काठमाडौँ। जेन-जीहरूको एक समूहले आफूहरू संघीय लोकतान्त्रिक गणतन्त्रप्रति पूर्ण प्रतिबद्ध रहेको जनाएको छ। ७० जनाको समूहले एक विज्ञप्ति जारी गर्दै आफूहरू नेपाली जनताको लामो र न्यायपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरूको रक्षा, संस्थागत विकास र विस्तार गर्न दृढ संकल्पित रहेको बताएका हुन्।
‘हामी संघीय लोकतान्त्रिक गणतन्त्रप्रति पूर्ण प्रतिबद्ध छौँ र नेपाली जनताको लामो र न्यायपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरूको रक्षा, संस्थागत विकास र विस्तार गर्न दृढ संकल्पित छौँ,’ विज्ञप्तिमा भनिएको छ।
विभिन्न नौ बुँदे माग अघि सार्दै उनीहरूले जेन-जी आन्दोलनले उठाएको रूपान्तरणको मर्मलाई आत्मसात् गर्दै, वैचारिक र संगठनात्मक सुधारसहित आगामी निर्वाचनमा सहभागी हुन सम्पूर्ण राजनीतिक दलहरूलाई आह्वानसमेत गरेका छन्। विज्ञप्तिमा भनिएको छ, ‘देशलाई संवैधानिक र राजनीतिक संकटबाट जोगाउने एक मात्र बाटो निष्पक्ष र समयबद्ध निर्वाचन नै हो।’
साथै उनीहरूले २३ भदौमा आन्दोलनको क्रममा भएको बर्बर दमन र क्रूर हत्या र भोलिपल्ट भएका आगजनी, लुटपाट, तोडफोड तथा हातहतियार कब्जाजस्ता आपराधिक घटनाहरूको गम्भीर र निष्पक्ष छानबिन हुनुपर्ने माग राखेका छन्। ‘यस्ता सुनियोजित आपराधिक गतिविधिलाई आधार बनाएर हाम्रो शान्तिपूर्ण आन्दोलनलाई नै अपराधीकरण गर्ने दुस्प्रयासको हामी घोर भर्त्सना गर्दछौँ। साथै, त्यस्ता आपराधिक कार्यमा संलग्न जोसुकैलाई पनि अनुसन्धान गरी कानुनी कठघरामा उभ्याउन हामी जोडदार माग गर्दछौँ। अनुसन्धानको प्रक्रियामा सच्चा र निर्दोष आन्दोलनकारी र आन्दोलनको आडमा घुसपैठ गर्ने आपराधिक तत्त्वबीच स्पष्ट रूपमा भेद गरियोस् भन्ने कुरामा पनि हामी विशेष जोड दिन चाहन्छौँ,’ विज्ञप्तिमा उल्लेख छ।
यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका सम्बन्धित निकायहरूलाई पूर्ण स्वायत्तताका साथ काम गर्ने वातावरण सुनिश्चित गरी, विगतमा दर्ता भएका तर विभिन्न बहानामा टुंगोमा नपुर्याइएका सबै भ्रष्टाचारका मुद्दाहरूको छानबिनलाई अविलम्ब निरन्तरता दिन उनीहरूको माग छ।
यस्तो छ विज्ञप्ति :


