काठमाडौं। परराष्ट्र मन्त्रालयले प्यालेस्टाइनी अतिवादी समूह हमासले बन्धक बनाएका विपिन जोशीको अवस्था अज्ञात रहेको जनाएको छ। मन्त्रालयले इजरायली समयअनुसार इजरायलका लागि नेपाली राजदूत, विपिन जोशीका परिवारका सदस्यहरु, इजरायलको परराष्ट्र मन्त्रालय तथा प्रधानमन्त्री कार्यालयका अधिकारीसहितको भर्चुअल बैठकमा इजरायली सेनाले जोशीको अवस्था अज्ञात रहेको जानकारी गराएको जनाएको छ।
‘आज बिहान इजरायलको स्थानीय समयअनुसार ७:३० बजे इजरायली सेना (आईडीएफ) ले इजरायलका लागि नेपाली राजदूत, विपिनका दाजु किशोर, आमा, बहिनी, इजरायली परराष्ट्र मन्त्रालय र इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारीसहितको भर्चुअल बैठक आयोजना गरी आज रिहा हुने बन्दीहरुमा निज विपिन जोशीको नाम समावेश नभएको र उनको अवस्था अज्ञात रहेको जानकारी प्राप्त भएको छ,’ मन्त्रालयले भनेको छ।
हमासका लडाकुहरुले इरजायलमा आक्रमण गरी ७ अक्टोबर २०२३ मा जोशीसहित सयौं व्यक्तिलाई बन्धक बनाएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको मध्यपूर्व शान्ति योजनाको प्रथम चरणमा हमासले बन्धकमध्ये केहीको आज रिहा गरेका छन्। ‘हमासको कब्जामा रहेका सबै जीवित बन्दीको रिहाइ र मृत बन्दीको शव हस्तान्तरण प्रक्रिया पूरा नभएसम्म मन्त्रालयले यस विषयमा निरन्तर रुपमा जानकारी अद्यावधिक गर्ने व्यहोरा अनुरोध छ,’ विज्ञप्तिमा उल्लेख छ।
कृषि विज्ञानका विद्यार्थी जोशी लर्न एन्ड अर्न कार्यकार्यअन्तर्गत इजरायल पुगेका थिए ।