२८ आश्विन २०८२
फाइल तस्बिर।
अ+
अ-

काठमाडौँ। नेपालको आर्थिक वृद्धिदर गत आव ०८१/८२ मा चार दशमलव ६१ प्रतिशत र अर्थतन्त्रको आकार ६१ खर्ब सात अर्ब २२ करोड रुपैयाँबराबर देखिएको छ।

अर्थ मन्त्रालयले आज (मंगलबार) सार्वजनिक गरेको गत आवको वार्षिक प्रतिवेदनअनुसार गत आवमा कुल १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ विनियोजन गरिएकामा १५ खर्ब १२ अर्ब ९८ करोड रुपैयाँ अर्थात् ८१ दशमलव ३३ प्रतिशत खर्च भएको छ।

चालु खर्चमा ११ खर्ब ४० अर्ब ६७ करोड रुपैयाँ विनियोजन भएकामा नौ खर्ब ५६ अर्ब ३६ करोड रुपैयाँ अर्थात् ८३ दशमलव ८४ प्रतिशत खर्च भएको छ। पुँजीगततर्फ तीन खर्ब ५२ अर्ब ३५ करोड रुपैयाँ विनियोजन भएकामा दुई खर्ब २३ अर्ब ९४ करोड रुपैयाँ अर्थात् ६३ दशमलव ५६ प्रतिशत खर्च भएको छ। वित्तीय व्यवस्थातर्फ तीन खर्ब ६७ अर्ब २८ करोड रुपैयाँ विनियोजन भएकामा तीन खर्ब ३२ अर्ब ६७ करोड रुपैयाँ अर्थात् ९० दशमलव ५८ प्रतिशत खर्च भएको प्रतिवेदनमा जनाइएको छ।

गत आवमा कुल ११ खर्ब ९६ अर्ब १८ करोड ९८ लाख राजस्व सङ्कलन भएको छ। जसमध्ये कर राजस्व १० खर्ब ४९ अर्ब ८७ करोड ५४ लाख रुपैयाँ, गैरकर राजस्व एक खर्ब २८ अर्ब ९४ करोड ४८ लाख रुपैयाँ र अन्य प्राप्ति १७ अर्ब ३६ करोड ९६ लाख रुपैयाँ रहेको अर्थ मन्त्रालयले जनाएको छ। बजेटमा लक्ष्य गरिएको राजस्व संकलन लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड ३० लाख रुपैयाँको तुलनामा ८४ दशमलव २८ प्रतिशत राजस्व संकलन भएको हो।

गत आवमा अनुदान २३ अर्ब ५३ करोड रुपैयाँ र ऋण एक खर्ब २५ अर्ब ४० करोड रुपैयाँ गरी कुल एक खर्ब ४८ अर्ब ९३ करोड वैदेशिक सहायता प्राप्त भएको छ। गत आवको कुल वैदेशिक सहायतामध्ये अनुदान १५ दशमलव ८० प्रतिशत र ऋण ८४ दशमलव २० प्रतिशत बराबर हो।

घाटा बजेट परिपूर्तिका लागि गत आवमा सरकारले तीन खर्ब २९ अर्ब ९९ करोड रुपैयाँ आन्तरिक ऋण एक खर्ब २५ अर्ब ४० करोड रुपैयाँ बाह्य ऋण गरी कुल चार खर्ब ५५ अर्ब ३९ करोड रुपैयाँबराबरको सार्वजनिक ऋण परिचालन भएको छ।

यो पनि…

दुई महिनामा भित्रियो साढे तीन खर्ब रेमिट्यान्स