काठमाडौँ। शिल्पी थिएटरको प्रसिद्ध नाटक ‘लस्ट एन्ड फाउन्ड’ अब काठमाडौँबाहिरका दर्शकले पनि हेर्न पाउने भएका छन्। अहिले शिल्पी थिएटरको टिम नाटक लिएर तिहारअघि देशका चार सहरमा प्रदर्शनका लागि निस्किएको छ।
२८ असोजमा भरतपुरको नारायणी कला मन्दिरबाट सुरु हुने नाटक मञ्चन ३० असोजमा दमौली पुग्नेछ। पोखराको पोखरा थिएटरमा १ कात्तिकमा मञ्चनपश्चात् घोराहीको दियालो होटलमा नाटक मञ्चन हुनेछ।
नाटकमा अनागरिकका कथा, महिला मनोभावना, ऐतिहासिक पात्र यशोधरामार्फत भूत र वर्तमानकालको चेतना संयोजन, सम्बन्धका गहिराइ र पात्रहरूको मनोदशा, अस्पष्टता, कलिलो उमेरमै गरिएका विवाहका दुखान्त देखाइएको छ। पुरुषार्थ सिद्द गर्न सधैँ उद्वेलित नेपाली समाजको द्वेद चरित्र अनि महिलावादी आलोचनात्मक दृष्टिकोण नाटकमा चित्रित छ।
नाटकमा प्रविधि र प्रकाशको मनमोहक संयोजनसमेत छ। एक घण्टा ४० मिनेटको लस्ट एन्ड फाउन्ड नाटकका लेखक अनि निर्देशक घिमिरे युवराज हुन्।