काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

३० आश्विन २०८२
अ+
अ-

काठमाडौं। जेन-जी आन्दोलनका क्रममा प्रहरी वृत्त महाराजगन्जका प्रहरी जवान उत्तम थापाको हत्या आरोपमा पक्राउ परेका दुईजनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ।

प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत काठमाडौंमा बिहीबार मुद्दा दर्ता गरेको हो।

मुद्दामा काभ्रेको रोशी गाउँपालिका ९, राजबासका २८ वर्षीय युवराज क्याप्छाकी र मकवानपुरको थाहा नगरपालिका ७, बतासेका २१ वर्षीय सोनाम तामाङ (बुद्धिलाल थिङ) लाई प्रतिवादी बनाइएको अदालतले जनाएको छ।

आफ्नो भतिजाको हत्या भएको भन्दै काका ईश्वरसिंह थापाले प्रहरीमा जाहेरी दिएका थिए। जाहेरीका आधारमा प्रहरीले क्याप्छाकी र तामाङलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।

अनुसन्धानका क्रममा प्रहरी जवान थापालाई कुटपिट गरी हत्या गरिएको निष्कर्ष निकालिएको छ।

जिल्ला सरकारी वकिल कार्यालयका अनुसार उनीहरूमाथि कर्तव्य ज्यान र आपराधिक उपद्रवको कसुरमा मुद्दा दर्ता गरिएको छ।

मुलुकी फौजदारी संहिता, दफा १७७ अनुसार ज्यान मार्ने कसुरमा जन्मकैदको सजाय मागदाबी गरिएको जिल्ला न्यायधिवक्ता उदयचन्द्र अधिकारीले बताए।