काठमाडौँ। काठमाडाैँ महानगरपालिका २६ ले ‘नियर फिल्ड कम्युनिकेसन’ (एनएफसी) प्रविधिमा आधारित ‘डिजिटल ठेगाना प्रणाली’को सुरुआत गरेको छ। कामपा-२६ ले आफ्नो वडालाई प्रविधिमैत्री बनाउने उद्देश्यले आजदेखि प्रविधिमा आधारित ‘डिजिटल ठेगाना प्रणाली’को सुरुआत गरेको हो।
यसको शुभारम्भ गर्दै काठमाडौं महानगरपालिका-२६ का वडाध्यक्ष एवं महानगरपालिका सुशासन समिति संयोजक ख्यामराज तिवारीले यो प्रणाली जडान गरेसँगै वडाभित्रका सबै घरको विस्तृत विवरण थाहा पाउन सकिने बताए।
उनले आज (बुधबार) लैनचौरस्थित वडा कार्यालयमा डिजिटल नम्बर ‘०९ लक्ष द्रव्य ६१११’ कोड सहितको विवरण समावेश गरिएको सूचनापाटी (नम्बरप्लेट) जडान गरे। कामपा-२६ भित्र लैनचौर, गल्कोपाखा, ठमेल, कपुरधारा, सामाखुसी, रानीबारी, नयाँबसपार्कलगायत क्षेत्र पर्छन्।
महानगरले विगत दुई दशकदेखि मेट्रिक ठेगाना प्रणाली लागु गरे पनि यसलाई रुपान्तरण गर्दै एनएफसी प्रविधिमा आधारित ‘डिजिटल ठेगाना प्रणाली’ सुरु गरेको हो। उक्त प्रणाली सुरु गर्ने वडा नम्बर २६ पहिलो वडा हो।
यस प्रणालीमा पुरानो ठेगाना तथा बाटोको नामलाई यथावत् राखी ‘क्यूआर कोर्ड’ र ‘चिप्स’सहितको ठेगाना समावेश गरिएको सूचनापाटी जडान हुनेछ। जडान गरिएको सूचनापाटीमा नेपाली स्थानीय ‘कोड’सँगै ‘युनिभर्सल गुगल प्लसकोड’ हुने वडाध्यक्ष तिवारीले जानकारी दिए।
फोहर सङ्कलनको जानकारी दिन, कुनै तथ्याङ्क सङ्कलन गर्न, स्थानीयस्तरबाट कुनै सूचना प्रवाह गर्नुपर्नेलगायत अत्यावश्यक कामका लागि शीघ्र र न्यून लागतमा काम गर्न सकिने वडा कार्यालयले जनाएको छ।
कामपा-२६ का वडासचिव केदार रिमालले यो प्रणाली जडान गरेसँगै वडाभित्र विपद् व्यवस्थापन तथा राजस्व सङ्कलन प्रभावकारी गर्न सकिनुका साथै वडास्तरीय योजना तर्जुमा गर्न समेत सहयोग पुग्ने बताए।
यो प्रणाली काठमाडौं महानगरपालिका-२६ भित्रका ६ हजार ८५० घरमा जडान हुनेछ । यसलाई जडान गर्न ४५ लाख रुपैयाँ लाग्ने वडासचिव रिमालले जानकारी दिए। वडा कार्यालयका अनुसार घर थपिएसँगै यो प्रणाली क्रमशः जडान गरिनेछ।