काठमाडौँ। साताको पहिलो कारोबार दिन आइतबार नेप्सेमा पहिरो गएको छ। ७८.८३ अंकले घटेको सेयर बजार दुई हजार पाँच सय तीन दशमलब ३५ बिन्दुमा अडिएको छ।
नेप्सेमा आइतबार ६ अर्ब ७० करोड ७२ लाख ४५ हजार दुई सय ६६ रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन बिहीबार बिहीबार पाँच अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। तीन सय २४ कम्पनीको कारोबार भएको नेप्सेमा आइतबार ६७ हजार दुई सय दुईपटकको कारोबारमा एक करोड ४३ लाख ६४ हजार ६ सय ८२ कित्ता सेयर किनबेच भए।
राताम्मे बनेको नेप्सेमा सबै समूहका सूचक घटे। जसमा होटेल तथा पर्यटन समूह सबैभन्दा धेरै ४.८४ प्रतिशत घट्यो। त्यस्तै अन्य समूह ४.७९ प्रतिशत घट्यो।

आजको दिनमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ६.०१ प्रतिशत बढ्यो। बुटवल पावर कम्पनी लिमिटेडको मूल्य भने सबैभन्दा बढी ९.२७ प्रतिशत घट्यो।
आज धेरै कारोबार भएको नेपाल पुनर्बिमा कम्पनीको ३८ करोड सात लाख ४७ हजार ७२ रुपैयाँ बराबरको कारोबार भयो । युनियन हाइड्रो पावर लिमिटेडको सात लाख २६ हजार ६ सय ७३ कित्ता सेयर किनबेच भए।