३० आश्विन २०८२
फाइल फोटो
अ+
अ-

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले अब रूसबाट तेल आयात गर्न बन्द गर्ने दाबी गरेका छन्।

बिहीबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अब आफूहरू रुसबाट तेल नकिन्ने आश्वासन दिएको बताएका हुन्।

उनले भनेका थिए, ‘रुसले पहिलो हप्तामै युद्ध जित्ने दाबी गरेको थियो, तर यो (रुस-युक्रेन युद्ध) सुरु भएको चार वर्ष भइसक्यो। म यो युद्ध अन्त्य भएको हेर्न चाहन्छु,’ ट्रम्पले भने, ‘भारतले रुसबाट तेल किनेकोमा म खुसी थिइनँ। आज भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मलाई रुसबाट तेल नकिन्ने आश्वासन दिनुभएको छ।’

यस विषयमा वासिङ्टन डीसीस्थित भारतीय दूतावासका प्रवक्ताले कुनै टिप्पणी गर्न चाहेनन् । अमेरिकी राष्ट्रपतिले आफ्नो व्यापार युद्धका सन्दर्भमा भारतले रुसी तेल खरिद गरेको विषयलाई दबाबको रूपमा प्रयोग गर्न खोजेका भए पनि नयाँ दिल्लीले यसको प्रतिरोध गर्दै आएको छ, जसका कारण कूटनीतिक फाटो उत्पन्न भएको छ ।

तेल र ग्यास रूसका सबैभन्दा ठूलो निर्यात वस्तु हुन्, र मस्कोका प्रमुख ग्राहकहरूमा चीन, भारत र टर्की पर्छन् ।

स्मरण रहोस्, अमेरिकाले अगस्ट २०२५ मा रुसबाट तेल किनेको भन्दै भारतलाई २५ प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाएको थियो। यसअघि नै २५ प्रतिशत ‘रेसीप्रोकल’ भन्सार शुल्क लगाइसकेकोले भारतमाथि कुल ५० प्रतिशत भन्सार शुल्क पुगेको छ।

विगत केही महिनादेखि मोदीले भारत रुस-युक्रेन युद्धमा निष्पक्ष रहेको आफ्नो अडान स्पष्ट पार्दै आएका छन्।