छन्, “हाम्रो मुलुकबाट अरू देशमा कुनै सीप वा प्रविधि गएको छ भने त्यो झोलुंगे पुल नै हो।”
इथियोपियाको राजधानी अदिस अबाबामा कार्यरत हेल्भेटासका इन्जिनियर पदम गुरुङका अनुसार इथियोपियाका १२ वटा राज्यमध्ये ६ वटामा झोलुंगे पुल निर्माण भइरहेको छ। “हाम्रो काम नेपालको झोलुंगे पुलको प्रविधि यहाँ हस्तान्तरण गर्ने हो,” उनी भन्छन्, “हामी यहाँको इन्जिनियर टोलीलाई प्रशिक्षण दिनुका साथै फलामे सामान निर्माण कम्पनी र निर्माण व्यवसायीहरूमा पुल निर्माणको क्षमता वृद्धि गर्छौं, अनि निर्माणको गुणस्तर जाँच्दै सल्लाह दिँदै हिँड्छौँ।”

इथियोपियाको झोलुंगे पुल। तस्बिर : पदमबहादुर गुरुङ
इथियोपिया नेपालभन्दा आठ गुणा ठूलो छ। भौगोलिक हिसाबले पहाड र समथर दुवै ठाउँ छन्। यहाँ अहिलेसम्म बनेका पुल १२० मिटरभन्दा छोटा छन्। “अब १२० मिटरभन्दा लामो पुल बनाउने इथियोपिया सरकारको योजना छ,” गुरुङ सुनाउँछन्, “मानिसको आवतजावत हुन नसकेका ठूला नदीमा पुल बनाउने योजना देखिन्छ।”
अहिले बनेका पुलमा मानिस र मोटरसाइकल आउजाउ गर्न सक्छन्। भविष्यमा बन्ने पुलमा टेम्पोजस्ता तीनपांग्रे साधन गुड्न सक्ने गुरुङ बताउँछन्। हालसम्म बनेका पुलबाट आवतजावत मात्र सहज भएर यसको माध्यमबाट मानिसहरूले व्यापार-व्यवसायसमेत गर्न सकेकाले इथियोपिया सरकार उत्साहित भएको गुरुङ बताउँछन्। गुरुङले इथियोपियामा नेपालभन्दा विकट ठाउँ देखे। भन्छन्, “पुल बनेको ठाउँ पुग्न अदिस अबाबाबाट सातआठ सय किलोमिटर बसमा यात्रा गर्नुपर्छ, बसबाट उत्रिएपछि पनि घन्टौँ हिँड्नुपर्छ।”
इथियोपियापछि क्रमशः दक्षिण-पूर्वी एसिया हुँदै दक्षिण अमेरिका, अफ्रिका गरी नौ देशमा नेपालको झोलुंगे पुलको प्रविधि विस्तार भइरहेको छ। ती देशमा भुटान, इन्डोनेसिया, लाओस, होन्डुरस, ग्वाटेमाला, बुरुन्डी, तान्जानिया र भियतनाम पर्छन्। यी सबै देशमा ३०० वटा पुल बनिसकेको हेल्भेटासका प्राविधिक निर्देशक राजभण्डारी बताउँछन्।

ती देशमा नेपालबाट १५ भन्दा बढी इन्जिनियर गएर प्राविधिक सहयोग प्रदान गरिसकेका छन्। अहिले इथियोपियामा तीन इन्जिनियरले काम गरिरहेका छन्। उनीहरूले त्यहाँका इन्जिनियरलाई पुल बनाउन आवश्यक ज्ञान र सीप बाँडिरहेका छन्। “एक दर्जन देशले नेपालबाट प्रविधि लिएका छन्। अब युगान्डा पनि यही सूचीमा जोडिन खोज्दै छ,” राजभण्डारी भन्छन्, “भविष्यमा अफगानिस्तान र बाङ्लादेशमा यो प्रविधि पुर्याउने लक्ष्य हेल्भेटासले लिएको छ।”
झोलुंगे पुल निर्माणको अर्थ दुई किनारा जोड्नु त हो नै, यो विश्वासको पुल बनेको छ दुई फरक भूगोल तथा गाउँ र सहरबीच। नेपालमा विकसित झोलुंगे पुल मानव जनशक्तिमा आधारित, कम लागत, कम समय लाग्ने, ग्रामीण जीवनका लागि अत्यन्त उपयोगी बनेको छ। आज यो प्रविधि यस्तो मोडल बन्यो, जसले विकासशील राष्ट्रहरूलाई साना उपायबाट ठूलो परिवर्तन सम्भव छ भन्ने पाठ सिकायो। “नेपालमा बनेका झोलुंगे पुलले आवतजावत र मानिसको दैनिक जीवनयापन सहज भएको देखेर अफ्रिकीलगायत मुलुकमा प्रविधि गयो, खासगरी अफ्रिकाका गाउँहरूलाई झोलुंगे पुलले ठूलो भर दिएको छ,” राजभण्डारी भन्छन्।
नेपालमा झोलुंगे पुलमा जडान हुने लठ्ठा भारत र चीनमा बन्छन्। नट–बल्टु, फलामे सामान, रड, सिमेन्ट आफ्नै देशको प्रयोग हुने गरेको छ। अहिले जहाँ जहाँ झोलुंगे पुल बनिरहेका छन्, भारत वा चीनबाटै लठ्ठा गइरहेका छन्। सडक पुल राख्न नसकिने ठाउँमा झोलुंगे पुलको माग बढिरहेको छ। बीचमा पिलर राखेर पुल बनाउने अभ्यास बढ्दै गएको छ।

इथियोपियामा नेपाली शैलीको झोलुंगे पुल। तस्बिर : पदमबहादुर गुरुङ
नेपालमा विसं २०२१ देखि असार २०८२ सम्म ११ हजार ४२७ वटा पुल बनिसकेका छन्। स्थानीय पूर्वाधार विकास विभागका अनुसार यस्ता पुल ५-६ महिनाभित्र जोड्न सकिन्छ। १०० मिटर पुल निर्माण गर्न करिब ४० देखि ५० लाख रुपैयाँसम्म खर्च हुन्छ। जुन बीचमा पिलर राखेर सडक पुल बनाउनुभन्दा सस्तो पर्छ।
नेपालमा कसरी आयो झोलुंगे पुल?
नेपालमा झोलुंगे पुल बन्न थालेको राणाशासनको बेला हो। स्कटल्यान्डबाट ल्याइएका सामानहरू प्रयोग गरेर तत्कालीन शासकले व्यापारिक मार्ग जोड्ने उद्देश्यले झोलुंगे पुल बनाउन थाले। विभिन्न व्यापारिक मार्गमा त्यसबेला बनाइएका दुई दर्जनभन्दा बढी झोलुंगे पुल अझै छन्। फर्पिङ, टेकु, सुन्दरीजल, चोभारमा रहेका राणाकालीन पुल अझै प्रयोगमा छन्।
२००७ सालमा प्रजातन्त्र स्थापना भएपछि योजनाबद्ध विकास सुरू भयो। २०१३ सालमा प्रथम पञ्चवर्षीय योजना लागू गरियो। नेपालसँग विकास योजना तर्जुमाको अनुभव नभएकाले विकास योजनाको प्रारूप तयार गर्न विदेशी विशेषज्ञहरूको सेवा लिइयो। त्यस क्रममा स्विट्जरल्यान्डका भूगर्भशास्त्री टोनी हागन नेपाल आएका थिए। नेपालको विकास योजना तर्जुमा गर्ने क्रममा उनी धेरै जिल्लामा भ्रमणमा जाँदा ‘झोलुंगे पुल’ निर्माण नै जनताको चाहना हो भनी रिपोर्ट दिएका थिए। तत्पश्चात् तत्कालीन शाही सरकारले २०२० सालमा सार्वजनिक निर्माण विभागअन्तर्गत ‘सस्पेन्सन ब्रिज डिभिजन’ स्थापना गर्यो। यसको स्थापनापछि नेपालमा योजनाबद्ध ढंगले झोलुंगे पुलको निर्माण थालनी भयो।

स्विस सरकारले सन् १९६० देखि नै झोलुंगे पुल निर्माणमा नेपाललाई सहयोग गर्न थाल्यो। स्विस सरकारको अनुदानमा हेल्भेटासले स्थानीय तहमा झोलुंगे पुल निर्माणका लागि नेपाल सरकारलाई प्राविधिक सहयोग गर्ने, लठ्ठाको वितरण व्यवस्थापन गर्ने, लठ्ठा तथा बुल डग ग्रिप्सको गुणस्तर कायम गर्ने, विभिन्न ‘टेक्निकल म्यानुअल’ तयार गर्ने, तालिम सञ्चालन गर्नेजस्ता कार्यमा सघाउँथ्यो। सन् २०२३ देखि भने हेल्भेटासले नेपाल सरकारलाई पुल निर्माणमा सहयोग गर्न छोडेको छ। त्यसयता नेपाल सरकार आफैँले काम गर्दै आएको छ।
यस्ता झोलुंगे पुलको आयु ५० वर्ष रहने अनुमान इन्जिनियरको छ। “नट–बल्टु र फलामलाई खिया लाग्नबाट जोगाए र मर्मत गरिरहे यस्ता पुल वर्षौंसम्म टिक्दा रहेछन्, नेपालमा राणाशासनका बेला बनाइएका झोलुंगे पुल अझै टिकिरहेकै छन्,” विभागका इन्जिनियर हुमाकान्त मिश्र भन्छन्।
थरीथरीका झोलुंगे पुल : पिलरेदेखि तीनमुखेसम्म
नेपालका तराई, पहाड, हिमाल सबैतिर झोलुंगे पुल बनाइएका छन्। ती पुल विभिन्न तरिकाले डिजाइन गरिएका छन्। पिलर नराखी बनाइएका झोलुंगे पुल धेरै छन्। पछिल्लो समयमा खोला तथा नदीको बीचमा पिलर राखेर झोलुंगे पुल बनाउने क्रम बढ्दो छ।
अहिले सबैभन्दा लामो झोलुंगे पुल सुस्ताको नारायणी नदीमा छ। उक्त पुल एक हजार ५७१ मिटरको छ। त्यसपछिको लामो पुल महाकालीको चाँदनी दोधारामा एक हजार ४५२ मिटरको छ।

झोलुंगे पुल निर्माण हुनुपूर्व यसरी वारपार गर्थे इथियोपियाली
गुल्मी, पाल्पा, स्याङ्जाको कालीगण्डकी नदीको संगमस्थलमा तीन जिल्ला जोड्ने तीनमुखे पुल बनाइएको छ। तीन जिल्लाको धार्मिक तीर्थस्थल पाल्पा, गुल्मी, स्याङ्जा जिल्लालाई जोड्ने कालीगण्डकीको रिडीमा निर्माण भएको उक्त पुललाई नेपालकै नमुना मानिएको छ। उक्त पुलको बीचमा नौ मिटर गोलाइ भएको एउटा पिलर छ। पुलमा २५ मिटर उचाइसहितको भ्युटावर, तीन जिल्लाको तीनैतर्फ १७७ मिटर लामो झोलुंगे पुल निर्माण गरिएको छ। यो पुलले स्याङ्जाको कालीगण्डकी गाउँपालिका–१ चण्डीभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका–१४ अर्गली र गुल्मीमा रुरुक्षेत्र गाउँपालिका–१ रिडी जोडेको छ। पुल बनेसँगै पुलको एउटा मुखबाट पस्ने मान्छे जुन जिल्लामा जान चाह्यो त्यही जिल्लामा जान पाएका छन्।
स्विट्जरल्यान्डमा पर्यटकीय क्षेत्रमा छोटो पुल बनाउने गरिएको छ। नेपालमा समेत त्यसको प्रभाव छ। साँगामा पर्यटक आकर्षित गर्न त्यस्तै पुल बनाइएको छ।
सडक सञ्जाल नपुगेका तथा खोल्सा र खोलानालाहरूले गाउँबस्तीलाई अलग बनाएको भूगोलमा झोलुंगे पुल पैदल आवागमनको भरपर्दो माध्यम बनेको छ।
जाजरकोट, गोरखा, रोल्पा, दोलखा, बाजुरा, संखुवासभा, मुगुजस्ता जिल्लाहरूमा झोलुंगे पुलले लाखौँको जनसंख्यालाई विद्यालय जान, बिरामी बोकेर स्वास्थ्य चौकी पुर्याउन, कृषि उपज बजार लैजान र सामाजिक गतिविधिमा सहभागी हुन सहयोग पुर्याएको छ। कतिपय ठाउँमा पुल नहुँदा अर्को किनारको बस्तीमा पुग्न धेरै घुमेर जानुपर्ने बाध्यता थियो, जहाँ झोलुंगे पुलले दुरी र समय छोट्याइदिएको छ। “सुस्ताको नारायणी नदीमा झोलुंगे पुल बन्नुअघि गण्डक नहरको भारतीय भूमि भएर नेपाली जानुपर्थ्यो,” स्थानीय पूर्वाधार विकास विभागका प्रवक्ता कार्की भन्छन्।
नेपालमा सबैभन्दा धेरै झोलुंगे पुल बागलुङ जिल्लामा छन्। एक हजारभन्दा बढी झोलुंगे पुल रहेकाले यसलाई झोलुंगे पुलको जिल्ला पनि भनिन्छ।

बागलुङ नगरपालिकाका मेयर वसन्तकुमार श्रेष्ठ झोलुंगे पुलका कारण आवतजावतमा सहजता, व्यापार प्रवर्द्धन, कृषिजन्य सामग्रीको बजारीकरणमा सघाउ पुगेको बताउँछन्। पुल हेर्नकै लागि आन्तरिक पर्यटक भित्रिरहेको र यसले पर्यटन व्यवसाय फस्टाएको उनको भनाइ छ। “यहाँ लामा र अग्ला झोलुंगे पुल छन्, एक डाँडाबाट अर्को डाँडा जोडिएका पुल छन्,” उनी भन्छन्, “अहिले गाउँ गाउँमा बाटो जोडिएर केही पुल विस्थापित भए पनि यसको महत्त्व कम भएको छैन।”
नेपालको झोलुंगे पुल आज भौगोलिक अवरोध पार गर्ने उपायमा सीमित छैन, विश्व विकासको एजेन्डामा ‘कम लागत–उच्च प्रभाव’ को नेपाली पाठशाला बनेको छ। झोलुंगे पुल कुनै चम्किलो यान्त्रिक आविष्कार होइन, अत्याधुनिक प्रविधि पनि होइन। यो साधारण संरचना, नेपाली भौगोलिक र सामाजिक आवश्यकताबाट जन्मिएको सीप आज विश्वका विकट बस्तीहरूलाई जोड्ने माध्यम बनेको छ।

इथियोपियामा झोलुंगे पुल निर्माणसम्पन्न भएपछि अफ्रिकी प्राविधिकसँग पदमबहादुर गुरुङ
इथियोपियामा कार्यरत हेल्भेटासका इन्जिनियर गुरुङ भन्छन्, “झोलुंगे पुलले गाउँ र बजार, बिरामी र अस्पताल, विद्यार्थी र विद्यालय, किसान र बजारबीच सम्बन्ध गाँस्छ। जब इथियोपियाको पहाड, युगान्डाको उपत्यका, लाओसको खोला या होन्डुरसको खोंचमा यही नेपाली शैलीको पुल देखिन्छ, त्यो इन्जिनियरिङको मात्र विस्तार होइन, साझेदारी र सम्भावनाको निर्यात पनि हो।”