काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२९ आश्विन २०८२
नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली। तस्बिर : बिक्रम राई/नेपालन्युज
अ+
अ-

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन-जी आन्दोलनमा घुसपैठ हुनसक्ने आकलन गरेर सुरक्षा सतर्कता किन अपनाइएन भन्दै प्रश्न गरेका छन्। ललितपुरमा जारी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सुरक्षा सतर्कता नअपनाइएको र गोली चल्ने परिस्थिति कसरी निर्माण भयो भन्ने विषयमा प्रश्न गरेका छन्। सो घटना हुँदा ओली नै देशको प्रधानमन्त्री रहेका थिए।

‘त्यस्तो स्थिति कसरी सिर्जना भयो? सम्भाव्य घुसपैठको आकलन गरेर आवश्यक सुरक्षा सतर्कता किन अपनाइएन र किन गोली चल्ने परिस्थिति निर्माण भयो?’ ओलीको प्रतिवेदनमा भनिएको छ, ‘यो सुरक्षा त्रुटि मात्रै थियो कि त्यसमा अरू स्वार्थहरू पनि अन्तरनिहित थिए? त्यति ठूलो संख्यामा विद्यार्थी र युवाहरूको हत्या किन र कसरी भयो? यस घटनाको यथार्थ छानबिन गर्नु र दोषीलाई दण्डित गर्नु जरुरी छ।’

ओलीले आफ्नो सरकारले सामाजिक सञ्जाल बन्द गर्नेभन्दा पनि नियमनको तयारी गर्ने मात्रै खोजेको बताएका छन्। ‘सामाजिक सञ्जालको निर्बाध सञ्चालन, भ्रष्टाचार नियन्त्रण र सुशासन लगायत जेन-जी युवाहरूले राख्नुभएका मागमा कसैको विमति थिएन। यी हामीले प्रयास गर्दै आएका कुरा हुन् र सामाजिक सञ्जाल बन्द गर्न होइन, नियमन गर्न मात्र खोजिएको थियो,’ ओलीले भनेका छन्, ‘संविधानले दिएको शान्तिपूर्ण भेला र सभा गर्ने अधिकार प्रयोग गर्दै आफूहरूको प्रदर्शन शान्तिपूर्ण, मर्यादित र प्रचलित कानुनको दायराभित्र रहेर आयोजना हुन्छ भन्ने बचनबद्धता सहित जेन-जी युवाद्वारा आयोजना गरिएको कार्यक्रमप्रति कसैको अन्यथा धारणा हुन सक्दैन तर आयोजकहरूले शान्तिपूर्ण रूपमा आयोजना गरेको कार्यक्रममा घुसपैठ गरेर ठूलो संख्यामा युवा विद्यार्थीहरूको जसरी हत्या भयो हामी त्यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्दछौँ।’