२८ आश्विन २०८२
फाइल तस्बिर।
अ+
अ-

काठमाडौं। सर्वोच्च अदालतमा आजदेखि रिट दर्ता खुल्ने भएको छ।

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनीपछि स्थगित रिट दर्ता प्रक्रिया आजदेखि पुनः सुरु हुन लागेको हो।

सर्वोच्च अदालतको असोज २६ गते बसेको पूर्ण बैठकले केही न्यायिक सेवा पुनः सुरु गर्ने निर्णय गरेपछि आजदेखि रिट निवेदन दर्ता र सुनुवाइ प्रक्रिया खुला भएको हो।

अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार, यसअघि केवल बन्दी प्रत्यक्षीकरणका निवेदन र अत्यावश्यक मुद्दाहरूको दर्ता तथा सुनुवाइ भइरहेको थियो। अबदेखि भने रिट निवेदनका साथै मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ का दफा ७३, १३७ र १५५ अन्तर्गतका निवेदनहरू पनि दर्ता र सुनुवाइ हुनेछन्।

तर, अन्य सम्पूर्ण सेवाहरू भने अर्को सूचना जारी नभएसम्मका लागि स्थगित नै रहने सर्वोच्च अदालतले जनाएको छ।

भदौ २४ गतेको घटनामा सर्वोच्च अदालतको भवन, फाइल र उपकरणहरूमा व्यापक क्षति पुगेपछि न्यायिक कामकाज ठप्प भएको थियो। त्यसयता अदालतले चरणबद्ध रूपमा सेवा पुनः सञ्चालन गर्ने तयारी गर्दै आएको हो।