काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

३० आश्विन २०८२
तस्बिर : राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालय।
अ+
अ-

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने निर्वाचनको सफल पार्दै इतिहास रच्न जेनजीहरूलाई आग्रह गरेका छन्। शीतल निवासमा बिहीबार राष्ट्रपति पौडेलले अन्तरिम सरकारसहित जेनजी अभियान्ताहरूसँगको छलफलमा यस्तो बताएका हुन्।

युवा पुस्ताले चलाएको आन्दोलनले चाहेको देश साच्चिकै भ्रष्टाचार, नातावाद, कृपावादमुक्त होस्, पक्षपातपूर्ण व्यवहारबाट मुक्त होस् र सही मानिसले देश चलाओस् भनेर नै नयाँ चुनाव घोषणा गरिएको राष्ट्रपति पौडेलले उल्लेख गरे। चुनावलाई सामान्य रुपमा नलिई राष्ट्रको काँचुली फेर्ने महाअभियानका रुपमा प्रतिष्ठाको विषय बनाएर लाग्न युवाहरूलाई उनले आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। ‘यो चुनावमा तपाईं युवाहरू अघि सरेर राम्रो प्रतिनिधिसभा बनाउनुस्, भ्रष्ट र बदमास जित्न नपाऊन्, असल र इमानदारहरू जितेर आऊन्,’ राष्ट्रपति पौडेलको भनाइ उदृत गर्दै पोखरेलले भने, ‘त्यसपछि देश न्यायको बाटोमा जानुपर्छ, सुशासनको बाटोमा जानुपर्छ र मुलुकले उन्नति गर्नुपर्छ। युवाहरू बाध्यताले विदेश पलायन हुने अवस्थाको अन्त्य हुनुपर्छ।’

राष्ट्रपति पौडेलले यो संविधान र संसदीय प्रणालीमा राष्ट्रपति कार्यकारी नभए पनि युवाहरूले गरेको आन्दोलनको सम्मान गर्न आफ्नो उपस्थितिमा सरकारलाई समेत सहभागी गराएर जेनजीहरूका प्रतिनिधिलाई राखेर छलफल गरेको उल्लेख गर्दै आन्दोलनकारीका बाँकी मागबारे सरकारले ध्यान दिने स्पष्ट पारे।

उनले भ्रष्टचार अन्त्य र सुशासन कायम गर्ने युवाहरूको आन्दोलनको उपलब्धिका रुपमा संविधानमा भएको राष्ट्रपतिलाई अन्तरनिहित राष्ट्रिय एकता प्रवर्धन गर्ने अधिकार प्रयोग गरेर यो अन्तरिम सरकार गठन भएको उल्लेख गरे। यसलाई आन्दोलनको सफलताका रुपमा लिएर फागुन २१ गतेको चुनावमा होमिन राष्ट्रपति पौडेलले आग्रह गरे।

राष्ट्रपति पौडेलले युवाहरूको जायज माग राखेर गरेको आन्दोलनलाई देखाएर रोटी सेक्ने र आफ्नो स्वार्थपूर्ति गर्न चाहानेहरूबाट सचेत रहन पनि आग्रह गरे।

राष्ट्रपति परिपक्व नेता : प्रधानमन्त्री कार्की
त्यसअवसरमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति कलिलो उमेरदेखि नै देश र जनतका लागि निरन्तर संर्घष गरेको परिपक्क नेता भएको उल्लेख गरिन्। उनले राष्ट्रपतिको भनाइ अन्तष्करणको आवाजका रुपमा लिन जेनजी युवाहरुसँग आग्रह पनि गरिन्।

वृद्ध उमेरमा पनि स्वास्थ्यलाई ख्याल नगरी राष्ट्रपतिले देशको विषम् परिस्थितिलाई सम्हाल्न गरेको रातभरको अथक प्रयासको प्रधानमन्त्री कार्कीले प्रशंसा गरिन्। ‘राष्ट्रपतिले युवाहरूलाई गर्नुभएको यो आग्रह राष्ट्रपिताको जस्तो भावुक र मार्मिक रहेको छ,’ उनले भनिन्।

जेनजीका प्रतिनिधिहरूले युवाहरूको आन्दोलन सामाजिक आर्थिक न्यायका लागि कुशासन र भ्रष्टाचारविरुद्ध भएको उल्लेख गर्दै संविधान, लोकतन्त्र, संघीयता, समावेशिताविरुद्ध नरहेको स्पष्ट पारेका थिए। उनीहरूले आफूहरू सम्पूर्ण रुपले निर्वाचन सम्पन्न हुनुपर्छ भन्नेमा दृढ रहेको उल्लेख गर्दै तर त्यसका लागि आन्दोलनलाई मान्यता दिँदै आन्दोलनका माग पूरा हुनुपर्ने बताएका थिए। बैठकमा अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीसहित सबैमन्त्री सहभागी थिए।

जेनजीका प्रतिनिधिका रुपमा बैठकमा मदन कार्की, मोनिका निरौला, भोजविक्रम थापा, शिव यादव, उर्पाजुन चाम्लिङ, निकुञ्ज भण्डारी, रिजन राना, बब्लु गुप्ता, ओजस्वीराज थापा, पुरुषोत्तम यादव, आदित्य आचार्य, खेमराज साउद, अप्सना बानु, प्रदीप पाण्डे, गुन्जन शाह ठकुरी र धीरज जोशी सहभागी थिए।