काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

प्रवास

किभ सहरमा राति ११ बजे कर्फ्यु सुरु हुन्छ। लगभग हरेक रात एयर अलर्ट थपिन्छ। ड्रोनहरू रानी हराएका मौरीझैँ भनभनी घुम्न थाल्छन्। भुनभुनाहट विस्फोटमा परिणत हुनुअघि सारा सहरवासी हतारहतार बेसमेन्ट, बंकर अनि जमिनमुनिबाट गुड्ने रेल स्टेसनतिर झर्न थाल्छन्।

२८ आश्विन २०८२
अ+
अ-

साढे तीन वर्षदेखि युद्धग्रस्त मनोदशामा संकट थप्दै बज्ने ‘एयर अलर्ट’ कानमा पर्नासाथ रघुनाथ शाहको पहिलो काम भनेकै आफ्नो परिवारलाई घरको पाँचौँ तलाबाट हतारहतार बेसमेन्टमा पुर्‍याउने हुन्छ। त्यसपछि नजिकै रहेका हितैषी विमल दाहालको घरतिर शाहको नजर दौडिन्छ। एयर अलर्टपछि पनि सुत्ने कोठामा उज्यालो देख्नासाथ उनी विमललाई फोन लगाएर भनिहाल्छन्–‘तिम्रो बेडरुममा अझै बत्ती बलिरहेको देख्छु त! इरा (विमलकी पत्नी)लाई लिएर तल बेसमेन्टमा गइहाल त।’ यो रघुको स्वरमा विमलका लागि स्नेहले भरिएको आलो आदेश हो।

रघुलगायत सबैलाई युक्रेनको चिसो बेसमेन्टको रात कटाइ असहज हुन्छ। विमललाई त जेलमै हालेजस्तो अनुभूति हुन्छ रे। कहिलेकाहीँ विमल एयर अलर्टको पनि वास्ता नगरी माथिल्लो तलामै ढुक्कसँग रात बिताइदिँदा रहेछन्।

त्यो पोल इराले नै खोलिदिएपछि रघुले विमललाई आधारभूत सुरक्षाको न्यूनतम उपाय बेवास्ता नगर्न अटेरी बालकलाई जस्तै सम्झाइरहनुपर्ने रहेछ। दैनिक सरदर दुईपटक एयर अलर्टको कर्कश आवाज सुन्दा मन बेचैन मात्रै होइन, हरेस खाने गरी सुस्केरा हाल्ने रहेछन्। ‘ड्रोनको आक्रमणले मर्न लेख्या रहेछ भने त्यसैले मर्नुपर्ला। हुने कुरा टारेर टर्दैन रे,’ विमल भन्छन् रे। म, रघु र विमल तीनैजना उपस्थित एक बसाइमा रघुले थपे, ‘मरियो भने त ठीकै छ, तर घाइते भएर बाँच्नुपर्‍यो भने त बर्बादै हुन्छ नि।’

युक्रेनको सरकारी तथ्यांकअनुसार रुस र युक्रेनबीच फेब्रुअरी २०२२ बाट युद्ध सुरु भएयताको साढे तीन वर्षमा राजधानी किभमा मात्रै एक हजार ७९० पटकसम्म एयर अलर्ट बजेको रहेछ। रघु र विमल आआफ्ना परिवारसँग पश्चिम किभको एउटा सुन्दर टोलमा ३५ वर्षदेखि बसोबास गरिरहेका छन्। दुवै परिवारले औसत युक्रेनियनभन्दा राम्रो जीवनयापन गर्दै आएका छन्।

रघु सन् १९८६ र विमल सन् १९८७ मा ‘कोलम्बो प्लान’ अन्तर्गत तत्कालीन सोभियत संघमा सिभिल इन्जिनियरिङ विषयमा छात्रवृत्तिमा पढ्न गएदेखि नै उतै बसेका रहेछन्।

युक्रेनी सेनाको ट्याङ्कसँग पङ्क्तिकार

त्यतिबेलैदेखि युक्रेन इन्जिनियरिङ विषय अध्ययन गर्न चाहनेहरूको रोजाइको ठाउँ रहेछ। दुवैले त्यहीँ पढे, घरजम पनि त्यहीँ गरे। व्यापार-व्यवसाय, रोजगारी जे भने पनि उनीहरूको स्थायी थातथलो भनेकै त्यहीँ हुन पुग्यो, सन्तान त्यहीँ हुर्काए। जन्मे-हुर्केको नेपाल र यहाँ भएका नातागोताको मायाले स्वदेश फर्किने सोच नपलाएको भने होइन। तर, विमल भन्छन्, ‘युरोपेली जीवनशैलीमा अभ्यस्त भएपछि यसै चटक्क छोडेर हिँड्न सकिँदो रहेनछ।’ रघु पनि यसैमा ‘हो’ थप्छन्।

‘छात्रवृत्ति पाएर आउनेमा रघु मभन्दा एक ब्याच मात्रै सिनियर हो। तर, म उसलाई साथी कम र दाजु बढी मान्छु। किभमा त मेरो अभिभावक नै हो ऊ। बालबच्चा हुर्केर आफ्नो बाटो लागेपछि त म र इराप्रति उसको अभिभावकत्व अझ बढेको छ,’ विमल भन्छन्।

कामको सिलसिलामा युक्रेन पुग्दा भेट भएका रघु र विमलसँगका सुखदुःखका छरपस्ट जीवनकथा मेरो स्मृतिमा आजपर्यन्त बसिरहेको छ। युद्धको चपेटाले जीवन-मरणको ठेगान छैन। तर पनि, रघु बगैँचामा रसिला कुरा गर्दै गफिँदै गए। मलाई पनि रघु र विमलको ४० वर्षदेखिको मित्रताको कहानी बडो रोचक लाग्दै गयो। दुवैबीच आत्मीयतामा हुर्किएको भाइचाराको सम्बन्ध लोभलाग्दो थियो।

जुलाई २०२५ को पहिलो शनिबार साँझ मलगायत विदेशी नियोग तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा कार्यरत नेपालीसहित सात जनाको समूह विमलको घरमा डिनरको निम्तोमा थियौँ। साँझ रमाइलोमै बित्यो। अझ भनौँ, खानपिनको रमाइलो। साँझ ६ बजेतिर खाना खाँदै गर्दा एकाएक एयर अलर्ट बज्यो। म नयाँ भएकाले ‘अब के हुने होला’ सोचेर आत्तिएँ पनि। ऐँठनजस्तो भयो। तर, विमलले आश्वस्त पारे, ‘चिन्ता लिनु पर्दैन। दिउँसो आउने ड्रोनहरू विस्फोट हुँदैनन्। तिनमा क्यामेरा जडान गरेर पठाएको हुने रहेछ। ती ड्रोनले राति कहाँ हान्ने भनेर सूचना लिएर जान्छन् रे। बरु आज राति रुसले पक्का किभमा हान्छ।’

युद्धरत युक्रेनबाट जर्मनी वा अन्य युरोपेली मुलुक जान पहिलेजस्तो सजिलो छैन। रुसी आक्रमणको डरले गर्दा हवाई यातायात पूर्ण रूपमा बन्द छ। बाहिर निस्कने माध्यम रेल वा बस यातायात मात्र भएकाले समयमै टिकट पाउन पनि मुस्किल छ।

खाना खाएर उठ्ने बेला विमलको ‘एक पेग ह्विस्कीले अन्तिम चेयर्स गरौँ न’ भन्ने अनुरोधलाई हार्दिकतापूर्वक ‘अर्को भेटमा है’ भनेर हामी हतारहतार आफ्नो वासस्थानतिर जान उज्यालोमै हिँड्यौँ। ट्याक्सीमा फर्कंदै गर्दा रेडक्रसको अन्तर्राष्ट्रिय समिति आईसीआरसीका लागि युक्रेनका कार्यवाहक प्रमुख जगदीश श्रेष्ठले बडो मार्मिक विषय राखे, ‘हाम्रो नियन्त्रणमा भएको एउटै कुरा के हो भने, हामी लापरवाहीबाट आफूलाई जोगाउन सक्छौँ र जोगाउनुपर्छ। हाम्रो नियन्त्रणभन्दा बाहिरका कुराबारे त जति गफ गरे पनि भयो।’

नभन्दै त्यही राति रुसले किभलाई निसानामा राखेर ड्रोनहरू बर्सायो। जनधनको क्षति भयो। युद्ध सुरु भएदेखि किभले सबैभन्दा धेरै क्षति त्यही दिन बेहोर्नुपरेको थियो।

रुसी आक्रमणमा परेको किभ

युद्धको सन्त्रासले अवसरको खोजीमा हिँड्ने आप्रवासीहरू पातलिँदै जानु स्वाभाविक नै हो। अहिले त सदियौँदेखि बसिआएका युक्रेनियनहरूसमेत युद्धको आर्तनादबाट बच्न अन्य मुलुकमा बसाइँसराइ गरिरहेका छन्। तर, युक्रेनमा नेपाली समुदायको उपस्थिति दुर्लभ चाहिँ होइन रहेछ। राजधानी किभ, ओडेसा, डिनिप्रो, लभिभ आदि सहरहरूमा रघु अनि विमल जस्तै व्यापार-व्यवसाय गरेर बस्ने केही नेपाली अझै भेटिन्छन्।

‘सिभिल इन्जिनियरको काम र व्यापार त युद्धले ध्वस्त बनाइहाल्यो नि। तर युद्ध सकिनासाथ हामीजस्तो व्यस्त कोही हुनेवाला छैन। युक्रेनको पुनर्निर्माण हाम्रो काँधमा पनि थपिनेवाला छ र हामी युक्रेनलाई पुरानो अवस्थामा ल्याउन तयार छौँ,’ आफ्नो आधा जीवनभन्दा बढी किभवरपर नै बिताएका रघु भन्छन्। अहिले किभ युद्धको चपेटामा परेकाले पुनर्निर्माणमा बढी आर्थिक कठिनाइ भएको विमलको बुझाइ छ। भन्छन्, ‘तर हामी सँगै उठ्छौँ। यहाँभन्दा भासिने ठाउँ नै छैन।’

चाहना भएर पनि २०२५ अगस्टमा परेको कृष्ण जन्माष्टमी किभमा अवस्थित अन्तर्राष्ट्रिय कृष्ण सचेतना समाजको भव्य मन्दिरमा सँगै उपस्थित भएर मनाउन भने पाइएन। युद्ध-संकटकाल लागेको समयमा बाहिर १० जनाभन्दा बढी मानिस भेला हुन निषेध गरिएकाले हामीलाई छुट्टाछुट्टै समयमा बढीमा पाँच जनाको संख्या नबढ्ने गरी आउन भनिएको थियो। रबिन दाजु, माधव, निर भाइ र म एउटा समूहमा गयौँ। विमल र रघुको परिवार छुट्टाछुट्टै समयमा समारोहमा सामेल भयो। विमलका अनुसार त्यहाँ बसोबास गर्ने दक्षिण एसियाली मूलका धेरैले युक्रेन छोडेर गएकाले मन्दिरमा खासै उपस्थिति भएन। ‘अरूको के कुरा गर्ने? हाम्रै छोराछोरीहरूले युक्रेन छोडेर जाने अवस्था छ,’ रघुले थपे। २०२५ को सरकारी आँकडाअनुसार रुसले युद्ध छेडेपछि युक्रेन छोड्नेको संख्या कुल जनसंख्याको एक तिहाइ पुगेको बताइन्छ।

सन् २०१४ मा रुसले क्रिमियालाई नियन्त्रणमा लिएपछि युक्रेनका अरू भूभागमा पनि उसको नजर परिरह्यो। त्यही भएर  फेब्रुअरी २०२२ देखि युक्रेनले रुसको आक्रमणको सामना गरिरहेको छ। राजधानी किभ युद्धको रापले अझ बढी पिल्सिएको छ। सहरमा राति ११ बजेपछि सुरु हुने कर्फ्यु र लगभग हरेक रात एयर अलर्ट थपिन्छ। ड्रोनहरू रानी हराएका मौरीजस्तै भनभनी घुम्न थाल्छन्। ड्रोनको भनभनाहट विस्फोटमा परिणत हुनुअघि सारा सहरवासी सुरक्षाका लागि हतारहतार बेसमेन्ट, बंकर अनि जमिनमुनिबाट गुड्ने रेल स्टेसनतिर झर्न थाल्छन्। युद्धको चोटमा निमुखा नागरिकले मूल्य चुकाइरहेका छन्।

‘हामीले युद्ध सुरु हुँदा थुप्रै नेपालीलाई सुरक्षित हुन सहयोग गर्‍यौँ। आजपर्यन्त गरिरहेका छौँ। यो हाम्रो कर्तव्य हो,’ विमल र रघुका सहयोगी वचनले मेरो गह टिलपिल बन्यो। युक्रेन मामिला हेर्न नेपालले जर्मनीस्थित नेपाली राजदूतावासलाई जिम्मेवारी तोकेको छ। नेपाली दूतावासले युक्रेनका नेपालीबारे समयमै ‘रेस्पोन्स’ नगर्ने, पीडा नसुन्ने गरेको विषयले रघु र विमलको मन अमिलिएको रहेछ।

युद्धरत युक्रेनबाट जर्मनी वा अन्य युरोपेली मुलुक जान पहिलेजस्तो सजिलो छैन। रुसी आक्रमणको डरले गर्दा हवाई यातायात पूर्ण रूपमा बन्द छ। बाहिर निस्कने माध्यम रेल वा बस यातायात मात्र भएकाले समयमै टिकट पाउन पनि मुस्किल छ।

रघु, विमल र अन्य नेपालीसँग पङ्क्तिकार

मलाई लाग्यो- पासपोर्ट नवीकरण, भिसा सिफारिस, पावर अफ अटोर्नी आदि आधारभूत तर अत्यावश्यक कुरा सहज पार्न नेपाल सरकारले खर्च आफैँले बेहोर्ने गरी विमल वा रघुजस्ता समाजमा भिजेका र आर्थिक सामर्थ्य भएका व्यक्तिलाई युक्रेनका लागि अवैतनिक महावाणिज्यदूत बनाएमा अप्ठेरोमा परेका नेपालीहरूलाई धेरै सहज हुने थियो। किभस्थित प्लान इन्टरनेसनल गैरसरकारी संस्थाका कार्यकारी निर्देशक माधव ढुंगेल भन्छन्, ‘नेपाल सरकारलाई आर्थिक भार नपर्ने गरी महावाणिज्य दूतावास खोलेर सहयोग गर्न विमलजी, रघुजीजस्ता परिपक्व नेपाली व्यक्तित्व तयार हुनुहुन्छ भने नेपालका लागि योभन्दा ठूलो खुसीको कुरा के होला र?’

हामीले यी कुरा गर्दै गर्दा विमल युक्रेनमा स्विस सरकारको एक कार्यक्रमका मुख्य निर्देशक पोषण केसीलाई गैरआवासीय नेपाली बन्ने प्रक्रियाबारे जिज्ञासाको जवाफ दिइरहेका थिए।