काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

ट्राफिक प्रहरीसँग न स्रोतसाधन न मनोबल

२९ आश्विन २०८२
जेन-जी आन्दोलनमा ध्वस्त पारिएको उपत्यका ट्राफिक प्रहरी कार्यालय। तस्बिर : खिलानाथ ढकाल/नेपालन्युज
अ+
अ-

सोमबार बिहान पौने १० बजेतिर नयाँबानेश्वर चोकमा नेपाल यातायातको बस लेन मिच्दै हुइँकियो। अर्को लेनमा गुडिरहेका सवारीसाधनलाई दपेट्ने गरी बस गुड्दा साना सवारीका चालक आत्तिए।

चोकमा दुई जना ट्राफिक प्रहरी खटिएका थिए। उक्त दृश्य नजरमा परे पनि उनीहरूले बसलाई कारबाही गर्नु त परको कुरा, सिठी फुकेर सजगसमेत बनाएनन्।

काठमाडौँ उपत्यकाका तीन जिल्लास्थित मुख्य चोकमा बसहरू यात्रुको पर्खाइमा बाटो छेकेर लामो समय रोकेर बसेको देखिन्छ। ट्राफिक प्रहरी हुन्छन्, तर उनीहरू पहिलेजस्तो सक्रिय देखिँदैनन्।

नयाँ बानेश्वरमा नेपाल यातायातले गरेको जस्तो बलमिच्याइँ काठमाडौँका सडकहरूमा प्रशस्तै देखिन्छ। हर्न बजाएर अगाडिका साना सवारीलाई अत्याउँदै र लखेट्दै बस हुइँक्याउने, हेलमेट नलगाई मोटरसाइकल चलाउने, मोटरसाइकलमा तीन जना चढ्ने, लेन मिचेर तीव्र गतिमा सवारीसाधन चलाउने गरिएको छ। सामान्य अवस्थामा प्रतिघण्टा ५० किलोमिटरभन्दा बढीको गति उपत्यकाको सडक नियमविपरीत मानिन्छ। तर, तीव्र गति नियन्त्रण गर्न अहिले ट्राफिक प्रहरीले ध्यान दिन सकेको छैन।

उपत्यकामा ५३ वटा ट्राफिक आइल्यान्ड थिए। ती सबैलाई आन्दोलनमा तोडफोड गरेर नष्ट पारियो। अहिले ट्राफिक प्रहरी सडकको बीचमा उभिएर ड्युटी गरिरहेका छन्।

उपत्यका ट्राफिक प्रहरी महाशाखामै काम गरेका पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) केशव अधिकारीको हेराइमा अहिले ट्राफिक प्रहरीले पहिलेजस्तो सक्रिय भएर काम गरेको देखिँदैन। खासगरी २३ र २४ भदौको जेन-जी आन्दोलनपछि ट्राफिक प्रहरीको सक्रियता न्यून देख्छन् उनी। “सडकमा ट्राफिक प्रहरी भएर मात्र हुँदैन, उनीहरूसँग स्रोतसाधन हुनुपर्छ। स्रोतसाधनविहीन जनशक्ति सडकमा परिचालन हुँदा ट्राफिक व्यवस्थापन प्रभावकारी हुने कुरै भएन,” उनी भन्छन्, “अहिले स्रोतसाधनविहीन देखिन्छन् ट्राफिक प्रहरी। मैले आफू महाशाखामा रहँदा सँगै काम गरेका अधिकृतसँग सडकमै कुरा गरेको छु, उनीहरू साधनविहीन छन्, मनोबल छैन।”

जेन-जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट ट्राफिक प्रहरीले आफ्ना उपकरण र स्रोतसाधन जोगाउन सकेनन्। सडकका ट्राफिक संरचना क्षतिग्रस्त भए। अहिले ट्राफिक अलग्गै बसेर सवारी व्यवस्थापन गर्ने आइल्यान्ड नै छैनन्। अर्कातिर, प्रहरी कार्यालयमा आगजनी गरिँदा र आन्दोलनकारीको हातपात तथा हुलहुज्जतमा परेका कारण ट्राफिक प्रहरीको मनोबल कमजोर छ।

यो अवस्थाको फाइदा उठाउँदै सडकमा खुलमखुला अराजकता मच्चाउनेहरूले छुट पाइरहेका छन्।

उपत्यका ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदी भन्छन्, “आइल्यान्ड मात्रै ध्वस्त भएको होइन, हाम्रा कार्यालय जलेका छन्। उपत्यका ट्राफिक प्रहरी कार्यालय भग्नावशेष बनेको छ।”

ट्राफिक व्यवस्थापनमा परेको असहजताबारे जानकारी दिँदै उपत्यका ट्राफिक प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदी। तस्बिर : खिलानाथ ढकाल/नेपालन्युज

उपत्यकामा ५३ वटा ट्राफिक आइल्यान्ड थिए। ती सबैलाई आन्दोलनमा तोडफोड गरेर नष्ट पारियो। अहिले ट्राफिक प्रहरी सडकको बीचमा उभिएर ड्युटी गरिरहेका छन्। “ट्राफिक व्यवस्थापन फितलो भएको, ट्राफिक नदेखिएको गुनासो छ,” सुवेदी भन्छन्, “आइल्यान्डमा बसेर काम गर्दा ट्राफिक टाढैबाट देखिन्थे, अहिले सडकमा उभिँदा नदेखिएका हुन्। साधनस्रोत कम भएकाले पहिलेजस्तो चुस्त अवस्थामा ट्राफिक व्यवस्थापन हुन नसकेको हो। क्रमिक रूपमा सुधार गरिरहेका छौँ।”

२४ भदौमा आन्दोलनकारीले नेपाल प्रहरीलाई सबैभन्दा बढी निसानामा पारेका थिए। प्रहरीका बर्दी मात्रै लुटिएनन्, उनीहरू आक्रमणमा पनि परे।

एसपी सुवेदीका अनुसार काठमाडौँ उपत्यकामा कार्यरत ट्राफिक प्रहरीको जनशक्ति एक हजार ६५१ छ। उपत्यकामा ट्राफिकका ७८ वटा युनिट छन्, जसमध्ये आन्दोलनमा ३७ वटा युनिट जलाइएका थिए। २१ वटामा आंशिक क्षति भएको थियो।

मापसे परीक्षण गर्ने २०१ वटा ब्रेथलाइजर थिए। तीमध्ये २७ वटा मात्रै छन्, अरू सबै आन्दोलनकारीले लुटे। यसपछि मापसे जाँच प्रभावित भएको छ।

यी सबै युनिटलाई परिचालन गर्ने उपत्यका ट्राफिक प्रहरी कार्यालय आन्दोलनमा ध्वस्त पारिएको थियो। उक्त कार्यालय बस्न अयोग्य भएको छ। ट्राफिक प्रहरीका प्रमुख-उपप्रमुख एक महिनासम्म टेन्टमा बसे। अहिले प्रमुख-उपप्रमुख मेट्रो ट्राफिक भवनमा सरेका छन्।

अहिले ट्राफिक प्रहरीसँग सडकमा सवारीसाधनको अनुगमन गर्ने र नियम उल्लंघन गर्ने सवारीलाई निगरानी गर्ने प्रविधि नै छैन। उपत्यकाभरिका चोक चोकमा भइरहेका गतिविधि सीसीटीभीमा हेरिन्थ्यो र त्यसैअनुसार प्रहरी खटाइन्थ्यो। त्यो हेर्ने उपत्यका ट्राफिकको ‘कन्ट्रोल रुम’ नै जलेको छ। उपत्यकाभरि कति ठाउँका सीसीटीभी फुटाइयो भन्ने तथ्यांक अझै निस्किन सकेको छैन। सवारीको निगरानी गर्ने र तीव्र गतिमा गुड्ने सवारीलाई कारबाही गर्ने उद्देश्यले तीन ठाउँमा अटोमेटिक नम्बर प्लेट रिकग्निसन उपकरण जडान गरिएका थिए, जुन अहिले पनि सञ्चालनमा छन्। धोबीघाट, कोटेश्वर र बल्खुमा रहेका ती उपकरणले सवारीसाधन र नम्बर प्लेटको फोटो/भिडियो प्रस्ट खिच्न सक्छन्।

ट्राफिक प्रहरीका केकति साधन लुटिए?
जेन-जी आन्दोलनका क्रममा आन्दोलनकारीले उपत्यकाका अधिकांश सीसीटीभी र ट्राफिक लाइट फुटाए। एसपी सुवेदीका अनुसार ७२ वटा ट्राफिक बत्ती जडान गरिएकोमा आन्दोलनकारीले ६३ वटा फुटाए। जसमध्ये १८ वटा मर्मत गरेर २७ वटा बत्ती सञ्चालनमा ल्याइएको छ।

उपत्यका ट्राफिकसँग ६९० वटा म्याजिक लाइट थिए। ती सबै आन्दोलनको बेला हराएका छन्। रातको समयमा म्याजिक लाइटको सहारामा ट्राफिक प्रहरीले सवारीसाधन चेकजाँच गर्थे। त्यसको अभावमा अहिले साँझ र राति ट्राफिक व्यवस्थापनमा कठिनाइ भएको छ।

आन्दोलनमा ट्राफिक प्रहरीका २९ वटा जासुसी क्यामेरा लुटिएका छन्। त्यस्ता क्यामेराबाट प्रहरीले टाढैबाट दृश्य कैद गरी नियम उल्लंघन गर्ने सवारीसाधनलाई दायरामा ल्याउँथ्यो। छातीमा राखेर सवारी अनुगमन गर्ने २०९ वटा बडी क्यामेरा लुटिएका छन्। “यस्ता महत्त्वपूर्ण साधनबिना प्रहरी खटिएका छन्, सबै ठाउँमा खटिए पनि काम पहिलेको जस्तो प्रभावकारी देखिन नसकेको अवस्थालाई सुधार्न लागिपरेका छौँ,” सुवेदी भन्छन्।

साँझ-रातको समय र आकस्मिक रूपमा ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) परीक्षण गर्थे। मापसे परीक्षण गर्ने २०१ वटा ब्रेथलाइजर थिए। तीमध्ये २७ वटा मात्रै छन्, अरू सबै आन्दोलनकारीले लुटे। यसपछि मापसे जाँच प्रभावित भएको छ।

काठमाडौँ उपत्यकाको सडकमा अनुशासन फर्काउन अब उपकरण मात्र होइन, प्रहरीको मनोबल उकास्न उत्तिकै जरुरी देखिन्छ।

स्मार्ट कार्ड रिडिङ गर्ने १५ वटा उपकरण थिए। ती सबै आन्दोलनमा लुटिएपछि कामकारबाही प्रभावित भएको छ। ट्राफिक प्रहरीले पार्किङ नियमन गर्न ह्विल लकको प्रयोग गर्थे। अहिले एउटा पनि ह्विल लक छैन। “कार्यालय जल्दा यी सरसामानको अभिलेख पनि मेटियो, हराएका सामग्रीको लेखाजोखा गर्न समिति गठन भएको छ र यसको प्रतिवेदन आएपछि टुंगो लाग्छ,” एसपी सुवेदी भन्छन्।

ट्राफिक प्रहरी कार्यालयमा रहेका प्रहरीका ९३ वटा मोटरसाइकल ध्वस्त भएका थिए। ट्राफिक महाशाखामा राखिएका सेवाग्राही, प्रहरीका गरी ३४० वटा सवारीसाधन जलाइए भने ५२ वटा हराएका छन्। १६ वटा कार जलाइएको थियो।

सुवेदीका अनुसार ट्राफिक प्रहरीलाई केही सवारीसाधन उपलब्ध भएका छन्, जसले गर्दा अहिले काममा निस्कँदा केही सहज भएको छ।

सेवाग्राहीका ८० हजारभन्दा बढी कागजात नष्ट
उपत्यका ट्राफिक प्रहरी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीका अनुसार काठमाडौँ उपत्यकाका ३९ ठाउँमा सवारीचालकको कागजपत्र राखिन्थ्यो। तीमध्ये आन्दोलनमा आगजनीबाट २४ ठाउँका विवरण जल्दा सेवाग्राहीका ८० हजार ८३३ थान कागज नष्ट भए। २६ हजार थान कागज मात्रै जोगिएका थिए।

हराएका कागजपत्रका लागि ट्राफिक प्रहरीले अनलाइन फाराम खुलाएको छ। अनलाइनबाट भरेर रुजु भएपछि कागजातका लागि ट्राफिकले यातायात व्यवस्थापन विभागलाई सिफारिस गरिदिन थालेको छ।

मेट्रो एफएमको कार्यालय भवन, जहाँ उपत्यका ट्राफिक प्रहरीका प्रमुख-उपप्रमुख सरेका छन्। तस्बिर : खिलानाथ ढकाल/नेपालन्युज

सडक नियम उल्लंघनकर्तालाई कार्यालयमा बोलाएर पढाइने ट्राफिक सचेतना पनि अहिले ठप्प छ। आन्दोलनकारीले सचेतना कक्ष जलाइदिँदा ट्राफिक व्यवस्थापनको महत्त्वपूर्ण पाटो अवरुद्ध छ। चालक प्रशिक्षण, यान्त्रिक परीक्षण, सामुदायिक सचेतनालगायत ट्राफिक कार्यक्रमहरू पनि अवरुद्ध छन्।

एसएसपी अधिकारी स्रोतसाधन जुटाउन माथिल्लो निकायसँग समन्वय भइरहेको र आन्दोलनमा भएको क्षतिले पारेको असहजतालाई बिस्तारै किनारा लगाइरहेको बताउँछन्। भन्छन्, “सडक अनुशासनले हाम्रो सभ्यता र संस्कृति जगेर्ना गरेको छ, अहिले ट्राफिक प्रहरी एकछिन नखटिए मानिसको दैनिक जीवन नै प्रभावित हुन्छ। त्यसैले नागरिकको सेवामा खटिने व्यक्तिहरूको पेसालाई सम्मान गर्नुपर्छ।” कतिपय ठाउँमा ट्राफिक प्रहरीलाई हातपात गर्ने, दुर्व्यवहार गर्ने कार्य देखिँदा प्रहरीको मनोबल कमजोर भएको उनको भनाइ छ।

संघीय राजधानी रहेको काठमाडौँ उपत्यकाको सडकमा अनुशासन फर्काउन अब उपकरण मात्र होइन, प्रहरीको मनोबल उकास्न उत्तिकै जरुरी देखिन्छ। पूर्वडीआईजी अधिकारीको भनाइमा समस्या समाधानको मूल कुरा मनोबल हो। “हाकिमहरू फिल्डमा नउत्रिँदासम्म तल्लो तहका प्रहरीमा सुरक्षा र आत्मबलको भावना आउँदैन,” उनी भन्छन्, “हाकिम आफैँ सडकमा उभिएको देख्दा प्रहरीलाई ‘हामी एक्ला छैनौँ’ भन्ने आत्मविश्वास जाग्छ। मैले यदाकदा हाकिम सडकमा उभिएर ड्युटी गरिरहेको देखेको छु, यसलाई निरन्तरता दिन आवश्यक छ।”

मनोबल बढाउन ट्राफिक प्रहरीका प्रमुखहरूले मेसमा गएर तल्लो तहका कर्मचारीसँग सँगै खाना खाने, ब्यारेकमा सँगै सुत्नेसमेत गर्न सक्ने उनी बताउँछन्।