काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२७ आश्विन २०८२
अ+
अ-

काठमाडौँ। रौतहट जिल्लाको गौर नगरपालिका–१ कानुपट्टीस्थित भित्री सडकखण्डमा पानी जमेको खाल्डोमा परी बेपत्ता भएका तीन बालिकाको शव फेला परेको छ।

सशस्त्र प्रहरीका अनुसार सोमबार बिहान तीन जनाको शव फेला परेको हो। राजदेवी नगरपालिका–८ स्थित लक्ष्मीपुरकी १३ वर्षीया आस्थाकुमारी बैठा, १५ वर्षीया राधनीकुमारी यादव र १५ वर्षीया मौसमीकुमारी बैठाको शव फेला परेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले बताए।

उनीहरू बिहान घाँस काट्न भनी हिँडेका थिए, पानी जमेको खाल्डोमा खसेर बेपत्ता भएका थिए। “असोज १७ गतेदेखि लगातार परेको वर्षाका कारण बाढीले पानीको ठूलो खाल्डो बनाएको ठाउँमा बालिकाहरू डुबेको पाइएको छ,” थापाले भने।

घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा गुल्म गौरबाट खटिएको रबर बोटसहितको टोली र नेपाल प्रहरीको संयुक्त टोलीले स्थानीयको सहयोगमा शव खाल्डोबाट निकालेको थापाले बताए।

ती बालिकासँगे घाँस काट्न गएका सोही ठाउँ बस्ने १५ वर्षीया मुस्कानकुमारी राम, १३ वर्षीया मुस्कानकुमारी बैठा, १० वर्षीया चन्द्रमुखी राम र १५ वर्षीया सुनिताकुमारी बैठालाई भने स्थानीयले सकुशल उद्धार गरेका थिए।