काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२६ आश्विन २०८२
तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदको दाबीका बारेमा पाकिस्तानले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। तस्बिर : गेट्टी इमेजेज्
अ+
अ-

काठमाडौँ। अफगानिस्तानको तालिबान सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले पाकिस्तानी आक्रमणको प्रतिकारमा ५८ पाकिस्तानी सैनिक मारिएको दाबी गरेका छन्। उनले आक्रमणका क्रममा ३० जना घाइते भएको पनि दाबी गरेका छन्।

काबुलमा आइतबार पत्रकार सम्मेलन गर्दै उनले भनेका छन्, ‘प्रतिशोधात्मक कारबाहीमा २० पाकिस्तानी चौकी कब्जा गरिएको थियो, तर लडाइँ सकिएपछि फिर्ता गरिएको थियो।’

मुजाहिदको दाबीका बारेमा पाकिस्तानबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन। यद्यपि गृहमन्त्री मोहसिन नक्वीले शनिबार राति अफगानिस्तानको कारबाहीको प्रभावकारी रूपमा बदला लिइएको दाबी गरेको बीबीसीमा समाचार छ।

प्रवक्ताले झडपका क्रममा नौ तालिबानी कर्मचारी मारिएको र २० भन्दा बढी घाइते भएको पनि पुष्टि गरे। आईएसआईएस प्रमुख पाकिस्तानमा रहेको र संगठन अझै पनि खैबर पख्तुनख्वा र बलुचिस्तान प्रान्तमा सक्रिय रहेको प्रवक्ता मुजाहिदको आरोप छ।

उनले भनेका छन्, ‘आईएसआईएस अफगानिस्तानबाट हटाइएको छ। त्यसका तालिम केन्द्रहरू पाकिस्तानमा रहेका छन्। त्यसैले अन्तर्राष्ट्रिय समुदायले यसमा ध्यान दिनुपर्छ।’

उनले अफगान विदेशमन्त्रीको भारत भ्रमण कुनै पनि देशविरुद्ध निर्देशित नभएको र कसैले पनि यसमा आपत्ति जनाउन नहुने धारणा राखेका छन्।