क्रिकेट
काठमाडौँ। अघिल्ला खेलमा लगातार हार बेहोरेको कतारले बुधबार आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्समा जापानविरुद्ध तीन विकेटको जित हात पारेको छ। योसँगै अंक तालिकाको शीर्ष स्थानमा रहेका ओमान र नेपालले दुई खेलअगावै अर्को वर्ष भारत र श्रीलंकामा हुने विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेका छन्।
समूह चरणबाटै समान दुई अंक ल्याएका ओमान र नेपाल हालसम्म अपराजित छन्। दुवै टोलीको समान ६ अंक छ। नेट रनरेटका आधारमा नेपालभन्दा ओमान अगाडि छ। ओमानको १.०२४ र नेपालको नेट रनरेट ०.३५७ छ।
यी दुवै टोलीले बुधबार साँझ सुपर सिक्सको तेस्रो खेल खेल्नेछन्। उत्कृष्ट तीन टोली विश्वकपमा पुग्ने समीकरण छ। तर, संयुक्त अरब इमिरेट्स (यूएई) को दुई, जापान र कतारको पनि समान दुई अंक पुगेको छ।
समोअ अंकविहीन छ। यूएई, जापान र कतारले एक खेल खेल्न बाँकी रहँदा सामोअले दुई खेल खेल्नेछ। तर, यी तीन टोलीले आआफ्ना खेल जिते पनि चार अंकभन्दा बढी पुर्याउन सक्ने अवस्था छैन। त्यसैले ओमान र नेपालको समीकरण बिग्रने छैन। बरु यी चार टोलीले बाँकी एक स्थानका लागि प्रतिस्पर्धा गर्ने भएका छन्।
नेपालको तेस्रो सहभागिता
नेपालले सन् २०१४ मा बाङ्लादेशमा आयोजना भएको टी–२० विश्वकपमा डेब्यु गरेको थियो। पारस खड्काको कप्तानीमा रहेको टोलीले समूह चरणमा हङकङलाई ८० र अफगानिस्तानलाई नौ रनले हराउँदै उत्कृष्ट प्रदर्शन गरेको थियो। तर, बाङ्लादेशसँगको खेलमा आठ विकेटले पराजित हुँदा अघिल्लो चरणमा पुग्न चुकेको थियो।
त्यसयता नेपालले तीनचोटि छनोट खेलेको थियो। सन् २०१५ मा आयरल्यान्ड र स्कटल्यान्डमा ग्लोबल छनोटमा ६ खेल खेलेको नेपालले अमेरिकाबाहेक अन्य टोलीलाई पराजित गर्न सकेन। त्यसको चार वर्षपछि पनि नेपालको प्रदर्शन उस्तै दयनीय रह्यो। सिंगापुरसँग ८२ रन र कतारसँग चार विकेटले पराजित हुँदै नेपाल एसियाली क्षेत्रमै रोकियो।
सन् २०२२ को फेब्रुअरीमा ओमानमा भएको विश्वकप ग्लोबल छनोटमा नेपाल सेमिफाइनलसम्म पुग्यो। तर, दुईपटक विश्वकप खेलिसकेको यूएईसँग नेपाल ७८ रनले पराजित हुँदै विश्वकप खेल्नबाट वञ्चित भउको थियो। सन् २०२३ मा भने घरेलु मैदानमा भएको अर्को छनोटमा भने सेमिफाइनलमा यूएईलाई आठ विकेटले हराउँदै दशकपछि विश्वकपको ढोका खोलेको थियो।
तर, गत वर्ष वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रूपमा आयोजना गरेको विश्वकपमा भने नेपालको प्रदर्शन एक दशकअघिको जस्तो रहेन।
समूह ‘डी’को पहिलो खेलमा एसोसिएट राष्ट्र नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित हुँदै विश्वकपको सुरुआत गरेको नेपालले वर्षाका कारण श्रीलंकासँग पहिलोपल्ट हुन लागेको प्रतिस्पर्धा रद्द भयो।
दक्षिण अफ्रिकासँग जितनजिक पुगेर एक रनले पराजित भएको नेपालले अन्तिम खेलमा बाङ्लादेशसँग २१ रनको हार बेहोरेको थियो।