काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

राजनीति

जेन-जी आन्दोलनजस्तो आकस्मिक घटनाबाट देश र पार्टीलाई जोगाउन एमाले तयार हुनुपर्ने ओलीको धारणा

३० आश्विन २०८२
नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन पुगेका अध्यक्ष केपी शर्मा ओली। तस्बिर : बिक्रम राई/नेपालन्युज
अ+
अ-

“पार्टीकै स्थितिमा पनि त्यस प्रकारको कुराका लागि तयार थिएनौँ। अबको आवश्यकता यस्तो कुनै पनि अवस्थाका लागि तयारीमा बस्ने हो। त्यसका लागि तयारी गर्ने? अबको आवश्यक त्यो हो।”

२९ असोजमा ललितपुरको एक पार्टी प्यालेसमा पार्टीको केन्द्रीय कमिटी बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेका छन्, “यस्ता आकस्मिक कुरा पनि हुनसक्ने रहेछ र सानो कुरा पनि बढ्न सक्ने रहेछ। उनीहरू प्रयास गरिरहेका थिए त्यसलाई रोक्न सक्छौँ भन्ने थियो।”

जेन-जीको आन्दोलन, बलिदानी र विध्वंसपछि गठित नयाँ सरकार निर्वाचनका लागि सक्रिय भइरहँदा ओली कस्तोखाले एमाले बनाउने कुरा गरिरहेका छन्, पार्टीभित्र र बाहिर पनि चर्चा हुन थालेको छ।

२३ र २४ भदौमा जेन-जी आन्दोलनबाट सत्ताच्युत ओलीले यो घटनालाई स्वाभाविक नभई  षड्यन्त्रका रूपमा अर्थ्याउँदै आएका छन्। उनले २३ भदौमा युवा तथा विद्यार्थी मारिएपछि मात्रै आफूले गोली चलेको थाहा पाएको बताएका छन्।

यो परिघटनामा सुरक्षा निकायको भूमिकामाथि निरन्तर प्रश्न गर्दै आएका उनले पार्टीभित्रै प्रतिकारका लागि कुनै भगिनी संगठन निर्माणको कुरा गरिरहेका हुन् या सुरक्षा निकायमाथि अविश्वास उत्पन्न गराउँदै निर्वाचनमा नजाने संकेत गरेका हुन् खुलाएका छैनन्।

२६ भदौमा एमालेका महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले विज्ञप्ति जारी गर्दै सुरक्षा निकायको भूमिकाको समीक्षा गर्नुपर्ने माग गरेका थिए। “प्रदर्शन शान्तिपूर्ण रहने आयोजकहरूको पूर्वघोषणा विपरीत र यसमा कुनै संलग्नता नरहेको उहाँहरूको स्पष्टोक्तिका बाबजुद यस्ता विध्वंसात्मक र विनाशकारी घटनाहरू कसबाट र कसरी घटाइए, यसको यथार्थ छानबिन हुनैपर्छ। यस क्रममा राज्यका सुरक्षा निकायहरूको भूमिकाको पनि समीक्षा हुनुपर्छ,” विज्ञप्तिमा भनिएको थियो।

२२ असोजमा पोखरामा आयोजित कार्यक्रममा एमाले स्थायी कमिटीका सदस्य तथा पूर्व गृहमन्त्री खगराज अधिकारीले भदौको घटनामा चार सुरक्षा निकायका प्रमुखहरू बिक्री भएको गम्भीर आरोप लगाएका थिए। उनले भनेका थिए, ‘यो कुरा भन्न मिल्छ कि मिल्दैन मलाई थाहा छैन। यदि यस कारणले कहीँ स्थायी कमिटीमा भइसकेको, केन्द्रमा सरकारमा भइसकेको भनेर प्रदीप पौडेल नै बन्ने भए त केही छैन तर क्षमा दिनुहोला। यी  सुरक्षा निकायका चारै अंगका मान्छे बिकेकै हुन् । डिपस्टेट होल्डरको निकायबाट।’

गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका अधिकारी अध्यक्ष ओलीसँग निकट मानिन्छन्।

२३ भदौको आन्दोलनमा प्रहरीको गोलीबाट १९ जनाको मृत्युपछि २४ भदौको आन्दोलन काबुबाहिर गएको भन्ने सुरक्षा निकायका प्रमुखहरूले दिएको सुझाव बेवास्ता गरेका प्रधानमन्त्री ओलीले आन्दोलनकारी बालुवाटारस्थित सरकारी निवास घेर्ने आएपछि राजीनामा दिएका थिए। त्यसलगत्तै ओलीलाई सेनाले हेलिकोप्टरबाट सुरक्षित स्थलमा पुर्‍याएको थियो। ओलीले आफू बालुवाटारबाट निस्कन पाँच मिनेट मात्रै ढिलो भएको भए ज्यान जाने अवस्थामा रहेको बताइसकेका छन्।

आन्दोलनपछिको १० दिनपछि सेनाको सुरक्षा घेराबाट बाहिर निस्किएका ओलीले आफूले कसैको पनि साथ नपाएको गुनासो गर्दै आएका छन्। “खासगरी ठूलो कुरा नै थिएन राज्य संयन्त्रको। सजिलै रोक्न सकिन्थ्यो तर रोक्न सकिएन”, ओलीले भनेका छन्, “अर्को प्रयास जनताको प्रयासबाट रोक्नुपर्थ्यो। मैले २२ गतेकै बैठकमा पनि भनेको थिए। प्रजातन्त्र राज्य संयन्त्रले ल्याएको होइन। जनताले ल्याएको हो,” ओलीले भनेका छन्।

ओलीले अहिलेको अवस्थालाई प्रतिक्रान्ति भनेका छन्। “एकातर्फ जनताबाट विद्रोह भयो अर्कोतर्फ सो घटनाप्रति ओलीको धारणामा कर्मचारीतन्त्रदेखि सुरक्षा निकायसम्म प्रधानमन्त्रीको नीतिमा सहमति जनाएनन्,” विश्लेषक झलक सुवेदी भन्छन्, “त्यसले गर्दा आफूलाई बचाउन ओलीले असन्तुष्टि जनाउँदै आएका हुन्।

ओलीले  पार्टी कसरी अघि बढ्ने भन्ने स्पष्ट नभने पनि उनीनिकट नेताहरू भने  युथ फोर्स जस्तै डिजिटल जेनेरेसन (डीजी) फोर्स गठन हुनसक्ने बताउँछन्। ओली सत्ताच्युत भएदेखि नै उनको बचाउमा सक्रियतापूर्वक लागेका एमाले पोलिटब्युरो सदस्य महेश बस्नेत पनि यसैको वकालत गरिरहेका छन्। २२ असोजमा एमाले मुख्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा युथ फोर्स गठन गरेको स्मरण गर्दै बस्नेतले भनेका थिए – “प्रहरी प्रशासनको मनोबल कमजोर भएका बेला र जनताको आवाज दबेका बेला जसरी हिजो युथफोर्स बनायौँ, त्यसैगरी डिजिटल जेनेरेसन (डीजी) फोर्स बनाएर जनताको आवाज बलियो बनाउँछौँ।”

सशस्त्र संघर्षबाट आएको माओवादीले ब्यारेक संरचनामा बस्ने योङ कम्युनिस्ट लिग (वाईसीएल) बनाएपछि एमालेले युथ फोर्सलाई सक्रिय बनाएको थियो। भ्रातृ संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ (हालको युवा संघ नेपाल) अन्तर्गत रहेको युथ फोर्सका प्रमुख बस्नेत थिए।

“जेन-जीका केही उद्दण्ड युवा सडकमा अब यो राज्य हाम्रै हो भनेर हिँडेका हुन्। त्यसलाई नियन्त्रण गर भनेर सरकारलाई दबाब दिने हो। प्रतिरोध गर्न लडाकु दस्ता बनाउन थाल्ने काम गलत हो,” विश्लेषक सुवेदी भन्छन्।